कान्छीदिदी भान्जीहरूसाथ मलाई टीका लगाउन पाइन्छ भनेर आउनुभएको थियो । पाउनुभएन । फर्केर जानुभयो ।
नलिनी दिदीकहाँबाट आज मलाई भाइटीकाको प्रसाद र भाग आयो । बडो स्नेहसाथ त्यसलाई मैले ग्रहण गरें । दिदीबहिनीको मायामा एउटा कोमलता हुन्छ अरू किसिमको मायामा हुने जटिलता हुँदैन, एकदम सरल । विराटनगरमा इन्दिराले मलाई सम्झिहोलिन्, नलिनी र नूतन दिदीले पनि । बुनूको अर्कै भिन्न सामाजिक वातावरण भएको छ– आजको दिन रोममा उसलाई सम्झना भयो कि भएन होला ? मैले दिदीबहिनीको ठूलो स्नेहको उष्णताको सदैव अनुभव गरेको छु । निश्चल र निष्कपट स्नेहसिक्त आशीर्वादको कुनै अदृश्य प्रभाव हुन्छ भने उनीहरूको स्नेहको कल्याण–कवचले म रक्षित छु । आज म झ्यालखानमा छु, दैत्यले घेरिएको बन्दी । मेरो वर्तमान स्थितिमा उनीहरूको मप्रतिको स्नेह हृदयमा झन् गहिरो तलबाट आज उम्लियो होला । भावनाको भौतिक क्षेत्रमा कुनै ठोस परिणाम दिने क्रियात्मक नहोला सही तर आत्मिक सन्तोष र गहिरो अनुभवमा मात्र प्राप्त हुने हार्दिक आनन्द यसको आफ्नो सामथ्र्यको कुरा हो ।
( २०१९ को भाइटीकाको दिनमा खिखित ःजेल जर्नल पृ.६०)
आज अमावस्या हो, दीपावलीको अमरात्रि । घर—घरमे दिवाली है मेरे घरमें अंधेरा भन्ने विरही गीतको बोल मनमा उठिरहन्छ ।
भाइटीकाको दिन आज । कान्छी दिदी भान्जीहरूसाथ मलाई टीका लगाउन पाइन्छ भनेर आउनुभएको थियो । पाउनुभएन । फर्केर जानुभयो । टीका र खाने सामान मकहाँ पठाइदिनुुभयो । जर्नेलले पोहोर साल टीका लगाउने दिदीबहिनीहरू भए पाइन्छ भनेर टीकाकै दिन मलाई खबर गरेर कहाँबाट दिदीबहिनीहरू आउँथे । त्यसो हुनाले यसपालि पनि पाइन्छ भनेर पहिले जर्नेललाई दसैंको दिन भनेको थिएँ कि पाउने–नपाउने सूचना समयमा नै हाम्रो घरवालाहरूकहाँ पठाउन लगाइदिनुहोला । आमाले पनि जर्नेललाई भनेको थियो र कान्छी दिदीलाई पनि पाइन्न भन्ने सूचना नपाएकाले टीका भनेर आउनुभयो । मलाई आज बडो ठूलो निरादर भएको भावना भयो । समयमा सूचना नदिनु र त्यसपछि मैले आज जर्नेललाई सोध्दा सीएनसीबाट अर्डर नआएकाले भनी उत्तर दिनू । मलाई लाग्यो हाम्राप्रति बडो निरादारको व्यवहार हो । ममा तीव्र प्रतिहिंसाको भावना जागृत भएको छ । लाग्छ– मौकामा बदला लिन पर्खनुपर्छ मैले । मदालसाले मलाई एकचोटि भनेकी थिइन् कि इख नभएको मानिसले राजनीति गर्न हुन्न । आज त्यो वाक्यलाई झल्ल सम्झें । इख नभएको मानिस, विष नभएको सर्प काम लाग्दैन भन्छन् । नारदको सर्पको सम्झना भो मलाई ।
(२०२० कात्तिक ३० गते ः जेल जर्नल पृ.१५३ )





