पोखरा, १२ वैशाख– पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । ती संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडलअन्र्तगत काम सम्पादन गरिरहेको छ ।
संकलित फोहोर व्यवस्थापनका लागि महानगरले पोखरा ३१ को ल्यान्डफिल्ड साइट प्रयोग गरिरहेको छ । जुन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । विमानस्थल सञ्चालनमा आइसकेपछि उडान जोखिम हुने भन्दै विज्ञ प्राविधिक टोलीले ल्यान्डफिल्ड साइटलाई त्यहाँबाट अन्यत्र सार्न सुझाउँदै पनि आएका छन् ।
ल्यान्डफिल्ड साइटमा चराका कारण उडान प्रभावित हुनेमात्रै नभई दुर्घटना नै निम्त्याउने गरी ‘बर्ड हाजार्ड’ हुने प्राविधिकको सुझाव छ । तर, विमानस्थल निर्माण करिब अन्तिम चरणमा पुगिसक्दा पनि महानगरले नयाँ ल्यान्डफिल्ड साइट व्यवस्थापन गर्न सकेको छैन ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको ल्यान्डफिल्ड साइटको विकल्प खोजी गर्न महानगरले पोखरा १३ वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा समिति गठन गरेको थियो । समिति गठन भएको लामो समय भइसक्दा पनि ठोस निर्णय दिन सकेको छैन ।
समितिले २ महिनाअघि नै आफ्नो अध्ययन प्रतिवेदन महानगरलाई बुझाइसकेको थियो । महानगरका विभिन्न ५ सम्भावित ठाउँ अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक लामा बताउँछन् । उनले अध्ययन भएका ५ ठाउँमध्ये २ ठाउँ राष्ट्रिय नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकलाई पनि देखाइसकेको जानकारी दिए । ‘प्राविधिकलाई नै जग्गाा देखाएर रिपोर्ट तयार पारेका छौं । चाँडै ठोस निर्णय आउँछ,’ उनले भने ।
समितिले महानगरलाई प्रतिवदेन बुझाएको २ महिनापछि बल्ल कार्यपालिका बैठकमा प्रवेश पाएको छ । शनिबार बसेको बैठकले समितिले प्रतिवेदनलाई ‘प्राविधिकको राय’ लिने गरी निर्णय भएको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
‘समितिले सुझाएको ल्यान्डफिल्ड साइटमा प्राविधिक टोलीसँग पनि बुझ्न बाँकी छ । कतै बस्ती, स्कुल नजिक होला, कतै माथि होला, कतै तल होला !,’ नेपालीले भने, ‘सामाजिक विरोध आउन सक्छ, वातावरणको कुरा आउँछ अथवा जंगल फडानी गर्नुपर्ने हुनसक्छ । इआइएका हिसाबले कुन ठिक भनेर बोल्न बाँकी छ ।’
नयाँ ल्यान्डफिल्ड साइटको जिम्मा निजी क्षेत्रलाई दिने तयारी !
पोखरा क्षेत्रीय विमानस्थल निर्माण टोलीका अनुसार अबको करिब ६ महिनामा विमानस्थल निर्माण कार्य पूरा हुँदैछ । विमानस्थल निर्माण भएसँगै नजिकै रहेको ल्यान्डफिल्ड साइट बन्द हुने र चाँडै विकल्प सोच्न विज्ञ टोलीलाई सुझाउँदै आएका छन् ।्
तर, लामो समय भइसक्दा पनि महानगर अझै अन्यौलमै छ । समितिले सुझाएका ५ ठाउँमा विवाद हुन सक्ने भन्दै महानगरले नयाँ ल्यान्डफिल्ड साइटलाई पनि सार्वजनिक निजी साझेदारी योजना अन्तर्गत नै अघि बढाउने तयारीमा छ ।
‘कार्यपालिका बैठकको निर्णयले ल्यान्डफिल्ड साइटलाई पनि सानिसा मोडलै लैजाने कि भन्ने निर्णय गरेको छ । समितिको हकमा महानगरले पनि खोजी गर्छ ।’ प्रवक्ता नेपालीले भने, ‘सानिसा मोडलमा जाने भएपछि ईच्छुक निजी कम्पनीले को आउँछ प्रस्तावना लिएर, उसको डिउटी पनि भयो ।’
उठ्न थाल्यो फोहोर
आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको र माग सुनुवाइ नभएको भन्दै बिहीबारदेखि रोकिएको फोहोर उठाउने काम २ दिनपछि सुरु भएको छ । चैत मसान्तमै सम्झौता म्याद सकिएपनि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै कम्पनीले फोहोर उठाउन छोडेका थिए ।
सार्वजनिक निजी साझेदारी अन्तर्गत फोहोर मैला व्यवस्थापन गरिरहेको पोखरा महानगरले म्यादसँगै बजेट पनि सकिएकाले कम्पनीहरुलाई भुक्तानी दिन सकेको थिएन । महानगरले बाँकी रहेको भुक्तानी पनि दिने र असारसम्म म्याद थप गर्ने सहमतिपछि उनीहरुले फोहोर उठाउन सुरु गरेका हुन् ।
‘महानगरले छुट्याएको सम्झौता म्याद पनि सकिइसकेको थियो । रकमान्तर गरेर फोहोर उठाइरहेका कम्पनीलाई भुक्तानी दिनुपर्ने भएकाले ढिलाइ भएको थियो,’ महानगर स्वास्थ्य महाशाखा प्रमुख कल्पना बरालले नेपाल प्रेससँग भनिन्, ‘आइतबारसम्म सबैलाई चेक दिने सहमति भइसक्यो । फोहोर उठ्न सुरु भइसक्यो ।’
महानगर क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्न महानगरले पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलअन्तर्गत ७ वटा कम्पनीलाई जिम्मा दिएको छ ।सम्झौता सकिँदा पनि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै ती कम्पनीले बिहीबारबाट फोहोर उठाउनै छोडेका थिए ।
महानगर क्षेत्रमा फोहोर मैला व्यवस्थापन गर्न ३३ वटा गाडी प्रयोग हुन्छन् । जसमध्ये ४ वटामात्रै महानगरको हो भने बाँकी सबै निजी कम्पनीको । सम्झौताअनुसार फोहोर मैला व्यवस्थापनबाट भएको आम्दानीको २० प्रतिशत महानगरको हुन्छ भने ८० प्रतिशत कम्पनीले पाउनुपर्ने हुन्छ । फोहोर मैला व्यवस्थापन गर्न महानगरले मासिक ८ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म सेवा शुल्क उठाउँदै आएको छ ।





