अन्य जनावरको सहयोगपछि ब्वाँसो जंगलको राजा भएर निस्कियो । उसले सबैले भेला पारेको आहारा पनि एक्लै खाने गर्न थाल्यो । ऊ पहिलेजस्तो दुब्लो– पातलो रहेन ।
एकादेशमा एउटा ब्वाँसो थियो । त्यो ब्वाँसो झलक्क हेर्दा मायालाग्दो र ख्याउटे देखिन्थ्यो । ब्वाँसो भएपछि जंगलमा बस्नु पर्ने भएपनि लुते भएकाले गाउँगाउँ डुलिहिँड्दा पनि कसैले केहि भन्थेनन् । ऊ स्वतन्त्र भएर गाउँका प्राणिहरुसँग दोस्ति गर्न थाल्यो । गाउँका गाई,भैंसी,गोरु,राँगा,खसी बोका,भेडा,च्याङ्ग्रा सबैसँग मायालु पारामा बोल्थ्यो ।
‘तँ त्यत्रो जंगलमा बस्न छोडेर किन गाउँ पसेको ?’ भन्ने गाउँका सोझा जनावरहरुको प्रश्नमा ऊ भन्थ्यो,‘जंगलमा बाघ भालु र सिंहहरुको चलखेल बढेको, ब्याँसोहरुलाई बस्ने ठाउँ नदिएको साथै जंगलका अरु सोझा जनावरहरुलाई पनि थिचोमिचो गरेकोले अब एकजुट भएर ती सिंह बाघहरुलाई जंगल पसेर विद्रोह गरी जंगलबाट हटाएर जंगलमा राज गर्नुपर्छ’ ती सोझा जनावरहरु ब्वासाको कुरा मन पराउँथे ।
गाँऊमा मानिसको बन्धनमा बाँधिएर बस्नु पर्ने ती जनावरहरुलाई पनि ब्वाँसोको कुरो ठीकै लाग्यो । स्वतन्त्रपनि भइने,मोज गर्न पनि पाइने भनेर सबै गाँऊका जनावरहरुपनि ब्वाँसोको पछि लागेर जंगल छिरे,विद्रोह गर्न । ती जनावरहरुमध्ये कोही रहरले,कोही करले,बाध्यताले,कोही भावनामा बगेर साँच्चै विद्रोही भावना बोकेर आफू र आफूजस्तै अरु जनावरको भलाईको लागि गाँउ छाडी जंगल गएर सिँह भालु बाघका सेनाहरुसँग युद्ध गरे ।
यो युद्धमा प्रकृतिले पनि तिनीहरुलाई साथ दियो । जंगलमा अचानक लागेको डढेलोले गर्दा जंगलका केही ठूला सिंहहरु मारिए । तब जंगलमा बाँकी रहेका सिंह बाघ भालुहरुसँग ब्वाँसो र अरु जनावरको सहमति भयो । सहमतिअनुसार ब्वाँसोले पनि जंगलमा राज गर्न पाउने भयो ।
समय बित्दै जाँदा सोझा जनावरहरु जंगलमा बस्न नसकी कोही गाउँ फर्के,कोही अर्को जंगलतिर लागे । कोही ब्वाँसोकै वरपर घुम्न थाले । तर, ब्वाँसो जंगलको राजा भएर निस्कियो । अब सिंह बाघ भालु हात्ती चितुवा कसैले पनि ब्वाँसोलाई छुनै नसक्ने भए । ब्वाँसो अब सबैले भेला पारेको आहारा पनि एक्लै खाने गर्न थाल्यो । बढी भएका आहाराहरु अर्को जंगलमा ढुकुटी बनाएर थन्क्याउने गर्न थाल्यो । पहिले जस्तो दुब्लो पातलो पनि छैन, ऊ । ह्ृष्टपुष्ठ छ ।
अब जंगलमा पहिले बाघ सिंहको राज हुँदाभन्दा बढी ब्वाँसोले उधुम मच्चायो । यति हुँदा पनि न कुनै बाघले बिरोध जनायो न कुनै सिंहले झम्ट्यो न कुनै भालुले ठुलो स्वर ग¥यो । यतिसम्म कि हिजोसँगै जंगलपसेर सिंहहरुलाई परास्त गर्न ब्वाँसोलाई मद्दत गर्ने जनावरहरुपनि टुलुटुलु हेरिरहे ।





