आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कालीगण्डकीबारे सरुभक्तका चार मुक्तक

कालीगण्डकीबारे सरुभक्तका चार मुक्तक


  • सरुभक्त
  • मंसिर ११ २०७८, शनिबार

(१)
अप्रतीम उर्जाहरूको तीर्थधाम हो कालीगण्डकी
सुरक्षित पर्यावरणको बन्द खाम हो कालीगण्डकी
तिमी त्यसलाई अपहरणको भद्दा प्रयास नगर
एउटा अक्षत सुन्दरताको नाम हो कालीगण्डकी ।

(२)
आत्मिक सिर्जनाहरूको सृष्टिधाम हो कालीगण्डकी
सद्धर्म आस्था र विश्वासको बन्दखाम हो कालीगण्डकी
युगौंदेखिको प्रवाहलाई तिमी गन्तव्यमा बग्न देऊ
एउटा प्राकृत इतिहासको नाम हो कालीगण्डकी ।

(३)
हिमालभन्दा पनि जेठो शाश्वत धाम हो कालीगण्डकी
जीवन फुल्ने मातृत्वको बन्द खाम हो कालीगण्डकी
शालिग्रामलाई तिमी मात्र पत्थर सम्झ वा भगवान्
एउटा विराट सभ्यताको नाम हो कालीगण्डकी ।

(४)
सन्ततिका लागि भविष्य धाम हो कालीगण्डकी
सजलतामा प्रेरणाको बन्द खाम हो कालीगण्डकी
तिमी त्यसलाई बेनाम अस्तित्वको खहरे नसम्झ
एउटा उज्ज्वल भविष्यको नाम हो कालीगण्डकी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->