एउटा स्याल गाउँमा गएर कुखरा खान पल्केको थियो । स्यालबाट कुखुरालाई जोगाउन गाउँलेहरूले मिलेर एउटा भोटे कुकुर पाले । भोटे कुकुर देखेर स्याल डरायो र केही दिन कुखुरा चोर्न जान छाड्यो । तर उसलाई कुखुराको मासु खाने बानी परिसकेको थियो । यसैले ऊ धेरै दिन चुप लागेर बस्न सकेन ।
एक दिन उसले कुकुरलाई जिस्क्याउँदै जंगलमा पु¥यायो र त्यहाँ उसले कुकुरलाई चराको मासु खान दियो । चराको मासु खान पाएर कुकुर खुसी भयो । पहिलो पटक चराको मासुको स्वाद पाउँदा उसलाई निक्कै मीठो लाग्यो ।
कुकुरलाई खुशी पारेपछि स्यालले भन्यो,‘हेर दाइ, हामी एउटै जातका हौँ । किन बैगुनी मान्छेको पछि लागेर मलाई दुःख दिन्छौ ? मान्छेको चाकडी गरेर तिमीले के पाउँछौ र ! उही एक मुठी जुठोपुरो त हो । कहिल्यै एक टुक्रा मासु दिन्छ ? मेरो कुरा मान्यौ भने मैले मारेको शिकारको आधा भाग तिमीलाई दिन्छु । अबदेखि म गाउँमा पस्दा मलाई केही नगर है ।’
कुकुरलाई स्यालको कुरा चित्त बुझ्यो । उसले गाउँबाट स्यालले जति वटा कुखुरा चोरे पनि त्यसको आधा आफूलाई दिने वाचा गरायो । त्यो दिनदेखि स्याल साँझ प¥यो कि गाउँमा पसेर कुखुरा चोर्न थाल्यो । स्याल गाउँको एकातिर जाँदा कुकुर अर्कोतिर गएर भुक्न थाल्यो र गाउँको निक्कै रखवारी गरेजस्तो गथ्र्यो । स्यालले पनि इमान्दारीसाथ आधा भाग मासु कुकुरलाई दिनै दिन्थ्यो । दिनहुँजसो मासु खान पाएर कुकुर मोटाउँदै र अल्छी हुँदै गयो ।स्याल र कुकुरको यो मितेरी बिचरा गाउँलेहरूले पत्तै पाउन सकेनन् । बरु, उनीहरूले एउटा कुकुरले पुगेन अरू दुईचार वटा कुकुर पाल्न प¥यो भन्ने सल्लाह गर्न थाले ।





