तनहुँ/ चलचित्र ‘लाइफ इन एलए’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत साता मात्रै छायांकन सकिएको चलचित्रको ‘पागल प्रेमी’ बोलको गीतसार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा डेब्यु नायक व्यास विस्सुसंग नायिका अकेशा विष्ट र शिल्पा मास्केले रोमान्स गरेका छन् । प्रताप दास र कविता श्रेष्ठको स्वरमा रहेको गीतको संगीतकार एलिस कार्की हुन् । भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।पोखरा र तनहुँ आसपासमा भिडियो कैद गरिएको हो ।
दशैँबाट प्रर्दशनमा ल्याउने भनिएको चलचित्रमा ‘पागल प्रेमी’ सहित तीन गीत समावेश छ । एलिश कार्की र प्रतिक पौडेलको संगीतमा रहेका गीतमा प्रताप दास, प्रविशा अधिकारी, कविता श्रेष्ठ र आर्यन पाठकले स्वर भरेका छन् । कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफीमा गीतको भिडियो बनेको छ ।
अमेरिकामा बसोवास गर्ने नेपालीको जीवनशैलीलाई कथामा उतारिएको ‘लाइफ इन एलए’ को निर्देशक सूर्य श्रेष्ठ हुन् । चलचित्रको ७५ प्रतिशत अमेरिकामा र २५ प्रतिशत नेपालमा छायांकन गरिएको हो । व्यास विस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, विष्णु गौतम, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवालको अभिनय हेर्न पाईनेछ ।
विगत १८ बर्षदेखी अमेरिकमा बस्दै आएका व्यास विस्सुले निर्माण गरेको चलचित्रको अमेरिकाको लागि निर्माता राजेन्द्र ठकुराथी रहेका छन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता हुन् । प्रदीप आचार्य र प्रविन खत्री प्रोडक्सन म्यानेजर रहेको यो चलचित्रको हाल धमाधम पोष्ट प्रोडक्सनको काम भईरहेको छ । बाबु श्रेष्ठ र क्रिस वारेनले खिचेका दृश्यलाई भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गर्नेछन् । काठमाडौंको एके स्टुडियोमा सम्पादनको काम भईरहेको छ ।





