बिहान करिब ६ बजेको हुंदो हो, टोलमा कोही मर्निङ वाक, कोही सरसफाई त कोही स्कुल कलेजका ड्रेसमा हतार हतार हिड्दै थिए, तर जेम्स पागल झै आफ्नो कोठामा छट्पटाई रहेका छन्, कुर्ची, टेलीभिजन, कपडाको र्याक लगायतका सामान छरपष्ट र लथालिङ छन् । उसका बाबुले मलाई जेम्सको कोठामा लगेर देखाउदै गर्दाको दृष्य थियो त्यो ।
हामीलाई देख्नासाथ उ समालिन खोज्यो, घोसेमुन्टो लायो अनि कर्के नजरले हेर्यो, उ बेला मास्क लगाउने चलन थिएन, त्यसैले दुर्गन्ध आईरहेको कोठामा पस्दा आफ्नै रुमालले नाक छोपेर सरसर्ती हेर्दै त्यो कोठा बाहिर निस्कियौं दुबै जना । अनि, मलाई बोलाउनुको कारण सुनाए जेम्सका बाबुले– ‘कुनै चिज खाएको देख्या छैन, तर छोराको व्यवहार बेला बेला यस्तै हुन्छ, पढाई पनि छाडेको छ, कहाँ जान्छ केही जानकारी हुदैन, खान लाउन दुख छैन तर दुव्लाउदै गएको छ, फोहोरी देखिन्छ, मलाई लागुऔषधको सेवन गर्छ कि भन्ने शंका छ, एक दुइ पटक संझाएर सुधार्ने कोशिस गर्न सकिन्छ कि भनेर हजुरलाई दुख दिएको बाबु । एउटा मात्र छोरो, आफु विदेश तिर बसियो, आमा सोझि मान्छे, उसलाई घरधन्दा ठीकै भयो होला, अहिले २÷३ महिना भयो छोराको पढाई र दैनिक क्रियाकलाप हेर्दा के गर्नु के नगर्नु भैरहेको छ भन्दै लामो सास फेरे उनले ।
सम्झाउने प्रयास गर्न उसको उपस्थिति आवश्यक थियो, मैले एक पटक हामी बसिरहेको बैठक कोठामा बोलाउन आग्रह गरें । करिब ५ मिनटमा बाबुछोरा त्यहां संगै बसे, म चाहिँ अलि टाढा । जिङ्ग्रीङ्ग कपाल, लामो समय ननुहाएको जस्तो ठुस्स गनाउने कपडासहितको फोहोरी जिउ, दुव्लो पातलो जेम्सले घोसे मुन्टो लाएर अनुहार लुकाउने प्रयास गरिरहेको थियो । उसको परिचयबाट संबाद सुरु गर्ने सोच बनाएर नाम, उमे, र पढाई सोधें । ‘जेम्स, २३ बर्ष, आई.ए.को व्याक दिदै छु’ उसको मधुरो लर्बराएको लवजमा जवाफ आयो । ठीक छ पढे लेखेका रहेछौ, साथीहरु के गर्दैछन् भन्ने मेरो प्रश्नमा केहिबेर अक्मकाएर जवाफ आयो– ‘१ जना म संगै पढ्छ अरु ड्रग्स युजर कोही जेलमा छन् कोही सुधार केन्द्रमा छन् । ड्रग्स युजरको संगतमा रहंदा आफुले त्यो चिज युज गरियो कि गरिएन होला ? भन्ने मेरो प्रश्नको जवाफमा ‘करिब २÷३ बर्षदेखि म पनि युजर हुं’ उसले आफ्नो कुरा खोल्यो । फेरी प्रश्न तेस्र्याए यसलाई चटक्क छोड्न सकिन्छ कि सकिदैन जस्तो लाग्छ बाबु ? उसले सहजै जवाफ दियो– ‘मैले छाड्न कोशिस गरिराखेको छु, सक्छु’ पटक पटक रिल्याप्स भैराखेको छ । ठिक छ तिमीले चाह्यौ र कोशिस गरिराख्यौ भने यस्तो खराब लत त्याग्न सक्छौ, यसका लागी परिवारको साथ र सहयोग भैरहनु पर्छ, अनि ति ड्रग्स युजर साथीहरुको सम्पर्कमा जानु हुँदैन, घरमा पनि आउन नदिनु राम्रो, के यसो गर्न संभव छ त बाबु ? भन्दा उसले कोशिस गर्छु तर भेट भैहाल्यो भने छोडेर भाग्न सकिदैन भन्यो । घरमा रहंदा वा बाहिर हिड्दा बाबुछोरा संगै हिंड्न बाबु नहुँदा घरमै आमालाई काममा सघाएर बस्न त सकिएला नि, बाबु आमाले पनि छोरालाई ट्यापे जस्ता शव्द प्रयोग नगरी एउटा बिरामीको रुपमा हेर्नु पर्छ, म अब जान्छु, फेरी भेट्दै गरौला भनेर हिँडे ।
पुनः २ दिनपछि उहीँ समयमा जांदा त्यो घरको स्थिति सामान्य थियो, चियापान गर्दै जेम्ससहित सबैजना निकै खुसी भयौं । यहीं स्थितिमा आगामी दिन सुधार हुने अपेक्षासहित बिदावादी भईयो । फुर्सद हुँदा पटक पटक हाम्रो भेटघाट चलिरह्यो र जेम्सको आनीबानीमा आएको परिवर्तन र फुटवल खेल्ने उसको चाहानालाई पुरा गर्न अविभावकबाट स्पोर्ट सेटको व्यवस्था भयो । घर नजिकको चउरमा खेल्न जान्थ्यो उ, समयमै घर आईरहन्थ्यो पनि । कहिलेकाहीँ बाबु र म पनि उसको ख्याल राख्न तेतातिर घुम्दै जान्थ्यौं । करिब १ महिनासम्म नियमित समय तालिकामा खेल्न आउने जाने लगायतका क्रियाकलाप भैरहंदा उसमाथी बिस्वास गर्ने स्थिति आयो । तर, उसमाथी निग्रनी हुन छाडेपछी फेरी केही शंकाको वातावरण सृजना भयो । अब उसले बिभिन्न बहानामा घरबाट छिटै निस्कने र ढिला आउने गर्न थालेछ । उसलाई थाहै नदिई बाबुआमालाई निग्रानी राख्न लगाउने क्रममा पटक पटक ट्यापे केटाहरुसंग भेटघाट भैरहेको बुझियो ।
एक दिन सांझ जेम्सका बाबु मलाई लिन आईपुगेर भनें– ‘बाबु आज एक पटक उसलाई हेरौं अनि सल्लाह गरौंला ।’ मैले नकार्न सकिन, हामीसंगै उनको घरमा पुग्यौं । खाना खाने बेलासम्म उ मस्त कोठामा सुतिरहेको थियो । भित्रबाट चुकुल लगाएर सुतेका कारण धेरै बेर बोलाउँदा नि कुनै प्रतिकृया नआएपछि उसका बाबुले ढोकामा लात्तीले हानेर जबरजस्ती खोले । हेर्दा उ त फेरी उही नसाको सुरमा झ्याप परेर सुतेको रहेछ । धेरै बेरको प्रयास पछी ब्युझाईयो । उ अझै लर्बराउदै थियो । उसलाई त्यही सुती राख्न दिएर सुधार केन्द्रमा फोन सम्पर्क गरी उसलाई लैजाने व्यवस्था मिलाईयो । उताबाट गाडी लिएर आउन्जेल फेरी एक पटक उसलाई बोलाई के भयो बाबु भनेर सोध्ने क्रममा उसले आफ्नो बाबु र मलाई मुस्किलले चिन्यो र अनायासै भन्यो ‘फेरी पनि रिलाप्स भयो यार’ । उसले अरु केही बोलेन । फोन गरेको करिव आधा घण्टापछी सुधार केन्द्रबाट ट्याक्सी लिएर ३ जना कर्मचारी आईपुगे । तीमध्ये १ जना त उसकै सेवनकर्ता साथि रहेछन्, उसलाई देखेर जेम्स एक पटक मुसुक्क हांस्यो । ‘अब फेरी रिल्याप्स नहुने गरी सुध्रेर आउनु बाबु, यो रोगको अन्य औषधी रहेनछ’ भन्दै सम्झाए, बाबुआमा मलिन अनुहार लगाउदै राम्रोसंग ख्याल राख्नु बाबुहरु, हामीले सकेनौं अब भन्दै उसलाई चाहिने कपडा र केही रकम ति कर्मचारीलाई दिएर पठाए ।





