आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बजारमा पराजुलीको ‘मिथ्या’

बजारमा पराजुलीको ‘मिथ्या’


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

पोखरा/ लेखक दीपक पराजुलीको नवीनतम् उपन्यास मिथ्या सार्वजनिक भएको छ । लेखक सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षा लगायतले उक्त कृति शुक्रबार पोखरामा सार्वजनिक गरेका हुन् र
पुस्तक सार्वजनिक गर्दै वक्ता कवि प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको समीक्षा गरिन् । ‘प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले बिम्बात्मक ढंगले प्रस्तुत गरेको छ,’ उनले भनिन् । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने सम्भावना पनि रहेको उनले उल्लेख गरिन् ।
अर्का वक्ता साहित्यकार गनेस पौडेलले मिथ्याको पात्रले समाजका विभिन्न आयामहरुलाई खोज्ने र भेट्ने बताए । उनले पात्रले अतित, वर्तमान र भविष्यलाई भेट्दै अन्तिममा आफैंलाई ऐनामा भेट्ने प्रसंग वरिपरि कथा घुमेको समीक्षा गरे ।
कवि तथा लेखक तीर्थ श्रेष्ठले पोखराले उपन्यास विधामा लामो यात्रा पार गर्दै यहाँसम्म आइपुगेको बताए । उनले पण्डित मुक्तिनाथ शर्मादेखि पोखरामा उपन्यास लेखन सुरु भएर नयाँ पुस्ता दीपक पराजुलीसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरेको बताए ।

साहित्यकार तथा नाट्यकार सरुझक्तले आफूले लेखक पराजुलीलाई यसअघि नाटककारका रुपमा चिने पनि लेखकका रुपमा पनि उत्तिकै अब्बल रहेको सुनाए । श्वैरकल्पनामा आधारित मिथ्या उपन्यासको प्रकाशन बुकहिल पब्लिकेसनले गरेको हो ।

पब्लिकेसनका भूपेन्द्र खड्काले पोखरा कलाले धनी रहेको र आफूले पोखरेली लेखकलाई प्रकाशन गर्न पाउँदा गौरवान्वित भएको सुनाए । ‘ढिलै भए पनि एक प्रतिभावान लेखकलाई प्रकाशन गर्ने मौका पाएका छौं । पोखराको साहित्यलाई फैलाउन यसले अझै महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ,’ उनले भने ।
२ वर्षअघि नै प्रकाशन हुनुपर्ने उक्त कृति कोरोना महामारीलगायत विविध कारणवश ढिलाइ हुन पुगेको खड्काले जानकारी दिए । उपन्यासका लेखक पराजुलीले आफूले पुस्तकलाई उत्कृष्ट बनाउन सक्दो प्रयास गरेको दाबी गरेका छन् । पराजुलीले यसअघि पोखरा थियटरमा यो कस्तो महाभारत ? नामक नाटक मञ्चन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->