
पोखरा, १७ बैशाख – मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद जितेका राजिव गुरुङ ‘दीपक मनाङे’ले बुधबार गण्डकीको युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका छन् । गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागिरहेको बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका मनाङे तत्कालीन नेकपामा प्रवेश गरेका थिए । मुख्यमन्त्री गुरुङले उनलाई नेकपामा प्रवेश गराएका थिए । जब नेकपा फुट्यो, उनी एमाले वा माओवादी दुवैतिर बसेनन् । स्वतन्त्र सांसदको हैसियतमा बस्न पाऊँ भनेर उनले संसद सचिवालयमा निवेदन दिए । यतिमात्र होइन, मनाङेले विगतमा नेकपाको नाममा काटिएको आफ्नो लेबी फिर्ता गर्न समेत माग राखे ।
प्रदेश सरकारलाई आफ्नो समर्थन नभएको र विपक्षमा मतदान गर्ने सार्वजनिक रुपमा बताउँदै आएका मनाङे बुधबारको प्रदेश सभा बैठकमा भने उपस्थित भएनन् । प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावमा बुधबार मतदान गर्ने कार्यसूची थियो, राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि सभामुखले संसद नै अनिश्चितकालका लागि स्थगन गरिदिए ।
अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने मात्र होइन, उनले आफंै मुख्यमन्त्रीको उम्मेदवार बन्ने र हालका मुख्यमन्त्री गुरुङले आफूलाई भोट दिनुपर्ने बताएका थिए । ढोरपाटनसँग चैत ३१ गते कुरा गर्दै उनले भनेका थिए, ‘पृथ्वीसुब्बा गुरुङ मेरो दाइ जस्तो मान्छे हो, अब उहाँलाई भोट दिने होइन, उहाँले मलाई भोट दिने हो ।’
गण्डकी प्रदेश सभामा एमालेको २७ मत छ । मनाङे मन्त्री भएपछि उसको पक्षमा २८ मत पुगेको छ । मुख्यमन्त्री गुरुङले यसअघि आफ्नो समर्थन गर्दै आएका मनाङेले सरकारकै पक्षमा राखिराख्न मन्त्री बनाएका हुन् ।
सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका मुख्यमन्त्री गुरुङसँग २ वटा मन्त्रालय भने खाली नै छ । माओवादी केन्द्रले सरकारबाट राजीनामा दिएपछि कृषि मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ । अहिले कृषि मन्त्रालय मुख्यमन्त्री आफैले राखेका छन् भने आन्तरिक मामिला मन्त्रालय सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई जिम्मा दिएका छन् ।
अन्य दलबाट मन्त्री बन्न आउने सांसदलाई नियुक्त गर्न खाली भएको मन्त्रालय मनाङेलाई नदिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । तर, तत्काल अन्य दल सरकारमा सहभागी हुने सम्भावना कम नै रहेको जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले बताए । ‘मुख्यमन्त्रीले सत्ता टिकाउन मनाङेलाई मन्त्री बनाएका हुन्, उनले भने’, ‘यतिले मात्रै उहाँको सरकार टिक्दैन ।’
मुख्यमन्त्री गुरुङको सरकार टिकाउन अझै ३ जना सांसद आवश्यक छ । यसका लागि जनमोर्चा सरकारमा सहभागी हुनुपर्छ । तर जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ भने बाँकी रहेका ३ दल काँग्रेस, माओवादी र जसपाका सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् ।
विवादास्पद विगत
प्रदेश सभा अन्तर्गत अर्थ तथा विकास समितिका सदस्य रहेका मनाङेले गत वर्ष समितिबाट राजीनामा दिए । कुनै न कुनै संसदीय समितिमा सांसद बस्नुपर्छ । संसदीय समितिबाट राजीनामा दिएपछि मनाङेले अरुले ‘खाएको’ टुलुटुलु हेरेर बस्नुपरेकाले राजीनामा दिनुपरेको बताएका थिए ।
सिडिओ र एसपीलाई आफूले बोलाउँदा नआएको भन्दै उनले राजीनामा दिएपछि भनेका थिए, ‘हामीले सबै कुरा गर्न मिलेन । पुलिस र सिडिओ परिचालन गर्ने हो । जति भन्दा पनि नलागेपछि राजीनामा दिएको हुँ ।’
मनाङेविरुद्ध २०६१ म गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोपमा हत्या अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई २ वर्ष कैद सजाय तोकेको थियो । पुनरावेदन अदालत पाटनले त्यही मुद्दामा ५ वर्ष जेल तोकेको थियो । सर्वोच्च अदालतले पनि त्यही सजाय सदर गरेपछि उनी केही समय भूमिगत भए ।
निर्वाचन जितेपछि हत्या अभियोगमा २०७५ वैशाख ६ गते थुनामा परेका मनाङे २०७५ पुस ६ गते रिहा भएका थिए । १० वर्ष भन्दा कम कैद सजाय भोग्नुपर्ने मुद्दामा हिरासत बाहिरबाटै लड्न पाउने कानुनी व्यवस्थाको उपयोग गर्दै मनाङे थुनामुक्त भएका थिए ।
रिहा लगत्तै उनले प्रदेश सभा सचिवालयमा पुस ११ गते सांसदको सपथ गराई पाऊँ भन्दै निवेदन दिएका थिए । त्यतिबेला दलहरुले उनको सपथ रोक्नुपर्ने माग राखेपछि उनको सपथ ग्रहण नै विवादित बन्न पुगेको थियो । विवादका बावजुद सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई २०७५ माघ १४ गते सपथ खुवाएका थिए ।
सांसद बनेपछि पनि उनी विवाद बाहिर रहेनन् । पोखरामा २०७६ माघ ७ गते मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमै झापड हानेका थिए । उक्त घटनामा मनाङे प्रहरी हिरासतमा पुगेका थिए । पछि उनले प्रशासनलाई धरौटी तिरेर रिहा भए ।
अपराधिक गतिविधिमा पटक पटक विवादित हुँदै र सजाय भोग्दै आएका मनाङे आफू अनुकुल दल परिवर्तन गर्दै आएका छन् । नेपाली कांग्रेसमा प्रवेश गरेर राजनीति थालेका मनाङे त्यसपछि राप्रपा प्रवेश गरे । राप्रपा मनाङको अध्यक्ष बनेका उनले राप्रपा जिल्ला कार्य समितिसहित एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका थिए ।
एमालेले मनाङबाट प्रदेश सभा सदस्यका लागि टिकट दिएपछि त्यतिबेला चर्को आलोचना भयो । आलोचना खेप्न नसकेर एमालेले अर्को उम्मेदवार उठायो, मनाङेले स्वतन्त्र उम्मेदवारी दिए । मन्त्रीको सपथ खाएपछि मनाङेले भने, ‘मैले एमालेसँगै मिलेर चुनाव लडेको हुँ ।’





