पोखरा, ४ वैशाख– कोरोना महामारीपछि सिजनको पहिलो आरोहण शुक्रबार अन्नपूर्ण पहिलोमा भएको छ । ८०९१ मिटर उचाइमा रहेको उक्त हिमालमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहितको १४ जनाको टोलीले शिखर चुमेका हुन् । टोलीमा ३ जना महिला छन् ।
दिउँसो करिब १ बजेको समयमा टोलीले शिखर चुमेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा पुनले पुष्टि गरे । ‘त्यहाँ फोन लाग्दैन । तर, हामीसँग आएको खबरअनुसार उनीहरु १ बजे टुप्पोमा पुगेका हुन्,’ पुनले भने । बिहीबार गरिसक्नुपर्ने आरोहण मौसममा खराबी आएका कारण शुक्रबारमात्रै पूरा भएको थियो ।
सोमबार उत्तरी मोहोडाबाट अन्नपूर्ण पहिलो हिमालमा चढेको टोली अन्तिम शिविरमा बास बस्ने र मंगलबारबाटमात्रै ओर्लन सुरु गर्ने गाउँपालिका अध्यक्ष पुनले ढोरपाटन दैनिकलाई जानकारी दिए । ‘अहिले मौसम राम्रो छैन । उहाँहरु लास्ट शिविरमै बस्नुहुन्छ । भोलिमात्रै तल झर्नुहुन्छ,’ उनले भने ।
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले २००७ जेठ २१ मा पहिलो पटक ‘अन्नपूर्ण पहिलो’मा पाइला टेकेका थिए । ८ हजार मिटर उचाइमा रहेको उक्त आरोहण नै नेपालको पहिलो सफल आरोहण थियो ।
पहिलो पटक चढिएको हिमाल भए पनि अन्य हिमालभन्दा अप्ठेरो र जोखिमयुक्त भएकाले त्यहाँ चढ्ने आरोहीको संख्या कम छ । गोरखा आरुघाटकी पूर्णिमाको टोली भने त्यही जोेखिम मोलेर पहिलो आरोही मौरिसकै पदचाप पछ्याउँदै चैतको ७ गते अन्नपूर्ण पहिलोतर्फ उक्लिएको थियो ।
‘यो नेपालका हिमालहरुमध्ये धेरै जोखिम र खतरनाक हिमाल हो । त्यसैले यहाँ चढ्नेहरु धेरै मरेका पनि छन्, सबैभन्दा धेरै मान्छे मर्ने ठाउँ पनि हो,’ गाउँपालिका अध्यक्ष पुनले भने, ‘तर उहाँहरुलाई केही भएन । मेरो त खुसीकै आँसु झ¥यो ।’
पूर्णिमाको टोलीलाई सेभेन समिट ट्रेक्स प्रालिले व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त टिममा पूर्णिमासहित लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा छन् ।
फोटो पत्रकारका रुपमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले यसअघि सगरमाथा, मनास्लु, आमादब्लम हिमालको सफल आरोहण गरिसकेकी छिन् ।
बन्यो कीर्तिमान
७ दशकअघि पहिलो पटक चढिएको भएपनि जोखिमयुक्त भएकै कारण अति कम आरोहीमात्रै अन्नपूर्ण पहिलो चढ्ने गरेका छन् । त्यसमा पनि महिलाले अहिलेसम्म सफल आरोहण गरेको कीर्तिमान भएको थिएन ।
पूर्णिमालाई अन्नपूर्ण पहिलो हिमाल चढ्न गण्डकी प्रदेश सरकारले ८ लाख रुपैयाँ र अन्नपूर्ण गाउँपालिकाले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । प्रदेश सरकारले गरेको सहयोग तथा बिदाइ कार्यक्रममा उनले भनेकी थिइन्, ‘त्यो अरु हिमालभन्दा एकदमै गाह्रो हिमाल रै‘छ । पहिलो कुरा त त्यहाँ अहिलेसम्म कुनै महिलाले पाइला टेकेका रहेछन् । त्यसमाथि आफ्नै प्रदेशको, त्यहाँ चढेर फर्किएँ भने कीर्तिमान पनि बन्नेछ । आफ्नो प्रदेशलाई चिनाउन पनि पाउनेछु ।’
शुक्रबार अन्नपूर्ण पहिलोको सफल आरोहण गरेसँगै पूर्णिमाले आफ्नो लक्ष्य भेटाएकी छन् । हिमालको चुचुरोमा पुगेसँगै उनको नाममा अन्नपूर्ण पहिलोको पहिलो आरोहण गर्ने महिलाका रुपमा नयाँ कीर्तिमान पनि दर्ज भएको छ ।
‘हिमाल चढ्नुअघि जन्म दिने बाआमा अरु छन् । तपाईंले मेरो बाटो देखाइदिने बाबु हुनुहुन्छ भनेर जानुभाथ्यो । अहिले उनी हिमाल चढ्न सफल भएको थाहा पाएर उनीभन्दा बढी खुसी छु,’ गाउँपालिका अध्यक्ष पुन भन्छन्, ‘यहाँ आएपछि टोलीलाई ठूलो सम्मान गरिन्छ ।’
गाउँपालिा नआइपुग्दै हेलीबाट पोखरा फर्किए अर्को पटक गाउँमै बोलाएरै भएपनि आफूहरुले सम्मान गर्ने योजना रहेको पुनले सुनाए । ‘सबै टे«ेकिङ रुट मोटर बाटोले खुम्चाइदिइसक्यो । अहिले भर्जिन ट्रेक योमात्रै छ, यसलाई बचाउन पनि उनको सम्मान खाँचो छ,’ उनले भने ।





