पोखरा, १३ बैशाख – कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कास्कीमा पनि सुरक्षा व्यवस्था बढाइएको छ । बैशाख १५ गते बिहानदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।
कार्यालयले मानवीय भिडभाड हुने सबै क्षेत्र बन्द गरे पनि सार्वजनिक तथा निजी यातायात भने बन्द गरेको छैन । बुधबारदेखि यातायातमा जोरबिजोर लागू गर्ने गरी ‘आंशिक’ लकडाउन गर्न प्रशासनले आदेश जारी गरेको हो । ‘यातायातबाहेक धेरै कुरा निषेध गरिएको छ । त्यसैले यो निषेधाज्ञा नै हो,’ सहायक सिडिओ श्रीनाथ पौडेलले ढोरपाटनसंग भने ।
कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भेटिएको ठाउँमा लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन गर्न सम्बन्धित जिल्लाका सिडिओले अधिकार दिइएको थियो । कास्कीमा सोमबारसम्म ६ सय ६४ जना सक्रिय संक्रमित छन् । हालसम्म कास्कीमा कोरोनाबाट १ सय २० जनाको मृत्यु भएको छ । सोमबारमात्रै कास्कीका २ जना संक्रमितको मृत्यु भएको थियो ।





