आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘घरजग्गा दिन्छौं, सरकारले संग्राहालय बनाओस्’

‘घरजग्गा दिन्छौं, सरकारले संग्राहालय बनाओस्’

‘अहिले पनि बुबाले गाउनुभएका कतिपय गीत भारतको कलकत्ता र रेडियो नेपालमा होलान्, हामीले खोज्दा जाँदा रेडियो नेपालले दिएन, भारत गएर खोज्न सकेनौं ।’


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७८, बिहिबार
????????????????????????????????????

पोखरा\जनकवि केशरी धर्मराज थापाले पोखराको बाटुलेचौरमा बनाएको घर अहिले पनि उही स्वरुपमा छ । जहाँ कुनै बेला नेपाली साहित्यका अग्ला व्यक्तित्व पोखरा झर्दा बास बस्न पुग्थे । यो घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, योगी नरहरीनाथ, भवानी भिक्षु, बालकृष्ण सम, भिमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे लगायत पटकपटक बसेका छन् ।
२०११ सालमा बनाएको घरका झ्याल ढोकाका केही खाँबा र काठ फेरिएका छन् । आँगनमा ढुंगा बिच्छ्याइएको छ । पिँढी र भित्तामा प्लास्टर गरिए पनि पुरानो झल्को मर्न दिएको छैन । नेपाली मौलिक लोक साहित्य र लोकगीतका प्रतिभा धर्मराजका परिवार उनका योगदानलाई संग्राहालय बनाएर जीवन्त राख्न चाहन्छन् ।
उक्त घरजग्गामा संग्रहालय बनाउन धर्मराजले बनाएको घर र ४ रोपनी बढी जमिन दिन तयार रहेको धर्मराजका जेठा छोरा मदनराजले बताए । यसका लागि उनीहरुले संस्कृति विभागलाई पत्राचारसमेत गरिसकेका छन् । ‘नेपाली लोकगीत र साहित्यमा बुबाको योगदान जीवन्त राख्न हामीले सरकारलाई घर र जग्गा दिन पत्राचार गरेका छौं,’ मदनराजले भने, ‘अहिलेसम्म सरकारले जवाफ दिएको छैन ।’
सरकारले संग्राहालय बनाउन चाहेन भने पनि परिवारको तर्फबाट संग्राहालय बनाउने उनले बताए । स्वास्थ्य प्रशासनमा सरकारी जागिरबाट अवकाश पाएका मदनराज अहिले बुबा–आमाको स्मृतिमा खोलिएको ‘धर्मराज–सावित्री थापा प्रतिष्ठान’का अध्यक्ष छन् । प्रतिष्ठानमा उनका परिवारका सदस्य र केही बाहिरका मानिस छन् ।
परिवार, समुदाय र सरकारी लगानीबाट संग्राहालय बनाएर प्रदेश वा केन्द्रीय सरकारलाई जिम्मा लगाउने आफ्नो धोको रहेको मदनराजले बताए । बुबाले बनाएको घर र पैतृक जग्गा सरकारलाई बुझाउँदा उनीहरुले अर्को चासो राखेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले लिएर संग्राहालय बनाउँदा पुरानो घर भत्काएकोमा उनीहरुको आपत्ति छ । ‘बुबाले बनाउनुभएको घर हामीले अहिलेसम्म उही स्वरुपमा राखेका छौं, भत्काएका छैनौं,’ मदनराजले भने, ‘महाकविको घरझैं यो घर सरकारले भत्काउन हुँदैन ।’
तीन दाजुभाइ र २ जना दिदीबहिनी रहेका मदनराजको परवारले अंशबण्डा गर्दा घर माइला भाइ कुञ्जराज थापाको भागमा परेको छ । बुबाको घर संरक्षण गर्ने भनेर नै अंशबण्डा गर्दा घर र वरीपरीका जमिनजस्ताको तस्तै राखिएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयमा ३३ वर्ष अर्थशास्त्रका प्राध्यापक रहेका कुञ्जराज थापा पनि बुबाको स्मृति ताजा बनाइराख्न सरकारले स्वामित्व लियोस् भन्ने चाहना राख्छन् । तर, सकारी पक्षबाट कुनै चासो नहुँदा परिवारले नै धर्मराज र उनका कृतिको सोधखोज गरिरहेको उनले बताए ।
‘अहिले पनि बुबाले गाउनुभएका कतिपय गीत भारतको कलकत्ता र रेडियो नेपालमा होलान्,’ उनले भने, ‘हामीले खोज्दा जाँदा रेडियो नेपालले दिएन, भारत गएर खोज्न सकेनौं ।’ धर्मराजका कृति र गीत जीवन्त राख्न पनि अब सरकारले नै स्वामित्व लिनुपर्ने उनको भनाइ छ ।
विक्रम संवत् १९८१ साउन १ गते जन्मिएका धर्मराजको निधन २०७१ असोज २८ मा भएको थियो । उनको ‘हरियो डाँडा माथि, हलो जोत्ने साथी’, ‘हाम्रा तेञ्जिङ शेर्पाले, चढ्यो हिमाल टाकुरा’ लगायत गीत प्रख्यात छ । दुई दर्जन बढी साहित्यिक कृति प्रकाशित धर्मराजका ‘मंगली कुसुम’ नामक कृतिले २०२५ सालको मदन पुरस्कार पाएको थियो ।
लोकगीत र साहित्य मार्फत नेपाली भाषालाई सर्वस्विकार्य बनाउन भूमिका खेलेका धर्मराजका अधिकांश गीत र कविताहरु लोक लयमा रहेका छन् । नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान गरेको भन्दै २०५७ मा जगदम्बाश्री पुरस्कार पाएका धर्मराजले लेखेका अधिकांश कृति र गीत संगीत जागरण जगाउने खालका रहेका मदनराजको भनाई छ । उनका अनुसार धर्मराज देशव्यापी दौडाहामा लागेर नेपाली लोकगीत र साहित्यको उत्थानमा योगदान दिएका थिए ।
धर्मराजले लेखेका गीत र कविताले राष्ट्रियता मजबुत बनाउन र आम नागरिकलाई चेतनशील बनाउन भूमिका खलेको छोरा मदनराजको दाबी छ । ‘बुबाले लेख्नुभएका कविता र गाउनुभएको गीत लोक जीवनमा आधारित छन्,’ उनले भने, ‘उहाँले त्यो समयमा पनि प्रगतिशील र राष्ट्रिय भावनामा आधारित रचना गर्नुभयो ।’
नेपालका प्रगतिशील लेखक तथा साहित्यकारले भने धर्मराज थापा सधैं सत्ताको नजिक रहेको आरोप लगाउने गरेका छन् । राणाकालदेखि बहुदल हुँदै पञ्चायती व्यवस्थामा समेत तत्कालीन सरकारको नजिक रहेर धर्मराजले काम गरेको उनीहरुको आरोप छ । तर, धर्मराजका परिवार यो आरोप स्विकार गर्दैनन् । उनका कृति नै यसको जवाफ रहेको उनीहरुको दाबी छ ।
मदनराजका अनुसार राणा शासनविरुद्ध नेपाली कांग्रेसले गरेको विद्रोह २००७ सालमा राणासँग कांग्रेसले गरेको दिल्ली सम्झौताविरुद्ध धर्मराज उभिएका थिए । तत्कालीन प्रजा परिषदका अध्यक्ष डा. केआई सिंहको पार्टीमा लागेर दिल्ली सम्झौता धोका हो भन्दै धर्मराज अघि बढेको मदनराजले बताए ।
‘दिल्ली सम्झौता धोका हो भनेर केआई सिंहले हतियार उठाउँदा मेरो बुबा पनि उहासँगै लाग्नुभयो,’ मदनराजले भने, ‘त्यतिबेला बुबा ६ महिना जेल पर्नुभएको थियो ।’ पञ्चायतकालमा पनि शासकका विरुद्ध धर्मराजले गीत र कवितामार्फत प्रजातन्त्रका लागि आवाज उठाएको उनको दाबी छ ।
सरकारी स्तरबाट जनकवि केशरीको सम्झना गरिएको छैन । परिवारका तर्फबाट खोलिएको प्रतिष्ठानमार्फत २÷२ वर्षको अन्तरमा उनको सम्झना हुन्छ । यसवर्ष नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर ‘गण्डकी लोक सस्कृति र लोक जीवन विषयक विचार गोष्ठी आयोजना गरिएको छोरा मदनराजले बताए ।
गोष्ठीमा धर्मराजका जेठी छोरी वरिष्ठ गायिका ज्ञानु राणा, प्रज्ञा प्रतिष्ठानका कुलपति डा. जगमान गुरुङ लगायतले बोल्ने कार्यक्रम छ । धर्मराजका कान्छी छोरी पारु भट्ट र कान्छा छोरा मनमोहन मेमोरियल अस्पतालका प्राध्यापक डा. बुलन्द थापासहित परिवार र सार्वजनिक व्यक्तिहरुको उपस्थितिमा बुबाको स्मरण रहिरहने गरी योजना अघि सार्न खोजिएको मदनराजले बताए ।
‘हाम्रो चाहना बुबाको नाममा यही घर जग्गामा एउटा संग्राहालय बनाएर सरकारलाई हस्तान्तरण गर्ने हो,’ मदनराजले भने, ‘सरकारले चासो लिएको छैन, हामी हाम्रो तर्फबाट बनाएर भए पनि सरकारलाई बुझाउँछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->