शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमणप्रति सदरमुकाममै बेवास्ता

कोरोना संक्रमणप्रति सदरमुकाममै बेवास्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७८, मंगलबार

बागलुङ, ७ वैशाख– सोमबार सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको अति जोखिम जिल्लामा विद्यालय बन्द गर्न आग्रह गरेको थियो । तर बागलुङका विद्यालयहरु बन्द भएका छैनन् । सोमबारसम्म पनि यहाँका विद्यालय नियमित संचालनमा छन् ।
बागलुङ नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले स्वास्थ्य मापदण्ड पालनामा गरेर पढाइ संचालन भैरहेको बताए । अति जोखिमको जिल्लामा सूचिकृत भएपनि पालिकाले आफ्नो क्षेत्र सुरक्षित भएको ठहर गर्दै बिद्यालय खुलाएको हो । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, कक्षा कोठामा थोरै विद्यार्थी राख्ने जस्ता बिषयमा सहमत भएपनि बन्द गर्ने बिषयमा जान नसकिएको शर्माले बताए । ‘लामो समय पढाई बिग्रेको छ, दुरी कायम गरेर पढाई चलाउनै पर्छ’ शर्माले भने, ‘सरकारले निर्णय गरेकोले छलफलबाट टुंगो लगाउँछौं ।’
संक्रमणको दर बढीरहेकै बेला बागलुङ नगरपालिकासहितका सबै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता समेत समपन्न भएका छन् । चैत २९ र ३० गते भएको जिल्ला स्तरीय खेलमा मात्रै ५ सय ५० विद्यार्थी सहभागि थिए । सदरमुकाम क्षेत्रमा दिनदिनै कोरोना संक्रमित बढीरहेका छन् । तीमध्ये कतिपय सामुदायिक र संस्थागत विद्यालयका शिक्षक र बिद्यार्थीसमेत रहेको बताइएको छ । तर बिद्यालय बन्द गर्ने बिषयमा अझै आनाकानी भैरहेको हो ।
झण्डै दुई हप्ताअघि शिक्षा मन्त्रालयले धुलो र प्रदुषण कारण देखाएर ५ दिन विद्यालय बन्द गराउँदा पनि यहाँ नियमित कक्षा संचालनमा थियो । शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले विद्यालय बन्द गराउन पत्राचार गरेपनि पालिकाले विज्ञप्तीमार्फत विद्यालय बन्द नभएको प्रतिक्रिया दिएका थिए । बागलुङ नगरपालिकाले विद्यालय बन्द नभएको भनेपछि घर पुगेका विद्यार्थी पनि फर्केका थिए ।
यहाँ संचालित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा भने एकैपटक धेरै बिद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थी हुन् । यहाँ स्टाफ नर्स, ल्याब टेक्नीसियन र अहेवको पढाइ हुन्छ । होली लगायतका पर्वमा घर घरमा गएका विद्यार्थी फर्केर आउँदा उनीहरुमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘संक्रमणको दर भुसको आगोझै भएको छ, तर सर्तकता कम छ’ घिमिरेले भने, ‘विद्यालय बन्द गर्ने एउटा विषय हो, तर सर्तकता महत्वपूर्ण छ ।’ भीडभाड, सार्वजनिक यातायातमा सुरक्षा मापदण्ड पालना नगर्ने जस्ता विषयले संक्रमण बढ्ने उनले बताए ।
अहिलेसम्म भारतबाट आएका तथा अन्य सहरी क्षेत्रबाट आउजाउ गर्नेको तथ्यांक राख्ने कामसमेत भएको छैन । प्रशासनले एक हप्ताअघि विज्ञप्ती निकालेर सर्तकताबारे जानकारी गराएपनि प्रशासन र प्रहरीबाट समेत कडाइ भएको छैन । धौलागिरी अस्पतालमा पनि दिनदिनै बिरामीको सख्या बढीरहेको छ । उनीहरुमध्ये अधिकांस रुघाखोकी लागेर आएकाहरु भएको मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
‘रुघा र ज्वरो देखिएपछि स्वाब परीक्षण गरेकामा झण्डै ५० प्रतिशत बढीमा कोरोना पोजेटिभ देखिएको छ’ पोखरेलले भने, ‘अस्पतालमा पनि हामीले सुरक्षित रुपमा स्वास्थ्य परीक्षणको व्यवस्थापन गरेका छौं ।’ तर आम नागरिकले मापदण्ड पालना गरेको नदेखेको उनले बताए ।
जिल्लामा अहिलेसम्म १ हजार १ सयबढी मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पताल र होम आइसोलेसन गरी झण्डै एकसय जना सक्रिय संक्रमित छन् । विद्यालय बन्द नगर्दा एकैपटक संक्रमणको जोखिम हुने उपाध्यायले बताए । ‘आफ्नो निर्णय गर्ने अधिकार पालिकाको हो, तर प्रकोप नियन्त्रणका लागि गरिएको सुझाव पालना गर्दा सबैलाई राम्रो हुन्छ’ उनले भने, ‘अधिकार र जोखिमको विषय फरक भएको बुझ्न जरुरी छ ।’ संविधानले कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय पालिकामा दिएको छ । उक्त अधिकारलाई टेकेटर पछिल्लो समय मन्त्रालय तहबाट आउने निर्देशन र परिपत्र पालिकाले वास्ता गर्न छाडेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->