पर्वत, १६ साउन– पर्वत सदरमुकाम कुश्मामा बस्दै आएका सुवास पोखरेललाई भौतिक रूपमा विद्यालय नखुले पनि समस्या छैन । उनले पढिरहेको नारायण माविको पढाइ निरन्तर चलिरहेको छ । अघिल्ला वर्षमा पनि बर्खे बिदा हुने बेलामा ४५ दिन विद्यालय बन्द रहन्थ्यो । तर, यस वर्ष भने असार १५ गतेबाटै उनी नियमित कक्षा लिइरहेका छन् ।
लामो समय स्क्रिनअगाडि बस्दा आँखा र शरीर दुख्ने समस्या भए पनि कोरोना महामारीको बेलामा सबै क्षेत्र ठप्प रहेको बेलामा विद्यालयले नियमित पठनपाठन गराउँदा उनलाई खुसीका लागेको छ । विद्यालय जाने तनाव नलिएरै घरमा बसेर नयाँ शैक्षिक सत्रमा सर्न पाउँदा उनी खुसी छन् ।
‘जुममा पढिरहेको बिहानदेखि बेलुकासम्म सबै विषयको पढाइ भइरहेको छ । त्यही विद्यालयमा गइएको छैन भन्ने मात्रै हो । पढाइ त मज्जाले भइरहेको छ,’ उनले भने, ‘कोरोनाले पढ्नै पाइन्न कि जस्तो भएको थियो । जे होस पढ्न पाइएको छ ।’
नारायण माविका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेलले कोरोना कहरका कारण अघिल्लो वर्ष पनि अनलाइनमार्फत नै नियमित कक्षा सञ्चालन गरेको बताए । यस वर्षपनि असार तेस्रो साताको सुरुआतीबाटै अनलाइन कक्षाहरु चलाइरहेको जानकारी दिए ।
‘कोरोना कहर कम भएपछि भौतिक रूपमा उपस्थित भएर अध्यापन गर्ने आशामा बस्ने हो भने त्यसले ठूलो शैक्षिक क्षति हुने देखियो,’ उनले भने, ‘हामी प्रविधिको पहुँचमा भएकाले त्यसैको उपयोग गरेर कक्षा सञ्चालन गर्नुको विकल्प छैन ।’
सदरमुकामकै अर्को विद्यालय शिवालय माध्यमिक विद्यालयले पनि असारबाटै अनलाइनबाटै नयाँ शैक्षिक सत्रको सुरुआत गरिसकेको छ । लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरूलाई मनोवैज्ञानिक असर पर्ने विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईं बताउँछन् । ‘लामो समय विद्यालय नचल्दा विद्यार्थीको शैक्षिक पक्ष नै खलबलिन सक्ने जोखिम बढेकाले अनलाइनबाटै पनि नयाँ शैक्षिक सत्र सुरु गरिएको हो,’ उनले भने ।
सदरमुकाममा यी दुई सामुदायिक विद्यालयजस्तै सबै निजी विद्यालयले पनि अनलाइन कक्षामार्फत नै नयाँ शैक्षिक सत्रको पठनपाठन अगाडि बढाइरहेका छन् । सदरमुकामका विद्यालयले धमाधम पढाइ गरेको भए पनि ग्रामीण क्षेत्रका बालबालिका भने अलमलमा नै छन् ।
कतिपय विद्यालयहरूले जसोतसो अनलाइन पढाइ सुरु गरेपनि ग्रामीण भेगमा प्रविधिको पहुँचमा नभएकाले अधिकांश विद्यालय क्रियाकलापविहीन अवस्थामा छन् । ग्रामीण क्षेत्रका धेरै बासिन्दाको आर्थिक अवस्था कमजोर रहँदा स्मार्टफोन किन्न नसक्नु, इन्टरनेट जडान गर्न नसक्नु तथा ग्रामीण क्षेत्रमा इन्टरनेट प्रदायक संस्था नहुनु जस्ता कारणले समस्या भइरहेको फलेवास नगरपालिकाको जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा बताउँछन् ।
‘गाउँमा बजारमा जस्तो नहुने रहेछ, न यहाँ नेट गतिलो टिप्छ, न महँगो नेट र मोबाइल किन्न सक्ने अभिभावकको क्षमता छ । २÷४ जनाले सक्छन् भन्दैमा सबैले सकेको भन्न मिल्दैन,’ उनले भने, ‘१० जनाले अनलाइनमा पढेर, ४० जना बाहिर रहे भने त ती ४० जना शिक्षाको अधिकारबाट वञ्चित रहे नि ।’ उनले शिक्षकले समयमै खोप पाए पनि विद्यार्थीले खोप नपाउँदा पढाइ सुरु गर्न समस्या भएको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख उद्धिमराज पौडेलले सहरी क्षेत्रका विद्यालयले अनलाइनबाटै नयाँ शैक्षिक सत्र सुरु गरे पनि गाउँमा सम्भव नभएको बताए । गाउँका कतिपय विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा पनि विद्यार्थीको उपस्थिति राम्रो नभएको खबर आएको उनको भनाइ छ ।
एउटै घरमा २जना बच्चा भएमा उनीहरूको लागि २ ओटै स्मार्ट फोन आवश्यक छ । गाउँमा इन्टरनेट जडानको लागि शुल्क महँगो भएकाले अस्थायी समयका लागि हजारौं रुपैयाँ लगानी नगर्ने अविभावकको अवस्था छ । केही समयपछि कोरोना कहर शान्त भएपछि विद्यालय खुल्ने भएकाले अहिले ऋण नै गरेर नेट जोड्ने तथा महँगा मोबाइल नकिन्ने अभिभावकहरू बताउँछन् ।





