बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : बेनीबासी र खोलानाला

कविता : बेनीबासी र खोलानाला


  • भवभिन्न, बेनी, म्याग्दी
  • असार ५ २०७८, शनिबार

हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

काली ठूलो भइरहन खोज्छ
मंगला खोज्छ
कालीभन्दा झन् ठूलो हुन ।
छाडन लामो छैन र पनि खोज्छन् ठूलै हुन् –
जयन्ती, कोटखोला, रघु र अरूहरू ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

लक्ष्य समान छ सबैको : जसरी हुन्छ, ठूलो बन्ने ।
शैली समान छ सबैको :
आफू अडिएको जमिन घटाउँदै अघि बढ्ने ।
स्वभाव समान छ सबैको :
आफू जन्मेहुर्केको जमिन समुद्रतिर ओसार्ने ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

काली बढ्यो भने बेनीबासीहरूलाई
कालीपुलतिरबाटै खतरा सुरु हुन्छ
पहिले कालीकै बाँध भत्किन थाल्छ ।
मंगला बढ्यो भने बेनीबासीहरूलाई
मंगलाघाटतिरबाटै खतरा सुरु हुन्छ
पहिले मंगलाघाटकै बाँध भत्किन थाल्छ ।
कोटखोलो बढे बगरफाँट खतरामा पर्छ
जयन्ती बढे खबारा खतरामा पर्छ
रघुगंगा बढे गलेश्वर खतरामा पर्छ ।
यी खोलानाला बढ्नुको परिणति ः
बेनीबासीहरू घरबास छोडेर रातारात अर्थुङ्गेतिर भाग्नुपर्छ
खान्दुलातिर या मल्लाजतिर लाग्नुपर्छ ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

समुद्रहरूले यिनका लागि बादल उपहार पठाउँछन्
र यी निकै आभारी हुन्छन् !
र यिनमा उन्माद चढ्छ, यी बौलाउँछन्
र बेनीबासीहरूको बस्तीमा बाढी पस्छ
र बेनीबासीहरूको जमिनमा पैरो जान्छ
र सम्बन्ध कायम गर्न बनेका पुलहरू भत्किन्छन् ।
बेनीबासीले वृक्षरोपण गरी जतन गरेका जरुवा पनि
हिमालपारिबाट बगेर आएका
खोलानालासँगै हुल बाँधेर घरबारी बगाउन आउँछन्
समुद्रको बादलले उरालेका
खोलानासँगै गठजोड गरेर घरबारी ओसार्न आउँछन्
बेनीबासीका आँखाअघि
वृक्ष उखेलेर चलिदिन्छन् आफ्नै जरुवाहरू
जमिनै लतारेर बगिदिन्छन् आफ्नै जरुवाहरू
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

समुद्रबाट बादलले बोकेर ल्याएका सबै पानी
अन्ततः समुद्रमै फर्किन्छन्
ती बादलका चट्याङ्
र तिनले गरेका विनाश भने यतै रहन्छन् ।
तर यिनले बगाएको बेनीबासीको माटो कहिल्यै फर्किँदैन
तर, यिनले बगाएका बनबुटा र जडीबुटी कहिल्यै फर्किँदैनन्
तर सुन अँगालो मारेर भागेका बालुवाका हुल कहिल्यै फर्किँदैनन्
तर, पानीले भिरेर लगेका हिमाली स्वाद कहिल्यै फर्किँदैनन् ।
श्रमिकले मुख धोएको पसिनामा भएको नुनधरि
ओसार्न छोड्दैनन् यी ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

जब बेनीबासीहरू जीवन रक्षाका लागि
बास छोडेर भागाभाग गर्दछन् नि ?
त्यही बेला बेनीबासीको सबैभन्दा बढी जमिन काटिन्छ
जब बेनीबासीहरू जीवन रक्षाका लागि
बास छोडेर भागाभाग गर्दछन् नि ?
त्यही बेला बेनीबासीको माटो समुद्रतिर बग्दछ
बेनीबासीहरूले यी खोलाहरूमा
हिउँदमा पनि माटोविनाको शुद्ध पानी बगेको देख्न पाएका छैनन्
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

बेनीबासीहरूले यी नदीलाई प्रशन्न गराउन
धेरै चोटि नमस्कार गरे
धेरै चोटि प्रणाम गरे
फूल कति चढाए कुनै हिसाब छैन ।
यिनलाई आफ्नो बनाउन
पुर्खाले रगत कति बगाए कुनै हिसाब छैन
बेनीबासीले भने
आ–आफ्ना मातृभूमिका नाम पनि यिनकै नामबाट राखे –
म्याग्दी राखे, रघुगङ्गा राखे, मङ्गला राखे …
मानौँ,
बेनीबासीको कुनै पहिचान छैन
र तिनै खोलानालाको पहिचान बेनीबासीको पहिचान हो ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

यी बैगुनी खोलानालाहरूमा
जिउँदा शरीर कति अर्पण गरे बेनीबासीले कुनै हिसाब छैन
अर्मन अर्पण गरे, स्यारस्यारे अर्पण गरे, मराङ् अर्पण गरे, …
यी अगस्ति खोलानालाहरूले
जति धेरै खाँदै गए उति नै ठूला खाली पेट देखाउँदै गए
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

आफू ठूलो हुन ढल पनि मिसाउन तयार भए यिनीहरू
खाने कुरा केही छोडेनन् : लाश पचाउन तयार भए यिनीहरू
त्यसैले यी नदीखोलाहरूमा
आजकल ढल मिसाउँछन् बेनीबासीहरू
त्यसैले यी नदीखोलाहरूलाई
जिउँदा शरीरमात्र होइन
युगौँदेखि लाश पनि टक्राउँदै आएका छन् बेनीबासीहरू
जलेका लाशका झरल टुक्रा पनि
अर्पण गर्दै आएका छन् बेनीबासीहरू
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मंगला, कालीहरू … ।

बरु अन्यत्रैबाट आएका हावाहुरीहरू चढ्छन् हिमालतिर पहाडतिर
बरु समुद्रबाट आएका बादल चढ्छन् हिमालतिर पहाडतिर
तर यी जरुवा र खोलानाला जहिले ओरालो बग्छन्
बेनीबासीको केही न केही त लिएरै बग्छन्
बेनीबासीको केही न केही त भत्काएरै बग्छन्
बेनीबासीको निद्रा खल्बलाएरै बग्छन्, थर्काएरै बग्छन्
स्वभाव बदलिएन यिनको, परिणाम बदलिएन
भएन नमस्कार गरेर, प्रणाम गरेर भएन
भएन फूल चढाएर भयो, रगत चढाएर भएन !
बेनीबासीहरूले अब त
बलिया बाँध बनाउनतिर लाग्नुपर्छ कि ?
हामीले गरे के हुँदैन ?
यिनीहरूलाई
बाटोमा बग्न सिकाउनुपर्छ कि ?
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलाहरू –
जयन्ती, मंगला, कालीहरू ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->