१
झर्छन् आँसु पोल्छ हियो, कस्ले बुझिदिन्छ
अरू झैं रमाउने चाहा थियो, कस्ले बुझिदिन्छ ।
दुर्घटनामा परी दुबै खुट्टाहरू गुमाएँ देखि
मेरा सपनाहरु सबै सकियो, कस्ले बुझिदिन्छ ।।
२
मान्छेहरू हुन्छन् भिन्न भिन्न, कहाँ सकिन्छ र
कुन असल छ कुन खराब छ, चिन्न कहाँ सकिन्छ र ?
यहाँ धन र रूप हेरी सम्बन्ध जोड्ने साथीहरूसँग
धन सम्पत्ति दिएर मित्रता किन्न कहाँ सकिन्छ र ?
३
न भोक न निन्द्रा रातभरी,आँखा रसाएर आउँछ
मुटुमै पोल्छ बेस्सरी, आँखा रसाएर आउँछ ।
हाम्रो सम्बन्ध छुटेको बर्षौं बितीसक्दा पनि
यादहरूले आउँछ घरीघरी, आँखा रसाएर आउँछ ।।
४
छ भन्दैमा धन सम्पत्ति र बल, के घमण्ड गर्छौ
भुली आफ्नो विगतको धरातल, के घमण्ड गर्छौ ?
आखिर सबैको पुग्ने गन्तव्य भनेको चितासम्म हो
बने भन्दैमा अलिकति सफल, के घमण्ड गर्छौ ?
गलकोट, बागलुङ





