बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पक्की भवनमा सरे मुस्ताङका दुई प्रहरी चौकी

पक्की भवनमा सरे मुस्ताङका दुई प्रहरी चौकी


  • संजय रेग्मी
  • मंसिर ६ २०७८, सोमबार

पर्वत – म्याग्दी र मुस्ताङको सिमानामा रहेको घासामा रहेको प्रहरी चौकीमा बस्दै आएका प्रहरीलाई नागरिकको सुरक्षादेखि यातायात, चेकजाँच लगायतका कुरामा भ्याइनभ्याई हुन्छ । मुस्ताङमा धार्मिक तथा घुम्ने पर्यटकहरूको चाप निकै हुने भएका कारण पनि त्यहाँका प्रहरीको मेहनत बढी नै हुन्छ ।

नागरिकको सुरक्षाको लागि चौकीमा बस्दै आएका प्रहरी जीर्ण अवस्थामा रहेका भवन तथा छाप्रामा बस्नुपर्दा सास्ती हुने गरेको थियो । अब भने घासामा ड्युटी गरेर बस्ने प्रहरी समस्याग्रस्त अवस्थामा रहनुपर्ने छैन । संघीय सरकारबाट रकम विनियोजन भएपछि घासामा बनाइएको नयाँ भवनको शनिबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले नयाँ बनेको पक्की भवनको उद्घाटन गरेका हुन् ।

डिआइजी लोहनीले घासाको भवन सहित जिल्ला प्रहरी कार्यालय मुस्ताङको नयाँ कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन र सीमा प्रहरी चौकी लोमान्थाङको पनि उद्घाटन गरेका छन् । निर्माण सम्पन्न भएका उक्त भवनहरूमा कार्यालय भवन, मेष, ब्यारेक, शौचालय, पुरुष र महिलाको लागि अलग–अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सा घरको निर्माण भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
भवन उद्घाटनको अवसरमा सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक लोहनीले शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

मुस्ताङ प्रहरीका लागि भौतिक संरचना निर्माण भएसँगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा इकाइमध्ये दुईवटा इकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । उत्तरी छिमेकी देश चीनसँग सिमाना जोडिएको लोमान्थाङ सीमा प्रहरी चौकी, प्रहरी चौकी घासा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिनाई हुने गरेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी इकाईहरू मध्य १४ वटा प्रहरी इकाईहरूले अझै पनि पुराना जीर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->