पोखरा, ३१ चैत– पोखरामा गण्डकी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी भइरहेको थियो । गृहमन्त्री रामबहादुर थापा सहभागी सो बैठकमा गण्डकीका सबै सुरक्षा निकायका प्रमुख उपस्थित थिए । गृहमन्त्रीको उपस्थितिमा सुरक्षा व्यवस्था यसै कडा बनाइन्छ । अझ, सुरक्षा बैठक दिल खोलेर समस्या र आगामी रणनीति बनाउने विषयमा केन्द्रीत हुन्छ । यहाँ बाहिरका व्यक्तिलाई प्रवेश निषेध गरिन्छ । गर्नुपर्छ पनि । तर, पोखरामा आयोजित सुरक्षा गोष्ठीको सुरक्षा व्यवस्था चाहिँ ‘फितलो’ थियो । ‘बादल’ देशमा ‘सुरक्षा थ्रेट’ नभएको भाषण गरिरहँदा त्यहाँ जो–कोही पनि प्रवेश गर्नसक्थ्यो । गोष्ठी भइरहेको ढोकामा रोक्ने र सोधपुछ गर्ने कोही थिएन । कतिसम्म भने, पत्रकार नै बैठकमा प्रवेश गर्दापनि सुरक्षा निकायले थाहा पाएन । बरु, पत्रकारले नै आफ्नो ‘धर्म’ निभाए । पत्रकारले समाचार टिप्न थालेपछि मात्रै भित्र कोही पसिसकेको सुरक्षा निकायलाई थाहा भयो । पत्रकारहरुलाई बाहिर बोलाइयो । सोधपुछ गरियो । सोधपुछको क्रममा पत्रकारले ‘देशको गृहमन्त्री आएको कार्यक्रममा कसैले नरोकेकोले भित्र पसेको’ प्रष्टिकरण दिए । प्रष्टिकरणपछि गृहमन्त्रीको भनाईको रेकर्ड मेट्न लगाइयो । टिपोट फिर्ता गरियो र पठाइयो । सो कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारवाहीबाट मात्र हल गर्न नहुने बताए ।
‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौति हुन सक्छ,’ उनले भने, ‘त्यसलाई प्रशासनिक रुपमा नियन्त्रणमा लिएर मात्र हुँदैन, राजनीतिक रुपमा हल गर्नुपर्छ ।’
देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको भन्दै मन्त्री थापाले यसले विकास निर्माणमा असर पु¥याएको एक सहभागीले बताए ।‘सरकारको नेतृत्व गरेकै पार्टीमा पनि पूर्ण एकता छैन’, गृहमन्त्रीको भनाई उद्दृत गर्दै एक सहभागीले भने, ‘सरकारलाई गिराउने खेल खेलिरहेको छ, संविधान मान्ने दलहरुमा संघर्ष पैदा भएको छ ।’
राजनीतिक कोणबाट आउन सक्ने असुरक्षालाई ध्यान दिएर सुरक्षा नीति बनाउन उनले निर्देशन दिए । संविधान मान्ने दलहरुबाट पनि शान्ति सुरक्षामा खतरा आउन सक्ने उनको भनाई छ । उनले त्यस्तो दलको नाम भने नलिएको अर्का सहभागीले बताए । जातीय र धार्मिक कोणबाट पनि असुरक्षाको स्थिति आउन सक्ने भन्दै उनले सुरक्षा नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए ।
सहभागीहरुले गृहमन्त्री बैठकमा विप्लव समूहको गतिविधि निगरानीमा राख्नुपर्ने सुझाव दिएका थिए । ‘विप्लव समूहसँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन् भन्ने सहभागीबाट सुझाव आएको छ’, उनले भने,सो समूहलाई निगरानीमा राख्नुपर्छ भन्ने छ ।’ गृहमन्त्री थापाले भने विप्लव समूह शान्ति प्रक्रियामा आइसकेको बताउँदै थप केही नबोलेको सहभागीको भनाई छ ।
यसअघि सुरक्षा गोष्ठीहरुमा सुरक्षा चुनौतीका रुपमा विप्लव समूह र सिके राउतको समूह अगाडी आउने गरेपनि उनीहरु शान्तिपूर्ण राजनीतिमा आएकाले सुरक्षा चुनौतिका रुपमा देखा नपरेको उनको जिकिर थियो ।
गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी समायोजन ऐन छिटो जारी गर्न आग्रह गरे । प्रदेश सरकारले प्रहरी ऐन ल्याइसकेपछि संघीय सरकारले प्रहरी समायोजन नगर्दा लागु हुन नसकेको उनको भनाई थियो ।
‘प्रहरी नभएको सरकार हुँदैन, नीतिगत निर्णय नहुँदा अन्यौलता बढेको छ’, मुख्यमन्त्री गुरुङले भने, ‘छिटोभन्दा छिटो प्रहरी समायोजन हुनुप¥यो ।’ गृहमन्त्री थापाले प्रहरी समायोजनको काम छिटो टुङ्ग्याउने प्रतिवद्धता जनाएको मन्त्री बस्नेतले बताए ।





