सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

शंकर पोखरेल एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त

शंकर पोखरेल एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार

बुटवल, १९ वैशाख -नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आइतबार नै उनको राजीनामा स्वीकृत भएको थियो । राजीनामा स्वीकृतलगत्तै सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि निवेदन दर्ता गराएका थिए । उनको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । मुख्यमन्त्री पोखरेलको राजीनामापछि एमालेतर्फकी सांसद विमला वलीले माओवादी केन्द्रलाई साथ दिने बताएपछि एमालेलाई एकल बहुमत सरकार बनाउन अप्ठेरो परेको छ । यद्यपि प्रदेश प्रमुखबाट पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->