आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कसैले नपढे पनि हुन्छ ‘म अनि मेरो’

कसैले नपढे पनि हुन्छ ‘म अनि मेरो’


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

पोखरा/ काठमाडौंका उमेश थापा इञ्जिनियरिङ अध्यन गर्न पोखरा आए । गरीब परिवारमा जन्मिएका उमेशले पोखराका धनि परिवारकी कविता गुरुङसँग विवाह प्रेम विवाह गरे । उमेश–कविताका जोडीले आफ्नो वास्तविक कथा बताउन नेपाली चलचित्र ‘बबी’ बनाए । चलचित्रमा उनीहरु आफैले अभिनय गरे । वास्तविक कथामा वास्तविक पात्र पर्दामा उतार्दा पनि चलचित्रले जीवनका सबै कथा बताउन सकेन ।

कोरोना भाइरसको महामारीले विश्वव्यापी लकडाउन थियो । उमेश र कविता पनि लकडाउनको शिकार बने । नर्वेमा बस्दै आएका उमेशले घरमै बसेर अफिसको काम गरे । कविताले भने काम गर्न पाइनन् । उनले नर्वेमा ‘क्यान्टिन’मा काम गर्थिन् । घरमा बसेर क्यान्टिनको काम गर्न मिलेन ।

कविताको मनमा अनेक भावना खेल्न थाल्यो । दिनभर टेलिभिजन हेरेर दिन बताउन थालिन् । बाल्कालदेखि प्रेम, विवाह, अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पारिवारिक र सामाजिक बहिष्कारका अनेक पाटाहरु लकडाउनका फुर्सदमा खेल्न थाल्यो ।

कविताले मनको बह आइप्याडमा लेख्न थालिन् । त्यसो त उनले बह लेख्नुअघि पनि कहिलेकाँहि ब्लग लेख्थिन् । लकडाउनअघि लेख्नु त के अरुले लेखेको पनि पढ्थिनन् । मनको बह लेख्दालेख्दै उनले एउटा पुस्तक नै तयार पारिन्, २ महिनाअघि नेपाल आएकी कविताले ‘म अनि मेरो’ शीर्षकमा पुस्तक प्रकाशित गरिन् ।

‘मेरो पुस्तक कसैले पढिदेओस् भनेर लेखेको होइन, मनमा खेलेका कुराहरु लेखेको थिए, नेपाल आउँदा त्यसैलाई प्रकाशन गरेको हो’,उनले भनिन् ।
मनको बह लेखेर श्रीमान उमेशलाई देखाइन् । साथीहरुलाई पढ्न दिइन् । श्रीमान र साथीहरुले नै राम्रो लेख्यौ भनेकै भरमा उनले पुस्तक लेखेको बताइन् । पुस्तक लेखेपछि नर्वेबाटै उनले चिनजानका सम्पादक राखेकी थिइन् । उनको कथा पूरै सम्पादन गरेको देखेपछि उनले आफ्नै शब्द राख्न कर गरेको बताइन् ।

‘मैले लेखेको आप्mनो कथा त पुरै सम्पादन भएछ’, उनले भनिन्, ‘त्यसपछि मैले नै यो हुँदैन, मैले लेखेकै शब्द राख्नुपर्छ, पुस्तकका सबै शब्द मेरा नै हुन् ।’ पुस्तकका प्रकाशक आफै रहेकी कविताले १ हजार प्रति छापेको बताइन् । पुस्तक छाप्न करिब ६ लाख लागेको भन्दै उनले पुस्तकमा रिस उठ्दा कुरा पनि लेखेको बताइन् ।

‘मेरो आफन्तले किताब पढ्नुभयो भने पक्कै रिसाउनुहुन्छ, किनकि मैले यसमा रिस उठ्दा कुरा पनि लेखेको छु’, उनले भनिन्, ‘रिसाउनुभयो भने पनि ठीकै छ ।’

चलचित्रमा नायिका बनेकी कविता आफू नायिका वा लेखक दुबै नभएको बताइन् । आफ्नो कथा भन्न फिल्ममा आफै देखिएको भन्दै उनले नायिका बन्न फिल्म नखेलेको जिकिर गरिन् । यस्तै, पुस्तकमा पनि आफ्नो मनका कुरा मात्र लेखेको भन्दै लेखक बन्न नलेखेको दाबी गरिन् । पुस्तक लेख्ने क्रममा कहिलेकाहिँ एकैदिन लामो समय फोनप्याडमा लेखिरहेको र कहिलेकांही दुइहप्तासम्म केही लेख्न नसकेको बताइन् ।

फिल्म हेरेका केही दर्शकले संघर्षबाट सफलता मिल्ने प्रेरणा पाएको प्रतिक्रिया आफुलाई दिने गरेको कविताले बताइन् । चलचित्र पत्रकार संघ कास्कीले पुस्तकका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा कविताले अब उमेशको वास्तविक कहानीमा आधारित फिल्म बनाउन चाहेको बताइन् । इञ्जिनियरिङ अध्यन गर्न नर्वे पुगेका उमेश अहिले त्यहीं एउटा कम्पनीको म्यानेजर छन् ।

आफ्नै जीवनका कथा लिएर फिल्म र पुस्तक ल्याएकी कविताले फिल्ममा भन्दा पुस्तकमा वास्तविक कथा रहेको दाबी गरिन् । ‘फिल्ममा निर्देशकले अलिअलि मसला राखिदिनुभएको छ, पुस्तकमा विशुद्ध वास्तविक कुरा लेखेको छु’, उनले भनिन्, ‘पुस्तकमा केही मसला छैन, सबै यथार्थ कुरा मात्र छन् ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->