४ जना यात्रीहरु अन्तरिक्षको भ्रमणपछि आज पृथ्वीमा फर्कँदैछन् । इन्स्पिरेशन फोर कार्यक्रमलाई स्पेसएक्सबाट खरिद गर्ने र ३ जना प्रेरणादायी व्यक्तिलाई पनि आफूसँगै लैजाने ३८ वर्षीय ज्यारेड आइज्याकम्यानको कुरा पछि गरौंला। क्रेडिट कार्डबाट रकम तिर्ने प्रणाली विकास गरेर मनग्गे कमाएका उनले बाँकी ३ सिट प्रेरणादायी व्यक्तिलाई दिने घोषणा गरे । तीमध्ये बाल्यकालमै हड्डीको क्यान्सरलाई पराजीत गरेकी २९ वर्षीया हेली एर्सेनो (जो पछि त्यही स्वास्थ्य केन्द्रमा कामको लागि गइन् ),५१ वर्षीया डाक्टर सायन प्रोक्टर,अमेरिकी एयरफोर्सका अवकाशप्राप्त अधिकारी ४२ वर्षीय क्रिश सम्ब्रोस्की रहेका छन् । स्पेसएक्स रकेट कम्पनीको ‘ड्रयागन क्याप्सुल’मा सवार भएर उनीहरुले इतिहास रचेका छन् । किनकि,उनीहरु गैरपेशेवर अन्तरिक्ष यात्रीहरु हुन् । इन्स्पिरेशन फोर अभियानअन्तर्गत उनीहरुले पृथ्वी कक्षको भ्रमण गरेपछिको अनुभूति कसरी व्यक्त गर्लान् यो फरक कुरा हो ।
तर, मान्छेलाई अन्तरिक्ष भ्रमण गराउने स्पेसएक्सका मालिक चाहिँ यतिबेला चर्चामा छन् । विश्वका धनाढ्यमध्येका एक एलन मस्क नेपाली परम्परा अनुसार अझै युवा नै छन् । सन् १९७१ को मे २८ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका एलन मस्कले भौतिकशास्त्र र वाणिज्य शास्त्रमा स्नातक गरेका छन् भने उनका पिता इञ्जिनियर र माता क्यानडाकी मोडल थिए । भनिन्छ, उनले १२ वर्षको उमेरमै कम्प्युटरको कोडिङ सिकेका थिए । ब्लास्टर नामक भिडियो गेम बनाएर उनले त्यही बेला ५ सय डलर पुरस्कार पाएका थिए । अनिवार्य सेनामा भर्ती हुनुपर्ने बाध्यता छल्ल उनी दक्षिण अफ्रिकाबाट क्यानडा हानिए ।
सोही समयमा उनले जिप २ नामक कम्पनी स्थापना गरे । सो कम्पनीले अनलाइन पब्लिसिङ सफ्टवेयर बनाउँथ्यो । त्यसले न्यूयोर्क टाइम्स र सिकागो ट्रिब्यूनको लागि अनलाइन सामग्री बनाउँथ्यो । ३० वर्षको उमेरतिर उनले सो कम्पनी ३ सय मिलियन डलरमा नामी कम्प्युटर कम्पनी कम्प्याक्टलाई बेचे र एकाएक अरबपति बने ।
मस्कले एउटा देशबाट अर्को देशसम्म पैसा पु¥याउने सफ्टवेयर पेपाल कम्पनी सुरु गरे । एक्सडटकमले निर्माण गरेको पेपाललाई उनले इबेलाई १.५ बिलियन डलरमा बेचे । यो कम्पनीमा उनको भाइको पनि लगानी थियो ।
सन् २००२ मा उनले स्पेसएक्स कम्पनी स्थापना गरे भने लगत्तै सन् २००४ मा विजृुलीबाट चल्ने गाडी उत्पादक कम्पनी टेस्लाको स्थापना गरे । खासमा उनी सन् २००२ तिर रकेट किन्न रुस गएका थिए । रकेटको मूल्य ८ सय मिलियन भनिएपछि उनी आफै रकेट बनाउन कस्सिए र स्पेसएक्सको निर्माणमा लागे । अहिले उनी नासाले अन्तरिक्षमा पठाएको रकेट खरिद गर्छन् र कम मूल्यमा व्यावसायिक रकेट निर्माण गर्छन् । उनले बनाएको रकेटको ३ पटक परीक्षण उडान हुन सकेन तर उनले हरेश खाएनन् । यही कारणले उनले अहिले अन्तरिक्षमा पर्यटक पठाउने काममा सफलता पाएका छन् । सन् २००३ मा विद्युतीय कार टेस्ला कम्पनीको स्थापना गरे । उनले कुनै समय टेस्ला गुगललाई बेच्ने प्रस्ताव पनि गरेका थिए । तर, टेस्लामा गुगलले रुचि देखाएन । आज टेस्ला संसारकै राम्रो कारमध्ये एक गनिन्छ ।
यसैगरी उनीसँग द बोरिङ,सोलार सिटी,न्यूरालिङ नामक कम्पनी पनि रहेका छन् । द बोरिङ्ग कम्पनीले सुरुङ्ग र सोलार सिटी कम्पनीले सोलार इनर्जीमा काम गर्छ । उनको कम्पनीले तीव्र गतिको चुम्बकीय रेल पनि बनाउँदैछ ।न्यूरालिङ्क कम्पनीले भने मानिसको मस्तिष्कमा लगाउने कम्प्युटर चिप बनाउँदै छ । मानिसको दिमागलाई कम्प्युटरसँग जोड्ने चिप्स बनाउने उनको घोषणा छ । खासमा यसले अल्जाइमर्स जस्ता रोगको उपचार खोजिरहेको छ । १९७ मिलियन अमेरिकी डलर सम्पत्तिका साथ उनी अमेरिकाको लस एञ्जेलसमा बस्छन् । ३ पटक बिहे गरेका उनका ७ सन्तान छन् ।
सामान्य व्यक्तिको जस्तै उनको बाल्यकाल खासै सुखद थिएन । पैसाकै अभावमा उनी हटडग वा पास्ता खाएर भोक मेटाउँथे । आइरन म्यानको उपाधि पाएका उनलाई स्कूलमा साथीहरुले पनि उत्तिकै दुःख दिन्थे रे । एक साथीको पिटाइपछि उनी अस्पताल नै गए र पछि उनले मार्सल आर्टस् र कुस्ती पनि सिके । कलेजका दिनमा उनी दैनिक १ डलरले काम चलाउँथे । उनै मस्क अहिले अहिले टेस्ला मोटर्सबाट दैनिक एक डलर मात्रै तलब लिन्छन् । उनले आफू को हुँ भन्ने प्रश्नको उत्तर आफै दिँदै भनेका छन्,‘म एक एलियन हुँ ।’ एलियनको अस्तित्वबारे अनेकौं अनुमान छन् तर मंगल ग्रहमा बस्ती बसाउने सपना देख्ने मान्छे, सायद एलियनजस्तै छन् ।





