पृष्ठभूमि
बहालवाला शिक्षकका अतिरिक्त अवकाशप्राप्त शिक्षकहरु पनि संस्थागतरुपले गोलबन्ध हँुदै आइरहेका छन् । नेपाल निवृत्त शिक्षक समाज नामको संस्थाले राष्ट्रिय सञ्जाल तयार गर्ने सिलसिलामा म यही २०७८ मंसिर २० गते बागलुङ गएको थिएँ । बागलुङ बजारको शिवधारा चोकको शितल पार्टी प्यालेसमा शिक्षकहरुको भेलाको आयोजना गरिएको थियो । त्यस कार्यक्रममा ज्येष्ठतम् शिक्षक श्रीमेघराज पाण्डेले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो भने मैले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्ने अवसर प्राप्त गरेको थिएँ । सो कार्यक्रमको समापन पछि सभाको नायकत्व गर्नुभएका पाण्डेले मलाई आफूले रचना गर्नु भएको ‘कालीगण्डकी’ नामको छन्द कविता सङ्ग्रह दिँदै मलाई त्यस रचनामाथि समीक्षा गरिदिने अभिलाषा प्रकट गर्नुभयो । म त्यस्तो क्षमता राख्ने व्यक्ति नभएतापनि बारम्बारको आग्रहलाई टार्नु मेरा लागि असम्भवप्रायः जस्तै ठानेर उहाँको त्यो कृतिमाथि मेरो अभिमत प्रकट गर्ने प्रयाश गरेको छु ।
१९९७ पौष ०६ गते जन्मनु भएका कवि हृदय पाण्डेको कृति ‘कालीगण्डकी’ नामको यस छन्द कविता सङ्ग्रहमा ४३ वटा कविताहरु संकलन गरिएका छन् । ती ४३ वटा कविताहरुलाई पनि तिनीहरुको सन्दर्भ अनुसार आध्यात्मिक खण्ड, सामाजिक खण्ड र नैतिक खण्ड गरी जम्मा ३ खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा १६ वटा, दोस्रो खण्डमा २१ वटा र तेस्रो खण्डमा ६ वटा कविताहरु समावेश गरिएका छन् ।
आध्यात्मिक खण्ड
आध्यात्मिक खण्डको पहिलो ‘पञ्चगव्य विधि’ कवितामा पञ्चगव्य निर्माणको विधि र त्यसलाई शुद्धीकरण गरिने मन्त्र उल्लेख गरिएको छ, जुन विधि र मन्त्र पुरोहितको काम गरीरहेका र गर्नुपर्ने नयाँ व्यक्तिका लागि उपयोगि हुने छन् ।
‘मनुष्य देह’ कवितामा कविले मनुष्य देह एक ईश्वरीय देन हो, त्यसैले हामी मानिस जातिले हाम्रो सारा ध्यान ईश्वरमा नै लगाउनु पर्दछ भन्ने सन्देश दिनु भएको छ । यस्तै गरी अन्य शीर्षकका कविताहरु ‘चौरासी लाख जुनी’, ‘ईश्वरमा आस्था’, र ‘हाम्रो धर्म’ आदिमा पनि ईश्वरीय देन र महत्वका बारेमा उल्लेख गरिएको छ । राम्रा काम गरेपछि ईश्वरत्व प्राप्त गर्न सकिन्छ भन्ने कुरामा कवि अत्यन्तै आश्थावान देखिनु हुन्छ । यी चारवटै कविताको भाव एकअर्काका परिपूरकका रुपमा लिन सकिने देखिन्छन् ।
संस्कृत भाषामा लेखिएको ‘नेपाल वन्दना’ कविता अत्यन्त सुललित छ । यस कवितामा नेपाल आमाप्रति अपार श्रद्धाभाव ब्यक्त गरिएको छ । संस्कृत भाषामा नै रचिएको अर्को ‘गणेश प्रार्थना’ शीर्षकको कवितामा गणेश भगवानको स्तुति गरिएको छ ।
फरक छन्दमा लेखिएका भएतापनि ‘पञ्चकोट’ र ‘कालीगण्डकी’ कवितालाई एक अर्काका परिपूरक कवितका रुपमा लिँदा फरक नपर्ने ठान्दछु किनकि यी दुबै कविताले भौगोलिक महिमाको वर्णन गरेका छन् । यसैको सेरोफेरोमा मुक्तिनाथको मन्दिर रहेको र नदीे किनारमा विशेष खालको शालिग्राम नामको शीला पाइने भएका कारण नेपालका नदीहरु मध्ये कालीगण्डकी नदीको छुट्टै धार्मिक र भौगोलिक महत्व रहेको छ । यस हिसाबले हेर्ने हो भने यो कवितालाई आञ्चालिकतामा आधारित कविता भन्न पनि सकिन्छ ।

तोयानाथ लामिछाने
विगत केही वर्षयता माओवादीद्वारा श्रृजित द्वन्द्वका कारण परापूर्व कालदेखि हाम्रा पूर्खाद्वारा अवलम्बन गरिँदै आएको धर्म र संस्कृति माथि हस्तक्षेप र अतिक्रमण भएकोमा कवि ज्यादै दुखित र आक्रोशित दुबै हुनुहुन्छ । लाटा, सिधा र निमुखा जनतालाई दिग्भ्रमित पारेर हिन्दु धर्मप्रति असहिष्णु र विद्वेषपूर्ण भाव फैलाउने बरु पश्चिमा धर्मप्रति बढी सद्भावपूर्ण र मित्रवत ब्यवहार प्रकट गर्ने शक्तिकेन्द्रप्रति कवि पाण्डेको मन अत्यन्त कुँडिएको पाइन्छ । सनातनदेखि चल्दै आएको धर्मलाई हामीले संरक्षण गर्नुपर्दछ । यसै कामबाट नै देशमा शान्ति र सहिष्णुता कायम हुन सक्छ भन्ने आशय ‘स्वधर्म संरक्षण’ कवितामा उहाँले सन्देश दिन खोज्नुभएको पाइन्छ ।
सरल र सरस भाषामा रचित ‘सरस्वती प्रार्थना’ कविता साधारण पाठकले पनि सजिलैसँग बुझ्न सक्ने खालको छ । शीर्षक अनुसार यस कवितामा सरस्वतीको स्तुति गरिएको छ ।
‘भगवानका अवतार’ कवितामा भगवान हरि र कृष्णका अवतारको बेलीविस्तार गरिएको छ । गर्ग संहिताको अध्ययन बिना यो कविताको विश्लेषण गर्न खोज्नु मुर्खता हुने ठान्दछु । तथापि यो कुरा भन्न सकिन्छ कि कविले पाठकलाई कृष्ण पुरुषोत्तम हुनुहुन्छ । तसर्थ हामीले उहाँको ध्यान र कीर्तन गरेर नै जीवनलाई सार्थक पार्न सक्छौँ भन्ने सुझाव दिन खोज्नु भएको पाइन्छ । त्यसै गरेर ‘भजन’ कवितामा भगवानद्वय राम र कृष्णको स्तुति गरिएको छ । यी दुई कविताको आधारमा विश्लेषण गर्दा कवि पाण्डे आध्यात्मिक विचारमा बिछट्ट विश्वाश गर्नुहुन्छ भन्न कर लाग्दछ ।
हामी मानिसले यो जगतमा भएका समस्त प्राणीमाथि दयाभाव राख्नु पर्ने कुराको सल्लाह कविले ‘आत्मा’ कवितामा दिनु भएको छ । कवि पाण्डेका अनुसार हाम्रो मनुष्य आत्मा अजर र अमर छ । यो कवितामा आत्मा अमर राख्नका लागि हामीले सच्चा र इमान्दार काम गर्नुपर्दछ भन्ने राय व्यक्त गरिएको छ ।
एउटा राष्ट्रकविको ‘इच्छा यो छ महेश एक … ’ भन्ने कवितामा गरिएको भाव जस्तै यो ‘इच्छा’ कवितामा पनि एक सच्चा नागरिकले राष्ट्रप्रति गर्नुपर्ने कर्तब्य बोधलाई उजागर गर्दै राष्ट्रभाव ब्यक्त गर्न खोजिएको छ ।
आध्यात्मिक खण्डको अन्तिम ‘ईश्वर प्राप्ति’ शीर्षकको कवितामा एक व्यक्तिले गर्नु पर्ने कर्तब्यलाई बोध गराउन प्रयत्न गरिएको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले अशक्त र असहाय मानिसको सेवा गर्नुको सट्टा मूर्ति पूजा गर्ने आधुनिक मानव जातिलाई ‘कुन मन्दिरमा जान्छौ यात्री’ भन्ने जिज्ञाशा राख्दै सुझाव दिएझैँ कवि पाण्डेद्वारा पनि मूर्ति पूजाको सट्टामा असहाय मानिसलाई सहयोग गर्नु पर्नेे कर्तव्यलाई स्मरण गराउन खोजिएको छ ।
सामाजिक खण्ड
दोस्रो अथवा सामाजिक खण्डका २१ कवितामध्येको पहिलो कविता ‘शिद्धपोखरी भक्तपुर’ रहेको छ भने दोस्रो कविता ‘बनेली चरी भक्तपुर सैनिक विद्यालय’ रहेको छ । यी दुबै कवितामा भक्तपुरको शिद्धपोखरी र भक्तपुरको सैनिक विद्यालयको भौगोलिक सुन्दरताका साथै शैक्षिक महत्वका बारेमा व्याख्या गरिएको छ । ‘नगरपालिकाको बनोट’ कवितामा नेपालको संविधान २०७२ अनुसार नयाँ संरचनाका आधारमा निर्मित बागलुङ नगरपालिकाको बनोटका बारेमा जानकारी दिइएको छ ।
‘अब त अति भो’ कवितामा कविले नै “नर हिंशाबाट त्रसित भएर लेखिएको कविता” भनेर पाद टिप्पणीमा उल्लेख गर्नुभएको छ । सोही दुःखद एवं क्षत–विक्षत अवस्था माओवादी द्वन्द्वका नाउँमा देशले भोग्नु परेको थियो ।
‘स्वदेश’ कवितामा कविद्वारा युवाहरुलाई रोजगारीको खोजीमा विदेश जानुको बदलामा स्वदेशमा बसेर उद्यमी बन्न र आत्म निर्भर हुन मार्गनिर्देश गरिएको छ । त्यसै गरेर ‘देशका युवा’ कवितामा पनि युवाहरुलाई विदेश जानु भन्दा स्वदेशमा नै बसेर कृषिजन्य र जडिबुटीजन्य उत्पादन तथा प्रशोधन गर्न र खनिजजन्य उत्खनन गर्न र उद्योग स्थापना गरेर आत्मनिर्भर हुन र देशलाई विकास निर्माणको बाटोमा अघि बढाउन उत्प्रेरित गर्ने प्रयत्न गरिएको छ ।
त्यसै गरेर ‘हुनुपर्ने कुरा’ कवितामा जनताको शिक्षा तथा स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने र कृषि क्षेत्रमा सरकारको यथेष्ट लगानी हुनुपर्ने कुरालाई उजागर गर्न खोजिएको छ । अनि उद्योगको स्थापना गरेर जनतालाई रोजगारी दिनका लागि सुझाव दिइएको छ । त्यसै गरी दक्ष जनशक्ति उत्पादन गर्न र उनीहरुलाई स्वदेशमा बस्ने वातावरण निर्माण गर्नका लागि पनि नेत्तृत्व वर्गलाई झकझक्याउने प्रयत्न गरिएको छ । त्यसै गरेर ‘आजको खाँचो’ कवितामा पनि नेपालको वर्तमान राजनीतिको विकृति र विसंगतिको अवस्थाबाट देशलाई माथि उठाउनका लागि नेतृत्व वर्ग संयम, सहयोगी, सहृदयी, इमान्दार र नैतिकवान बन्न सुझाव दिने प्रयत्न गरिएको छ । कविताको अन्त्यमा भ्रष्टाचारको अन्त्य गरेर समतामूलक समाजको निर्माण गर्न सकिने कुराको आशा जगाउन पनि खोजिएको छ ।
‘कमिसन’ कवितामा जुनसुकै पनि विकस निर्माणका काम गर्दा कमिसन खाने प्रचलन रहेका कारण निर्धारित योजना अनुसार विकास निर्माणका काम हुन नसकेको कुरा प्रति चिन्ता जाहेर गरिएको छ । गलत तरिकाले धन आर्जन खोज्ने प्रति ईश्वरलाई सम्झेर काम गर्न आह्वान पनि गरिएको छ । ‘विकासको दियो’ कवितामा शिक्षा ज्ञानको ज्योति हो । अहिले देशमा दुई खालका शिक्षा प्रणालि भएकाले गरीब र निमुखा जनता शिक्षाको सहज पहुँच बाट बञ्चित भएका छन् । समग्र देश निर्माणको निम्ति समतामूलक समाजको पनि निर्माण गर्नु पर्दछ । त्यसका लागि शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने कविको आशय देखिन्छ ।
नेपालको पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न संविधान सभा असफल भएकोमा कविले चिन्ता जाहेर गरेको देखिन्छ । यो कुरा ‘जेठ चौध’ कविताको पाद टिप्पणीमा कवि स्वयंले ‘पहिलो संविधान नबन्दाको पीडा’ भनेर उल्लेख गर्नु भएको छ । त्यसै गरेर ’देशलाई खाँचो‘ कविताको अन्तमा पनि ‘संविधान नबन्दा खाँचो महशुस गर्दा’ भनिएको छ । अतः भावका हिसाबले यी दुई कविता एक अर्काका परिपूरकका रुपमा रहेका छन् भन्दा अत्युक्ति नहोला भन्ने ठान्दछु ।
‘सोचौँ’ शीर्षकको कवितामा स्थानीय समस्या समाधानमा केन्द्रित भएर रचना गरिएको छ । कवि पाण्डेले आफ्नो गाउँमा विद्यालयको महत्वको बारेमा स्थानीय बासिन्दालाई सचेत पार्दै मूलपानीमा रहेको विद्यालयको संरक्षणका निम्ति सहयोग गर्न आह्वान गर्नु भएको छ । त्यर्सगरी ‘चन्दा दिनुस’ कवितामा पनि साही मुलपानीको विद्यालय पुनर्निर्माणका निम्ति चन्दा प्रदान गर्न स्थानीय बासिन्दालाई आह्वान गरिएको छ ।
’श्रद्धा सुमन’ कवितामा धौलागिरी साहित्यको महिमाको उजागर गर्दै त्यसको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरिएको छ । हामी नेपाली‘ कविता राष्ट्र कवि माधव प्रसाद घिमिरेद्वारा रचित ‘जय जय जय हे नेपाल सुन्दर शान्त विशाल’ कविताकै भाव र लयमा भएको प्रतित हुन्छ । त्यसै गरेर ‘विकास गरौँ‘ कवितामा पनि उही भाव झल्किएको पाइन्छ । ‘हाम्रो काम’ कवितामा पनि देशभक्तिको भाव ब्यक्त भएको छ । विदेशीको नक्कल गर्नु भन्दा आफ्नै देश भित्र रहेका श्रोत र साधनको प्रयोग गर्न जोड दिइएको छ । ‘आमाको चिठी’ कवितामा पनि घरमा बसेकी आमाले वैदेिशक रोजगारीमा गएका आफ्ना छोरालाई आफ्नो गाउँमा केही गर्न सकिने वातावरण बनेकाले स्वदेश फर्केर गाउँमै केही न केही उद्योग व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
‘हिन्दु राष्ट्र मेरो’ कवितामा पविको हिन्दु धर्म प्रतिको अगाध आश्था रहेको कुरा अभिब्यक्त गरिएको छ । ‘संस्कार कवितामा नेपालीलाई नेपालका आफ्ना मौलिक चाड पर्व तथा मौलिक रीति रिवाज र संस्कृतिको अवलम्बन र जगेर्ना गर्न अभिप्रेरित गर्ने प्रयत्न गरिएको छ ।
नैतिक खण्ड
यस खण्डमा जम्मा ६ वटा कविताहरु संग्रहित छन् । तिनीहरु क्रमशः ‘नैतिक कुरा’ ‘साँचो कुरा’ ‘भेषभूषा’ ‘द्वन्द्व पीडित’ ‘बालक’ र ‘सदाचार’ रहेका छन् ।
‘नैतिक कुरा’ कवितामा हामी मानिसले आफु भन्दा सानामाथि दयाभाव राखेर सहयोग गर्नु पर्ने रसाना मानिसले ठूला मानिसको आदर सत्कार गर्नु पर्ने र सत्यको मार्गमा हिँड्नका लागि सुझावको कुरा दर्शाइएको छ भने ‘साँचो कुरा’ कवितामा झण्डै उस्तै उही भावका साथै सेवाभाव र परोपकारिता भावको महत्वलाई दर्शाइएको छ ।
‘भेषभूषा’ कवितामा अहिले विश्वमा भएको विकासका कारणले हाम्रा युवा पुस्तामा आएको पश्चिमा शभ्यताको अन्धानुकरणको मोह प्रवृत्तिले हाम्रा मौलिक भेषभूषाको परम्परा हराउँदै जान लागेकोमा चिन्ता व्यक्त गरिएको छ । कुनै पनि मुलुकको पहिचान भनेको त्यस देशको भेषभूषा भन्ने कुरामा जोड दिन खोजिएको छ ।
देशमा आमूल परिवर्तनको सपना देखाएर जनसाधारणलाई आन्दोलित त गराइयो तर उनीहरुको जीवनस्तरमा खास परिवर्तन आउनुको बदलामा नेतृत्व वर्ग भने सधैँ सत्ताको रापतापमा रहिरह्यो भने सर्वसाधारण व्यक्ति जो आन्दोलनमा परेर घाइते भए अपाङ्ग भए उनीहरुको बेहाल छ र उनीहरुको दयनीय उवं पीडाजन्य अवस्था तिर कसैको चिन्ता नरहेको भन्ने आशय ब्यक्त गरिएको छ ।
‘बालक’ कवितामा बालबालिकाहरुलाई राम्रो शिक्षा दिएर देशका असल र सच्चरित्रवान नागरिक बनाउन सकिने कुराको आशय अभिब्यक्त भएको छ । पुस्तकको अन्तिम कविता ‘सदाचार’ शीर्षकमा हाम्रा् नित्य कर्मका नीति नियम सिकाउने प्रयत्न गरिएको छ । जस्तो कि हामीहरु बिहान सबेरै उठ्ने पर्छ, स्नान गर्नु पर्छ विनयी र परोपकारी बन्नुपर्छ आदि सदाचारका नियमहरु उल्लेख गरिएका छन् । ‘बालक’ र ‘सदाचार’ दुबै कवितामा ईश्वरप्रतिको निष्ठामाथि उत्तिकै जोड दिइएको छ ।
सबल पक्ष
कवि मेघराज पाण्डेय कविता रचनाको सिलसिलामा छन्दको समुचित प्रयोग गर्ने काममा शिद्धहस्त देखिनुहुन्छ । उहाँका कविता लेखनीमा व्याकरण शास्त्रीको अध्ययनको भरपुर सदुपयोग भएको प्रष्ट रुपमा भेट्न सकिन्छ । ‘नेपाल वन्दना’ र ‘गणेश प्रार्थना’ यी दुई कविता सस्वर वाचन गर्दा ज्यादै लालित्यपूर्ण र सुमधुर ध्वनी प्रत्युत्पन्न हुँदो रहेछ भन्ने मेरो अनुभूति रहेको छ । यी दुई कविताले कविको संस्कृत भाषामा भएको गहन अध्ययनको परिचय दिएका छन् ।
दुर्वल पक्ष
कवि पाण्डेले ब्याकरणमा आचार्य गर्नु भएकाले भाषागत शुद्धाशुद्धिसम्बन्धी उहाँको ज्ञानका बारेमा शंका गर्ने एकरत्ति पनि ठाउँ रहेन । तथापि पुस्तकमा मुद्रण सम्बन्धी त्रुटिहरु भेट्टाउन भने सकिन्छ । त्यसैले यस पुस्तकमा रहेका केही त्रुटिहरु छपाइको सिलसिलमा भएका हुन सक्ने कुरा अनुमान गर्न सकिन्छ । ‘चौरासी लाख जुनी’ कविताको अन्तिम पंक्तिमा कनाउँछन् हुनुपर्नेमा ‘बनाउन्छन्’ र ‘आफनै’ हुनुपर्नेमा ‘आफ्नै’ हुन गएको छ । ‘चौरासी लाख जुनी’ कविताको अन्तिम पंक्तिमा “बनाउँछन्” हुनु पर्नेमा “बनाउन्छन” भएको छ भने ‘नेपाल वन्दना’ कविताको तेस्रो श्लोकको दोस्रो पक्तिमा ‘शक्ति’ हुनु पर्नेमा ‘शाक्ति’ हुन गएको छ । ‘पञ्चकोट’ र ‘कालीगण्डकी’ कवितामा ‘यहीँ’ हुनुपर्नेमा यही’ भएको छ । मेरो बिचारमा कविता लेखनमा प्रायःजसो मानक शब्दको प्रयोग गरिन्छ जस्तो मलाई लाग्दछ । तर यहाँ कविले उहाँका ‘आत्मा’ कवितामा “भन्नी” र “नगर्नी शब्दहरुको प्रयोग गर्नुभएको छ । यी दुई शब्दहरु बोलचालको भाषामा त प्रयोग भई रहन्छन नै तर लेखन कार्यमा प्रयोग भएको जस्तो मान्दिन म । तिनीहरुलाई ‘भन्ने’ र ‘गर्ने’ भनेर लेख्नु म प्रामाणिक भाषाको मानकमा पर्नेजस्तो ठान्दछु ।
निष्कर्ष
कविले आफ्नो पुस्तकको भूमिका राख्ने सिलसिलामा ‘मेरो यो कविता प्रयाश पहिलो बुझेर हे भावुक, त्रुटिमाथि क्षमा दिने सुजनको स्वभाव नैसर्गिक ।’ भन्नुभएको छ । त्यसैले यस पुस्तक छपाइमा केही त्रुटि हुनु स्वाभाविक मान्न सकिन्छ । तर कवितानाई विभिन्न शीर्षकमा राखिएता पनि कविको आध्यात्मिक झुकाव प्रायःजसो सबै कवितामा पाइन्छ । धेरैजसो कविताको मर्म झण्डै एकै खालको जस्तो नै भेट्टउन सकिन्छ । कविको भाषामा जे जस्तो वजन गहनता छ त्यस्तो वजन कविताले लिन भने कविको थप निरन्तर प्रयासको जरुरी देखिन्छ ।
आध्यात्मिक खण्डमा राखिएका दुईवटा कविता ‘पञ्चकोट’ र ‘कालीगण्डकी’ लाई सामाजिक खण्डमा या छुट्टै भौगोलिक खण्ड श्रृजना गरेर अलग राख्नु उपयुक्त हुने ठान्दछु । साथै सामाजिक खण्डका ‘शिद्धपोखरी भक्तपुर’, ‘बनेली चरी भक्तपुरसैनिक विद्यालय’, ‘नगरपालिकाको बनोट’ र ‘चन्दा दिनुस’ कवितालाई पनि भौगोलिक खण्ड श्रृजन गरेर राख्नु श्रेयश्कर होला भन्ने ठान्दछु । दिइएका तस्वीरहरुको सँगालोलाई तस्वीर खण्ड भनेर राखेमा झनै राम्रो हुने ठान्दछु ।





