पर्वत – कोरोना संक्रमण जोखिमका कारण भौतिक रुपमा स्कुलहरु खुल्न सकेका छैनन् । इन्टरनेट र प्रविधिको पहुँच रहेको ठाउँमा वैकल्पिक माध्यमबाट पढाइ भइरहेको छ । तर, कतिपय ग्रामीण भेगमा भने त्यो सुविधा छैन ।
यही परिवेशबीच कोभिड–१९ को दोस्रो लहरका कारण शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको भन्दै पर्वतको मोदी गाउँपालिकाले स्थानीय तह भित्रका सबै विद्यालयहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।कोभिड–१९ को संवेदनशीलतालाई ध्यानमा राख्दै गाउँपालिकाले तोकेका तीन वटा सर्तहरू पालना गरी विद्यालय सामुदायिक तथा निजी सबै विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्न भनिएको छ ।
गाउँपालिकाले तोकेका सर्तहरूमा विद्यालय सञ्चालन गर्दा विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिसँग समेत पूर्ण रूपमा समन्वय गर्ने, विद्यालयहरूमा कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अवलम्बन गर्ने र कक्षा शिक्षकले विद्यार्थीको स्वास्थ्य परिस्थितिबारेप्रत्येक दिन प्रधानाध्यापकलाई जानकारी गराउने र कुनै स्वास्थ्य समस्या आएमा गाउँपालिकालाई जानकारी दिनुपर्ने उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले गाउँ कार्यपालिकाको बैठकमा मोदीाम कोरोना जोखिम कम रहेको र लामो समय पठनपाठन बन्द हुँदा ठूलो क्षति पुगेकाले उक्त क्षति रोक्न स्कुल खोल्ने निर्णय गरेको जानकारी दिए ।
‘मोदी गाउँपालिकामा सबैजसो ठाउँहरू ग्रामीण छन् । सबै ठाउँमा नेटको पहुँच छैन, सबै ठाउँमा वैकल्पिक सिकाइसहजीकरण विधिको पालना पनि भएन होला! सुरक्षा सतर्कता सहित विद्यालय खोल्ने र समस्या आएमा तत्कालै बन्द गर्न पनि सकिने गरी विद्यालय खुलाउन भनिएको छ,’ उनले भने । गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमका अनुसार मोदीमा ५८ वटा विद्यालयमा करिब५ हजार विद्यार्थी अध्ययनरत छन ।
२ नगरपालिका र ५ गाउँपालिका रहेको पर्वतका अन्य स्थानीय तहहरूले भने विद्यालय खोल्नेबारे आधिकारिक निर्देशन दिएका छैनन्। तर संक्रमणको अवस्था नियन्त्रित रहेको, विद्यार्थीको संख्या न्यून रहेको, जनसंख्या पातलो रहेको, अनलाइन कक्षा सञ्चालन गर्न प्रविधिको पहुँच नरहेको लगायतका ठाउँका विद्यालयहरू भने बार र कक्षाको पालो अनुसार फाटफुट रूपमा चलिरहेका छन् ।





