सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी प्रदेश: कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि, एमाले पनि सहभागी हुने

गण्डकी प्रदेश: कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि, एमाले पनि सहभागी हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार

पोखरा, १९ बैशाख -गण्डकी प्रदेशको कार्य व्यवस्था समितिको बैठक सोमबार बस्ने भएको छ । बैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक स्थगन गरेपछि समितिको बैठक बस्न सकेको थिएन ।
बैठक स्थगनपछि डाकिएको समितिको बैठकमा सभामुख नै अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । बैठक नबस्दा स्थगित प्रदेश सभा बैठक कहिले सुरु हुन्छ टुंगो लाग्न सकेको थिएन । परामर्श समितिको सोमबार बस्ने बैठकले संसद कहिले सुरु हुने निक्र्यौल गर्नेछ ।
प्रदेश सभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन जनमोर्चा सांसद खिमविक्रम शाही सभामा अनुपस्थित भएर ‘गायब’ भएपछि सभामुख अधिकारीले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए ।
मतदानका दिन आफ्नो सांसद सम्पर्कविहीन भएपछि जनमोर्चा सांसद पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए ।
कार्यसूचीमै मतदान गर्ने तोकिइसकेको अवस्थामा पनि सभामुख अधिकारीले संसद अनिश्चित कालका लागि स्थगन गरेपछि सत्तारुढ दल नेकपा एमालेले उनको राजीनामा माग गरेको थियो । सत्तारुढ दलका सांसदले सभामुखको राजीनामा पछिमात्रै संसद अघि बढ्न दिने प्रतिक्रिया दिएका थिए ।
तर, सोमबार डाकिएको कार्य परामर्श समितिको बैठकमा नेकपा एमाले पनि सहभागी हुने सांसद कृष्ण थापाले जानकारी दिए । ‘सभामुखको सचिवालयबाट भोलि (सोमबार) ११ बजे बैठक छ भनेर खबर आएको छ । सदनबाट, कार्य व्यवस्थाबाट भाग्दैनौं, सहभागी हुन्छौं,’ उनले भने ।
आफूहरु सभामुखजस्तो ‘डरपोक’ नभएकाले सहमति र वार्ताबाटै अघि बढ्ने सांसद थापाले सुनाए । ‘हामी डराएर भाग्ने पार्टी होइनौं, जिम्मेवार पार्टी हौं,’ उनले भने, ‘सबै कुरा हामी बैठकमै भन्न सक्छौं नि ! सभामुखजस्तो भागेर हिँड्ने पक्षमा छैनौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->