आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

फर्सीको जरा

फर्सीको जरा


  • मोहन कोइराला
  • साउन २ २०७८, शनिबार

अनन्त विडम्बनाले अनन्त हातले

अनन्त चिलले झम्टा मारेको

वर्तमान एक टुक्रा समय, रक्तचापको डिग्रीमा चढेको पारो

जसलाई पर्खिरहेछौँ, चल्ला बनेर ।

……..
खल्वाट देखाएर विश्वास दिइरहेछु

पूर्व बिदा विश्वास, आउने विश्वास,

बाँचिरहेको विश्वास,

रंगका विश्वासै विश्वास हामी नै विशवास गर्न सक्तैनौं

विश्वास कहाँ टाँसिएको छ जरा भएर,

मलाई एक विश्वास भए पुग्छ

मलाई एक वर्तमान भए पुग्छ

आउने जाने त्यसैमा, अनन्तको अनुहार हेर्न,

………

(किनकि समयहीन नै समय हिँडिरहेछ, सडकहीन सडकमा)

……..

यो काँक्रो आफैं थाँक्रोसित पाकेको थाकेर

यसलाई टेबिलमा राख यसलाई टेबिलमा राख

यसलाई टेबिलमा बाँड भेला भएर।

हामी बितेका गीत हामी बितेका समय

भोज गर यसलाई टेबिलमा काट।

एक हतारमा हतार एक जीवनमा जीवन

हात फिँजाएको अनन्तमा ठीटलाग्दो विचार जे हामी

रोप्न लागेका छौँ,

नयाँ कोदालीले माटो नलागेको हातबाट (असफलताका)

वजनबिनाको डल्ला फोरेर

टेबिलको विश्वमा

फर्सीको शान्त बियाँ समयको बारीमा

अस्तित्वको वर्तमान शान्त बिउमा जहाँ पर्खिन सक्तछ

एक मात्र अनन्तका कानो गुदी,

‘ भोज गर‘

………..

लाटीले घुमाएको जाँतोमा पालो छाडेर वर्तमान दौडेको छ।

कानो गोरूको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केको छ।

चट्टानले मिचेको अगेनोमा रोटी पोलेर वर्तमान लम्बेको छ।

छकिनबाट घटाउ गर अनन्त घट्टको तावा मात्र हो

काट भोज गर बितेको भुङ्ग्रे रोटी टेबिलमा

किनकि अनन्तले हामीलाई छली चिलझैँ झम्टा मार्छ

भुत्ले नङ्ग्रा लिएर

यद्यपि हामी अनभिज्ञ छैनौँ परमाणुका लागि पनि

ज्ञानले चहचहाइरहेका चाहान्छु, तिमी जे‘ म जे

हरेक पदार्थ हरेक हरेक अर्थमा अर्थसित विभिन्न अर्थ

बिउजस्तै फराकिला बिउजस्तै फराकिला अनन्तजस्तै

सिङ्गै आकाशजस्तै धर्तीजस्तै समुद्रजस्तै

बिउजस्तै फरासिला ।

……..

हामी माटो‘ हरेक अर्थ माटो अर्थ

……….

हुटिट्याउँको आकाशमाथि आकाश खस्तछ

मलाई हिँड्ने हिम्मत देऊ म फर्सीको मन्टा हुँ

मलाई घुस्रिन क्षितिज देऊ म तोरियाँको जरो हुँ

मलाई उभिन दिशा देऊ म पारिजातको थुतुनो हुँ

मलाई अनन्त फोर्न देऊ म आफैँ समय हुँ

हुटिट्याउँको आकाश अकासिन्छ

झुम्रोको फूल कोरलिनु प्रथम

हुटिट्याउँको आकाशे खुट्टा माटोमा उभिन्छ मलाई हिँड्न देऊ

अनन्त फोरेर

म फर्सीको मन्टा हुँ आकाश छेडिरहेको

म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको,

म फर्सीको जरा हुँ पृथ्वी पक्रिरहेको ।

हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा

मलाई हिँड्न देउ हुटिट्याउँको आकाश खसालेर,

म फर्सीको मन्टा हुँ म आफैं समय हुँ म आफैँ अनन्त हुँ

प्रुफ रिडर मेरो कानको कानेगुजीको पाप्रा

मेरो कानको कानेगुजी

पेपरवेटको पहाडमा लुकामारी

विचारमाथि विचार अभियान

मसीको अरालो उकालो

कागते कारखानाको स्वर

टाइपराइटरको पदचाप ध्वनि

……..

विश्वास नगर्ने मलाई काट र टेबिलमा‘

—विश्वास गर। म फर्सीको जरा हुँ,

आकाश हुँ म, फर्सीको !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->