बागलुङ/ धवलागिरि बहुमुखी क्याम्पसमा प्रमुख रामप्रसाद उपाध्यायले साहित्य भनेको हिजो, आज र भोली सम्म सत्य रहने बताएका छन् ।
उनले साहित्यबाट समाजको बिकास क्रम समेत बुझ्न सकिने बताए । धवलागिरि साहित्य प्रतिष्ठानको ३७ औं स्थापना दिवशको अबसरमा बोल्दै उपाध्यायले समाजको यथार्थ बिम्ब भेट्नकालागि साहित्य पढ्नुपर्ने धारणा राखे ।
सयौं बर्षअघिको समाज कस्तो थियो, अहिले के परिवर्तन भयो भन्ने जान्नका लागि साहित्य क्षेत्रको अध्ययनबाट छुट्टयाउन सकिने उनको धारणा छ । ‘साहित्य हिजो पनि सत्य थियो, भोली पनि सत्य हुन्छ’ उनले भने, ‘समाजमा भएका हरेक गतिविधिलाई यथार्थमा संग्रह गर्ने काम साहित्य हो ।’ उनले साहित्यकार काजी रोशनले पनि बागलुङको समाजको सत्यता उजागर गरेको भन्दै प्रशंसा पनि गरे ।
२०४१ सालमा स्थापना भएको प्रतिष्ठानले हरेक बर्ष साहित्यिक गतिविधि संचालन गर्दै आएको छ । साथै, विभिन्न दिवश, पुरस्कार बितरण जस्ता कार्यक्रम गर्दै आएको छ । शुक्रबारै उक्त कार्यक्रममा साहित्यकार काजी रोशनको लेखेको ‘मेरा हलपल’ नामक कृति पनि बिमोचन भएको छ । उक्त कृतिमा रोशनले लामो समयसम्मको स्मरण गर्दै भेटेका व्यक्तित्व र उनीहरुले दिएका प्रतिक्रियालाई संग्रहित गरेका छन् । प्रतिष्ठानले दर्जनौ कृति समेत प्रकाशित गरेको छ ।
प्रतिष्ठानकै अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र बोर्ड सदस्य श्याम श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा सहप्राध्यापक हरिप्रसाद गौतम, उपप्राध्यापक हरिप्रसाद पाण्डेय, पत्रकार महासंघका सचिव बिजय राना र साहित्यकार मेघराज पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





