बागलुङ/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ । धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् ।
घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मतिबाट नै नेतृत्व छनोट भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ ।
घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकाको सभापतिमा छेवाङ झिम्मी बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेन्डुप गुरुङ, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ र थासाङ गाउँपालिकाको सभापतिमा रुपेश गौचन चयन भएका छन् ।





