पोखरा, १५ बैशाख- फेवातालको पानी बगेर जाने नहरमा थुप्रिएको फोहोर केहीदिन यता सामाजिक संजालमा चर्चा छ । ड्यामसाइडमा रहेको उक्त नहरबाट बहेको पानी फेवा लघु जलविद्युत आयोजनाको पावर हाउस पुग्छ । त्यही पानी सिचाईका लागि पनि प्रयोग हुन्छ ।
ड्यामसाइडको यो नहरमा फोहोर थुप्रिएको चर्चा र चिन्ता सामाजिक संजालमा देखेपछि पोखराका युवाहरुले फोहोर सोर्ने योजना बनाए । पोखराका युवा संचारकर्मी आशिष पुरीले ड्यामसाइडको उक्त नहर सफा गर्न फेसबुकमा आह्वान गरे ।
नहरमा थुप्रिको फोहोरको फोटो राखेर उनले डिजाइन बनाएर उनले त्यस्तो आह्वान गरेका थिए । उनीसँग सम्पर्कमा रहेका अन्य युवाहरु पनि जोडिन थाले । फोहोर उठाउन उनीहरुले स्थानीय ड्यामसाइड युवा क्लबसँग सहकार्य गरे ।
नहरको फोहोर उठाउन गरेको सार्वजनिक अपिल र सम्पर्कमा रहेका युवाहरुको जमात केहीबेरमै जुट्यो, सोमबार विहानै फोहोर टिप्न उनीहरुले ड्यामसाइड पुगे । फोहोर टिपेर राख्ने ठाउँ थिएन । ड्यामसाइड युवा क्लबका युवाहरुले पोखरा महानगरको फोहोर बोक्ने गाडी बोलाइदिए ।
नहरमा थुप्रिएको फोहोर टिपेर प्याकिङ गरेर युवाहरुको समुहले फोहोर बोक्ने गाडीमा राखेर पठाए । सोमबार विहानको सरसफाइले सबै फोहोर टिप्न भ्याएन । उनीहरुले मंगलबार विहान पनि फोहोर टिपे, नहरमा बगेको पानी सफा देखिन थाल्यो ।
‘हामीले कुनै संस्थागत रुपमा नभई सबै युवाहरुलाई बोलाएर फोहोर उठाएका हौं’, आशिषले सेतोपाटीलाई भने, ‘सम्पर्कमा रहेका साथीहरु र फेसबुकबाट खुला आह्वान गर्दा ५० जना जति जम्मा हुनुभयो ।’
यसरी दुइ बिहान लगाएर गरेको सरसफाइबाट २ सय ब्याग फोहोर संकलन भएको उनले बताए । उक्त फोहोर लैजान महानगरको गाडीले ३ खेप लगाएको थियो ।
सरसफाइ गर्दा सबैभन्दा धेरै प्लाष्टिकको बोतल निस्केको फोहोर टिप्न गएकी अमिशा बरालले बताइन् । नहरमा पहिलो तहमा प्लाष्टिकको बोतल देखिएपनि भित्र अरु फोहोर पनि भेटिएको उनले बताइन् । तालमा आएका फोहोर पानीले बगाएर उक्त नहरमा थुप्रिएको थियो ।
सोमबार र मंगलबार ड्यामसायडबाट उठाएको फोहोर पोखराका बासिन्दाले फालेका फोहोर भएको आशिष बताउँछन् । ड्यामसाइड माथि पोखरालाई चिरेर बग्ने फिर्केखोला फेवातालमा पुगेर मिसिन्छ । उक्त खोला अहिले ढल जसरी बगेको छ ।
पोखराको बैदाम हुँदै तालमा पुग्ने त्यही खोलाले अधिकाँश फोहोर फेवातालमा लगेर मिसाउँछ । तालको पानी बग्दै जाँदा त्यही नहरमा पुगेर फोहोर अड्किएको आशिषको भनाई छ । ‘नहर सफा गरेपछि सङ्लो पानी बगेको छ’, उनले भने, ‘फेरी फोहोर भरिन नदिन फिर्केखोलामा फोहार फाल्न हुँदैन ।’
फेवातालमा आएको फोहोर यसरी नहरमा जान नदिन जाली हाल्न उनीहरुले पोखरा महानगरसँग माग गरेका छन् । यस्तै, तालमा बहेर जाने फिर्केखोला लगायत खोलाहरु सफा राख्न र फोहोर फाल्नेलाई जरिवाना लगाउनुपर्ने अमिशाले बताइन् ।
‘नगरपालिकाको गाडी फोहोर लिन आउँछ, त्यहीं दिएपनि हुन्थ्यो नि, फिर्केखोला मात्रै होइन, अन्तै फालेको फोहोर पनि पानीले बगाएर फेवाताल लैजान्छ’, अमिशाले भनिन्, ‘जथाभावी फोहोर फाल्न नदिन केही न केही नियम त ल्याउनुपर्छ ।’





