पोखरा, १२ बैशाख – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल हुने भएको छ । कार्य व्यवस्था परामर्श समितिको आईतवार वसेको बैठकले अविश्वासको प्रस्ताव सोमवार टेवुल गर्ने निर्णय गरेको हो । अविश्वासको प्रस्तावउपर मतदान भने बैशाख १५ गते हुने भएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सभाका २८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश सभाको विशेष अधिवेशन माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ गतेका लागि संसदको विशेष अधिवेशन आब्हान गरेका थिए । विशेष अधिवेशनको पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ ।
पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने भएको छ । ‘पहिलो दिन सबै दलका नेताहरुले आफ्नो कुरा राखिसकेपछि मुख्यमन्त्रीज्यूले जवाफ दिनुहुनेछ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘त्यसको भोलिपल्ट (१४ गते) पनि छलफल नै हुने र तेस्रो दिनमात्रै मतदान हुने कार्यसूचि तय भएको छ ।’
थापाका अनुसार अविश्वासको प्रस्तावउपर भने बैशाख १५ गते मतदान हुने भएको छ ।
अविश्वासको प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । प्रदेश सभामा जनमोर्चा निर्णायक शक्ती मानिएको छ । जनमोर्चाको स्थानीय नेतृत्व कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने कुरामा असहमत भएपनि केन्द्रीय नेतृत्वले गुरुङ नेतृत्वको सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ ।
मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव दर्ताको अघिल्लो रात बैशाख १ गते संसद अन्त्यको सिफारिस गरेका थिए । उनको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमा संसद अन्त्य गरेका थिए ।





