आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गोपाल खनालका ५ मुक्तक

गोपाल खनालका ५ मुक्तक


  • गोपाल खनाल
  • साउन ३० २०७८, शनिबार

१.फूल रोप्न गोडमेल गर्न नभइ चुँड्न भनिएको छ
ब्रेक लगाइएको छ र रफ्तारमा गुड्न भनिएको छ ।।
सर्वत्र छ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर
स्वतन्त्रताका नाउँमा पखेटा बाँधी उड्न भनिएको छ ।।

२. कहिले दायाँ कहिले बायाँ फरक छैन प्यारी
हेर उज्यालोमा बन्ने छाँया फरक छैन प्यारी ।।
दुनियाँको कुरा सुनी नतर्कनू कहिल्यै तिमी
ढुक्क हुनु मनले गर्ने माया फरक छैन प्यारी ।।

३. उसकै खुट्टा नाङ्गो छ जो दिनभर जुत्ता सिएर आयो
के सोच्यो कुन्नि विदेश हिँडेको हरि फर्किएर आयो ।।
बिरामी हुँदा अस्पतालसम्म नलगिदिने मेरो छोरो
बा ! भत्ता लिन जाऊँ भन्दै खुसीले कार लिएर आयो ।।
उसैको रगत अभावमा ज्यान गएको खबर पाएँ
जो सुत्केरी बचाउन अस्ति रगत दिएर आयो ।।
डाक्टरले भने क्यान्सर हो आश छैन घर लैजानुस्
विज्ञान फेल् भो जडीबुटी सेवनले ऊ जिएर आयो ।।
पिउनु खराब हो यस्तो गल्ती कहिल्यै नगरेस् भन्थ्यो
बर्बराउँदै छ सायद आज ऊ आफैँ पिएर आयो ।।

४. थाहा छ दिनदिनै उमेर घटिरहेछ
रहरहरु यसै डाडाँ कटिरहेछ ।।
अपमान छ,श्रमशोषण छ र पनि
त्यो मजदूर काममै खटिरहेछ ।।
तिमीले यता ध्यान नदिनुको कारण
थाहा भो तिम्रो नजर उता पटिरहेछ ।।
जाँगरले सधैं अगाडि बढ्ने योद्धा नै
बुझ्नुस् अचले किन पछि हटिरहेछ ।।
मैले पिएकोमा हिजो विरोध ग¥थ्र्यो
बुझेन आज आफै आउनु भटिरहेछ ।।
नचाहे नि अरुकै इसारामा चल्नु पर्ने
जिन्दगी साच्चै क्यारेमको गोटी रहेछ ।।
विपत्ति त कहाँ थिएन अनि छैन र
देख्छु मान्छे यहाँ निरन्तर डटिरहेछ ।।
जहाँ पुगेर प्राणी जे गरोस् अहंकारले
आखिर जिन्दगी भन्नू त मटिरहेछ ।।

५. यो मन लुटेर ऊ बेखबर भई
विगत विर्सेर ऊ बेखबर भई ।।
तिमी बाहेक छैन मेरो अस्तित्व
भन्थी के सोचेर ऊ बेखबर भई ।।
मायामा जे नमिलोस् फरक पर्दैन
खै के पो सम्झेर ऊ बेखबर भई ।।
मन त मिलेकै थ्यो अनेक कुरामा
त्यो चिना हेरेर ऊ बेखबर भई ।।
प्रतीक्षाको फल मिठो पाठ पढायौ
समय भोगेर ऊ बेखबर भई ।।
जीवनमा एक्कासि चट्याङ परेझै
नमिठो झर्केर ऊ बेखबर भई ।।
साथले कल्पन्थे सहज जीवन म
के हल्ला सुनेर ऊ बेखबर भई ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->