पर्वत, १८ वैशाख- पर्वतको कुश्मा बजार क्षेत्र शनिबारदेखि एक हप्ता लकडाउन हुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको बेलामा पनि बजारमा चहलपहल नियन्त्रणमा नआएपछि कुश्मा बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
नयाँ भेरियन्टसहित आएको कोरोनाको दोस्रो लहर आएको अवस्थामा कुश्मा पनि पनि उच्च जोखिममा रहेको भन्दै बजार क्षेत्र लकडाउन गरिएको हो । ‘कुस्मा नगरपालिकातर्फबाट बजारमा भिडभाड भइरहेको र संक्रमणको जोखिम उच्च भएकाले लकडाउन गर्नका लागि अनुरोध आएको थियो,’ उनले भनिन्, ‘शुक्रबार नै डिसीसीएमसीको बैठक बसेर हामीले यस बारेमा निर्णय गरेका छौं । अझै पनि आम नागरिकले बजारमा भिडभाड गरिरहेको देखिएको छ । हामी आफैंले आफैंलाई खतरामा पारिरहेका छौं ।’
कुस्मा नगरपालिकाले वडा नं. १ पाङ, ४ कुस्मा, ५ कुस्मा, ६ कुस्मा, ७ कुश्मा, ८ चुवा र ९ कटुवाचौपारीका वडा कार्यालयसहित त्यहाँका नागरिकहरू जोखिमयुक्त अवस्थामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा लकडाउनको लागि अनुरोध गरेको थियो । तर, डिसीसीएमसीको बैठकले भने पाङ, चुवा र कटुवाचौपारीलाई छोडेर बजार क्षेत्र रहेको वडा नं. ४, ५, ६ र ७ मा मात्रै लागू हुने गरी लकडाउनको निर्णय गरेको हो ।
लकडाउनको अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दमकल, शवबाहन, खाद्य सामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दूध डेरी जन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारकर्मीलगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै खाद्य सामग्री तथा अत्यावश्यक सेवाका पसलहरूलाई वैशाख १९ गते बिहान देखि लागु हुने गरी बिहान सात बजेदेखि १० बजे सम्म र साँझ चार देखि ७ बजेसम्म मात्रै त्यो पनि अनिवार्य रूपमा सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालनमा ल्याउने गरी निर्णय गरेको छ। लकडाउन अवधिमा औषधि पसलहरू भने पूर्ण रूपमा सञ्चालनमा रहनेछन् । बैङ्क तथा बितिए संस्थाहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी अत्यावश्यक सेवाहरू मात्र प्रवाह गर्न भनिएको छ ।
बजार क्षेत्रमा मानिसहरूको भिडभाड नियन्त्रण गर्न तथा गाउँ र बजारमा आउजाउ गर्ने क्रमलाई रोकेर सङ्क्रमण फैलने दरलाई नियन्त्रणमा लिन वैशाख २५ गतेसम्म नै सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । यो अवधिमा प्रशासनले अनुमति दिएका सवारी बाहेक अन्य सवारी साधनहरू गुड्न पाउने छैनन् । तर मध्य पहाडी लोक मार्गमा पर्वत हुँदै बागलुङ, मुस्ताङ, म्याग्दीबाट पोखरा वा देशका अन्य ठाउँमा सिधा रूपमा चल्ने सवारीलाई भने अवरोध नहुने जिल्ला प्रशासन कार्यालय बताएको छ। मध्य पहाडी लोक मार्गमा पनि आन्तरिक सवारीहरू भने चल्न नपाउने भनिएको छ । यदि कसैले पनि यो निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग ऐन–२०२० तथा स्थानीय प्रशासन ऐन–२०२८ अनुसार कारबाही गरिने भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यस अघिको बैठकबाट एकै ठाउँमा १५ जना भन्दा बढी कुनै पनि स्थानमा भेला हुन नपाउने, पार्टी प्यालेस्, कवर्डहल लगायतका बढी जमघट हुने स्थानहरू बन्द गर्ने लगायतका निर्णयहरू गरेको थियो ।





