शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा महामारीको संकेत ! अस्पतालको बेड भरियो, दिनदिनै मृत्यु !

गण्डकीमा महामारीको संकेत ! अस्पतालको बेड भरियो, दिनदिनै मृत्यु !

१९ दिनमा २७ जनाको मृत्यु, ३ हजार संक्रमित बढे ।


  • विकास रोकामगर
  • बैशाख २० २०७८, सोमबार

पोखरा, २० वैशाख– चैत ३१ मा गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४ सय १६ थियो । त्यसमध्ये आधाभन्दा बढी होम आइसोलेसनमै थिए भने उनीहरुको अवस्था सामान्य नै थियो । लगत्तै प्रदेशमा ‘युके भेरियन्ट’ प्रवेशसँगै संक्रमितको संख्यामात्रै ह्वात्तै बढेन, मृत्यु हुनेको संख्या पनि बढ्दै गयो ।
चैत अन्तिममा २ सय ७ जनामात्रै कोरोना संक्रमितको मृत्यु भएको थियो । तर, प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बैशाख यतामात्रै २ सय ३१ पुगेको छ । अर्थात्, ३ हप्ता नबित्दै २४ जनाको मृत्यु तथ्यांक छ । चैत अन्तिममा जम्मा १६ हजार संक्रमित रहेको प्रदेशमा यसै सही समयावधिमा संक्रमितको संख्या २० हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आइतबारसम्म प्रदेशमा कोरोनो संक्रमितको संख्या २० हजार ४३ पुगेको छ ।
गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमामात्रै आइतबारसम्म १ हजार ३१५ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय ३० जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
१ दिनमै ८ को मत्यु, हप्तामा २१
निर्देशनालयका अनु्सार पछिल्लो एकहप्तामात्रै २१ जना संक्रमितको मृत्यु भएको छ भने एकदिनमै पोखरामा उपचाररत ८ जनाको मृत्यु भएको छ । २४ घन्टामा १ हजार १९० स्वाब परीक्षण गर्दा ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैनिकजसो मृत्यु र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिले कास्की जिल्ला लगायत विभिन्न गण्डकीका विभिन्न स्थानीय तहमा निषेधाज्ञा लागू गरिएका छन् । गण्डकी प्रदेशका स्याङजा, पर्वत, बागलुङलगायत जिल्लाका विभिन्न स्थानीय तहले निषेधाज्ञा गरेका छन् ।
तर, ती लकडाउनसमेत आंशिक गरिएकाले कोरोनाको ‘चेन ब्रेक’ हुने लक्षण नदेखिएको विज्ञ बताउँछन् । ‘पहिलो चरणको लामो लकडाउनपछि स्वभाभिक रुपमा मान्छेहरु बाहिर निस्किन थाले । त्यसले गर्दा भिडभाड बढ्यो । स्वास्थ्य मापदण्ड मान्नतिर उनीहरुको ध्यान गएन । त्यसले झन् भयावहको स्थिति ल्यायो,’ गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्मा भन्छन्, ‘व्यक्ति आफैं लापरवाही ग¥यो भने झन् बढी समस्या निम्तेर आउने भयो ।’
भरियो कोभिड अस्पताल, अवस्था गम्भीर !
कोरोना संक्रमितको उपचार गर्न प्रदेशभरिमा एउटामात्र संक्रामक तथा सरुवा रोग अस्पताल छ । पोखरा ३० मा रहेको ‘लायन्स सामुदायिक अस्पताल’लाई प्रदेशले आफू मातहतमा ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो ।
कोभिड संक्रमित बिरामी राख्न ५१ बेड छुट्याइएको छ । अहिले ती सबै बेडमा कोभिड बिरामीले भरिएको अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन बताउँछन् । अहिले अस्पतालमा ४९ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् ।
‘५ वटा बेड प्रि आइसोलेसनका लागि छुट्याइएको थियो । त्यो भनेको कोभिड लक्षण देखिएको तर, पुष्टि नभएकालाई राख्न बनाइएको थियो,’ गौचन भन्छन्, ‘अहिले ती बेडमा पनि कोरोनाकै बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था आयो ।’ उनका अनुसार अस्पतालमा खास कोरोना संक्रमितलाई राख्न ४६ वटा बेडमात्रै छुट्याइएको थियो ।
अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये प्रायको अवस्था गम्भीर रहेको डा गौचनले जानकारी दिए । ‘सबै बिरामीको अवस्था अहिले जटिल छ । धेरैमा निमोनिया देखिएको छ । उहाँहरुलाई अक्सिजन दिएर राखेका छौं,’ डा गौचन भन्छन्, ‘अवस्था जटिल भएकाले सिलिन्डरबाट अक्सिजन दिइराख्नु परेको छ ।’
कोभिडकै उपचार गर्ने गरी खुलेको अस्पतालमा बेड भरिएपछि त्यहाँ आउने संक्रमितलाई अन्यत्र पठाउनुको विकल्प नरहेको डा गौचनको भनाइ छ । उनी त्यहाँ आउने बिरामीलाई केहीलाई निजी र केहीलाई केन्द्रीय सरकारको मातहतमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुपर्ने बाध्यता रहेको सुनाए ।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बेडको संख्या भरिँदै आएको बताएको छ । कोभिड बिरामीलाई उपचार गर्न ४० बेड त्यहाँ छुट्याइएको छ । तर, त्यहाँ पनि आइतबारसम्म २७ जना संक्रमित उपचाररत छन् । ‘कोभिड विरामीको संख्या थपिँदै गइरहेको छ । यहाँ उपचाररत रहेका धेरै विरामीको अवस्था गम्भीर नै छ,’ अस्पतालका निर्देशक डा अर्जुन आचार्यले भने ।
‘अटेरी गर्ने सरकारी अस्पताललाई कारवाही गर्नुपर्छ’
कोेभिड महामारीले दोस्रो लहरमा प्रवेश गर्दै भयावह स्थिति निम्तिने आँकलन गर्दै स्वास्थ्य मन्त्रालयले सबै बैशाख २ गते एउटा परिपत्र जारी ग¥यो, ‘कोरोना संक्रमितको उपचार गर्न कम्तिमा ५० प्रतिशत बेड तयार राख्नू ।’
राजपत्रमै प्रकाशित भएर आइसकेको उक्त परिपत्र कार्यान्वयन कहाँ पुग्यो ? सम्बन्धित निकायलाई नै थाहा छैन । आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार नाघिसकेको छ । त्यसमध्ये १ हजार ८७ जना संक्रमित घरमै ‘आइसोलेटेड’ छन् ।
घरमै रहेका ती संक्रमितको स्वास्थ्यावस्थामा खराबी आए अस्पतालहरुले धान्न सक्ने अवस्था छैन । तर, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचन सरकारले जारी गरेको परिपत्रमात्रै कार्यान्वयन भए धेरै संक्रमितको उपचार गर्न सकिने बताउँछन् ।
‘प्रदेशका ११ वटै जिल्लामा सरकारी अस्पताल छ । स्थानीय तहका पनि आफ्नै अस्पताल बनाउन बजेट छुटिसकेको अवस्था छ । ती अस्पतालमात्रै राम्ररी चलाउन सकियो भने केही सहज हुन्छ,’ डा गौचन भन्छन्, ‘जिल्लाका अस्पतालका बेड अवस्था कस्तो छ खोजीनीति गर्नुप¥यो । परिपत्र अनुसार भएका छैनन् भने कानुनबमोजिम तत्काल कारवाही गर्नुपर्छ ।’
सरकारले कोरोना विरामीलाई उपचार गर्न बेड तयारी राख्न परिपत्र जारी गरिसकेको अवस्थामा कोही जनताले दुख पाउन नहुने डा गौचनको भनाइ छ । ‘जनताले चाहेको अवस्थामा उनीहरुले नै दुख पाउने हुनुहुँदैन,’ उनले भने ।
सरकारको फितलो तयारी !
कोभिड संक्रमितको उपचार गर्ने एकमात्र अस्पताल संक्रामक अस्पतालमा अहिले सिलिन्डरबाट कोभिड बिरामीलाई अक्सिजन दिइरहेको छ । प्रदेशका केही जिल्लामा अक्सिजन प्लान्टको व्यवस्था भए पनि कोभिड अस्पतालमै व्यवस्था गरिएको छैन ।
संक्रामक रोग अस्पतालमा अक्सिजन उत्पादनका लागि प्रदेशले १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । जुन ९० लाखमा टेन्डरमा गइसकेको प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगर बताउँछिन् । तर, बजेट विनियोजन भइसकेको लामो समय भइसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।
कार्यकारी निर्देशक विकास गौचन अक्सिजन प्लान्ट प्रक्रिया टेन्डर भएर सम्पूर्ण तयारी भइसकेपछि पनि सञ्चालनमा आउन केही समय लाग्ने बताउँछन् । ‘तर, त्यो इन्स्टल हुन अलिक समय लाग्छ होला !’ उनले भने ।
अस्पतालले भने स्थापना भएको करिब ९ महिनापछिमात्रै सञ्चालक समिति पाएको छ । तत्कालीन लायन्स सामुदायिक अस्पतालबाट कोभिड उपचारमात्रै गर्न प्रदेशको मातहतमा आएको ९ महिनापछिमात्रै बिहीबार सञ्चालक समिति पाएको हो ।
कोभिड–१९ को दोस्रो लहरले प्रदेश आक्रान्त हुन थालेपछि प्रदेश सामाजिक विकास मन्त्रालयले बल्ल आवश्यक दरबन्दी आह्वान गरेको छ । बैशाख १६ गते प्रकाशित विज्ञापनमा आवश्यक स्वास्थ्यकर्मी माग गरेको छ । विज्ञापनअनुसार बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सामाजिक विकास मन्त्रालयको पदपूर्ति तथा सिफारिस समितिले मन्त्रालय मातहतका विभिन्न अस्पतालमा भेन्टिलेटरसहितको आइसियू र एचडियू स्थापना र सञ्चालन गर्न कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट जनरल फिजिसियन माग गरेको हो ।
‘होम आइसोलेसन’लाई प्रोत्साहन
गण्डकीका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न प्रोत्साहन दिने निर्णय गरेको छ । प्रदेश स्तरीय कोभिड– १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिव केदारनाथ शर्माले बताए ।
‘सकेसम्म त अस्पतालमै लैजाने हो, नसक्दा होम आइसोलेसनलाई नै प्रभावकारी बनाउने निर्णय भएको छ,’ आन्तरिक मामिला मन्त्रालयका सचिवसमेत रहेका शर्माले भने, घरमै बसेका संक्रमितलाई ‘होम हाइसोलेसन किट’ निशुल्क उपलब्ध गराउने निर्णय गरेका छौं ।’
गण्डकीका कुल सक्रिय संक्रमितमध्ये १ हजार ८८७ जना संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका सरकारी र निजी अस्पतालमा गरी २३२ वटा आइसियु बेड छन् ।
होम आइसोलेसनमा बसेका संक्रमितले आफ्नो स्वास्थ्य स्थिति आफैंले जानकारी राख्न सक्ने गरी उपकरणको व्यवस्था गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । ‘होम आइसोलेसन किट’मा सामान्य थर्मोमिटर, अक्सिजन नाप्ने डिभाइस, मास्क, स्यानिटाइजर, ग्लब्स लगायत हुने उनले जानकारी दिए । ‘हामीले सबैलाई यो किट वितरण गर्ने भनेका हौइनौं,’ डा. शर्माले ढोरपाटनलाई भने, ‘जसले किन्न सक्नुहुन्न उहाँहरुलाई उपलब्ध गराउने भनेका हौं ।’
संक्रमितले आफ्नो प्रत्येक दिनको स्वास्थ्य रेकर्ड राख्न फर्म समेत उपलब्ध गराउन उनले बताए । ‘बिरामीको आवश्यकता अनुसार स्वास्थ्यकर्मीले मनिटरिङ गर्नुहुन्छ, सिकिस्त बिरामीलाई अस्पतालको व्यवस्था हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->