पहिलोपटक लजाउँदा
तिम्रो गालाले देखेको लाजको सिन्दुरे सपना
सायद म थिएँ ।
आफैले हेरेर ऐनामा आफूलाई
आफै दंग हुने समयको खामभित्र
पहिलोपटक तिमीले पढेको
यौवनको प्रेमपत्र
शायद मेरो थियो ।
पूर्णिमाको प्रेमरातमा
चन्द्रामाले चन्द्रमा नै भुलेर
ताराहरु गन्दागन्दै
अनायास आँखामा आएको पहिलो चेहरा
सायद मेरो थियो ।
तिम्रा आँखाहरुले पर्खेको पहिलो बाटो
सायद म थिएँ ।
तिमीलाई पहिलोपल्ट काउकुती लगाउने बतासको स्पर्स
सायद मेरो थियो ।
आफुले आफैलाई अङगाल्दाको न्यानो घाम र
गोधुलीबाट तिमीतिरै आइरहेको कुनै अस्पस्ट आकृति पनि
सायद मेरो नै थियो ।
टुकिको मधुरो प्रकासमा
तिमीले हेरिरहँदा पर्ने इन्द्रेणी
अर्थोक सोच्दासोच्दै ओठबाट फुस्केको गुलाफी मुस्कान
कापीका पानाहरुमा पटक–पटक लेखिएको कुनै नामको पहिलो अक्षर
किताबको पत्रमा राखिएको मजुरको प्वाँख
अतिरिक्त किनिएको चाइनिज फुल्टीन
यी सबै सबैमा सायद म नै थिएँ ।
प्रिय,
कसरी छिर्थथ्यो अनुभूतिको एक टुक्रा घाम ?
नबोलेरै, नदेखेरै, नछोएरै पनि
जलिरहन्थ्यो हाम्रो प्रेमको दियो ।
हर एक नायकको अवसान हुन्छ भनेझै
यी सब कुराहरु मेरो अवसान अघिका हुन् ।
सिन्दुरको आगो लाग्नु अघिसम्म
तिम्रो नजरको महानायक
सायद म नै थिएँ ।
केही अनुत्तरित प्रश्नहरुसहित
अचेल सम्झिरहन्छु यी सबथोक
र, सोच्छु
किन छोटो हुन्छ, प्रेमको आयू ?
प्रेमको मृत्यु हुँदाकै दिनदेखि जन्मेको छ सम्झना
अहिले बाँचिरहेछु म यही सम्झनाको आयू ।
बडो कठिन हुँदोरहेछ, सम्झनाको आयू ।
के तिमीलाई थाहा छ ?
कहिले हुन्छ, सम्झनाको मृत्यु ?
कति हुन्छ, यादहरुको आयू ?





