बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आमाको सपना

आमाको सपना


  • गोपालप्रसाद रिमाल
  • जेष्ठ १५ २०७८, शनिबार

आमा, त्यो आउँछ र ?

‘हो, बा, त्यो आउँछ ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’

हो र आमा ?

‘हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि ;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि ;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
तयो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु ,
त्यो आउँछ ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकीएर कथा सुनेझैँ सुन्ने छैनौ ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी संग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा ;
त्यो आउनेछ, तिमी उठ्नेछौ !’

त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।’
‘तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->