पोखरा/ पोखरा थिएटरको आयोजनामा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महोत्सव आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिनेछ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागीता रहने अपेक्षा गरिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘महोत्सवमा सहभागीताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्नेछ’,उनले भने ।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालय स्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरिएको थियो ।
महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।
कथावस्तुको अध्ययनपछि केही सीमित नाटक दोस्रो चरणकोलागि छनोट गरिने आयोजकको भनाई छ । दोस्रो चरणमा छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन रहेका छन् । महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । यतिबेला पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक चरणदास चोर मञ्चन भैरहेको छ । रेनेसा थिएटरको प्रस्तुती तथा पोखरा थिएटरको सहकार्यमा मंसिर १ गतेबाट मञ्चन सुरु भएको यस नाटकको मञ्चन मंसिर १४ गतेसम्म निरन्तर हुनेछ ।





