पोखरा, ३० चैत– ‘संघीयता विरोधी’ राष्ट्रिय जनमोर्चाले प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ १ सिट जित्यो भने समानुपातिकमा १ सिट । प्रत्यक्षबाट कृष्ण थापा र समानुपातिकबाट पियारी थापा प्रदेशसभा छिरे ।
तत्कालीन माओवादी केन्द्रले समर्थन गर्ने निश्चित भएको गण्डकी सरकारलाई राष्ट्रिय जनमोर्चाले पनि सघायो । कृष्ण थापा प्रदेश मामिला समितिका सभापति बने । प्रचण्ड बहुमतमा रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समर्थनवापत् दिएको सोे पद कृष्ण थापासँग अहिले पनि सुरक्षित छ ।
उपनिर्वाचनमार्फत् खिमविक्रम शाही सदन छिरेपछि जनमोर्चासँग ३ सिट भयो । संघीयता विरोधी अभियानका लागि ३ सिट काफी थियो तर, तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएकाले त्यो ३ सिट गणितीय अर्थ भने थिएन । सदनमा प्रतिपक्षी घटाउने भूमिकामा थियो, जनमोर्चा ।
संसदीय दलको नेतासमेत रहेका कृष्ण थापा सत्ताको निगाहमा ‘सभापति’को भूमिकामा रहँदा तौलेर बोल्न थाले । उनको बाध्यतामा अर्की सभासद पियारी थापा सदनमा सुनिने बनिन् । पार्टीले गण्डकी सरकारलाई समर्थन दियो त के भो ? उनी रोकिइनन् । सरकारलाई समर्थन गरिरहँदा प्रतिपक्षीको भूुिमका सुहाउँछ कि सुहाउँदैन भन्ने उनले ख्याल गरिनन् बरु निरन्तर आवाज उठाइरहिन् । २८ वर्षमा सदन छिरेकी पियारी थापालाई बोल्न सिकाउनु पर्दैन । त्यसो त उनी गीत र नाचमार्फत् बोल्ने मान्छे हुन् । सदनमा नाच्ने कुरा भएन ! रक्तिमका गीतमा नाच्दै अनि क्रान्तिकारी चेत पस्कँदै प्रदेशसभा छिरेकी उनी हरेकजसो विषयमा तर्कपूर्ण प्रस्तुति दिन्छिन् । सरकारका गलत काममा औंला ठड्याउँछिन्, सारमा संघीयता नै गलत भएको निष्कर्ष पेश गर्छिन् । जनताको सवालमा उनी कति सचेत् छन् भने कोरोनाकालको सुरुमै भिडियोमार्फत् जनतालाई सुसूचित बनाउने काम गरिन् । यो अभियान जारी नै छ ।
एमाले र माओवादी केन्द्रबीचको फुट अनि माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामापछि उनको पार्टी जनमोर्चा ‘हुकुमको एक्का’ भएको छ । सत्तारुढ एमालेसँग अहिले २८ जना मात्रै सभासद छन् । जनमोर्चा सरकारतिर गए यही सरकार टिक्छ, प्रतिपक्षतिर गए अर्को सरकार बन्छ । यो अवस्थामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमोर्चालाई मन्त्रीको अफर गरेका छन् । चाहेमा कृष्ण थापासहित जनमोर्चाका सबै सभासदले लाभको पद पाउँछन् ।
यता, नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी पनि ‘अल्पमत’को सरकार हटाउने अभियानमा छन् । सत्ता समीकरणमा जनमोर्चा कुन कित्तामा उभिन्छ भन्ने प्रष्ट भएको छैन । त्यसो त कसको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा कांग्रेस र माओवादीबीच नै कुरा मिलेको छैन । यस्तोमा प्रष्ट आवाजचाहिँ पियारीकै सुनिएको छ । उनी मुखरित भएकी छन् । सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएकी पियारी यो सरकारको विपक्षमा छन् ।
आफ्ना नेता कृष्ण थापा ‘भलादमी’ बनिरहँदा उनले यो सरकारलाई साथ दिन नसक्ने निष्कर्ष सुनाउँदै आफूलाई ‘लामो यात्राको घोडा’ मा दर्ज गरेकी छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएमा त्यसलाई सघाउनुपर्ने विचारको पृष्ठपोषण गर्दै उनले शीर्ष नेता मोहनविक्रम सिंह र अध्यक्ष चित्रबहादुर केसीको उत्तराधिकारीको रुपमा आफूलाई प्रस्तुत गरेकी छन् ।
‘अहिलेको सरकारको विकल्पबारे अरु कुनै पार्टीले पहल गर्छ भने आफूहरु साथ दिन तयार रहेको सांसद थापाको भनाइ छ । ‘संसद पुनःस्र्थापना पछि प्रदेश र केन्द्रमा पनि ओली सरकार ढाल्न अरु कसैले पहलकदमी लिन्छ भने त्यसमा समर्थन गर्ने नै भन्दै आएका छौं,’ उनले ढोरपाटनसँग भनिन्, ‘अहिले पनि त्यही छ । जसले अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ हाम्रो समर्थन रहन्छ ।’
मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको विकल्प खोजी गर्ने तर, आफू प्रत्यक्ष रुपमा नलाग्ने सांसद पियारी थापा बताउँछिन् । उनले प्रधानमन्त्री ओलीले पार्टीको इच्छाविपरीत गतिविधि बढाएको आरोप लगाउँदै अब साथ दिन नसकिने जिकीर गरेकी छन् ।
‘पहिलेदेखि नै बामपन्थी सरकार बनोस् । हामी साथ दिन्छौं । तर, प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने थियो,’ सांसद थापाले ढोरपाटनसँग भनिन्, ‘उहाँले राजीनामा पनि दिनु भएन । बरु, कारबाही भोगेकाहरुलाई भटाभट मन्त्री बनाउनतिर लाग्नुभयो । यो खेल नै त हो नि ! उहाँले खेल खेल्न थालेपछि हामी पनि खेल्नुपर्छ ।’
अविश्वासको प्रस्तावलाई सर्मथन गर्ने वा नगर्ने भन्नेबारे आधिकारिक निर्णय भने नभइसकेको तर, पार्टी अध्यक्षले नै बोलेपछि आफूहरु पनि त्यही अनुरुप जाने सांसद थापाको भनाइ छ । यसअघि पार्टीका मुख्यव्यक्ति मोहनविक्रम सिंहको आवाज बोक्ने भनेर चिनिएकी पियारीलाई अध्यक्ष केसी पनि त्यही ‘लाइन’ मा आएपछि सजिलो भएको उनी निकटकाहरु बताउँछन् । यसको पुष्टि गर्दै उनले भनेकी छन्,‘ ‘हाम्रो अध्यक्षले नै अविश्वासको प्रस्तावलाई समर्थन गर्ने भनेर बोल्नु भएको छ । त्यो उहाँ बालेको होइन, सींगो पार्टी बोलेको हो ।’
जनमोर्चाले विपक्षी मोर्चामा बसेर सरकारमा नजाने निर्णय गर्ने प्रवल सम्भावना त छँदैछ तर पियारीले ‘खेल सुरु’ गरेसँगै मन्त्री बन्ने, स्वयं ‘परीक्षाको वेदी’मा होमिने सम्भावना बढेर गएको छ । कान्छी र वाचाल ‘पियारी’ मन्त्री भए यसले इतिहासचाहिँ अवश्य कोर्नेछ ।





