पोखरा/ पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव संयोजक समेत रहका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए ।
अब छनोटमा परेका नाटकहरुलाई १५ दिनको रिहर्सल (पूर्वाभ्यास) अवधि उपलब्ध गराइने छ । त्यस पछाडि छनोट कमिटिले नाटकको अवलोकन गर्ने छ । अवलोकन पछाडि १० नाटकलाई अन्तिम चरणमा छनोट गरिने आयोजकको तयारी छ । यसरी छनोट भएका नाटक आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।





