होनाहार युवा प्रतिभा विकास पौडेल धर्तीबाट बिदा भएको एक बर्ष पुरा भएछ,
आगमन सधैं खुसीको हुन्छ । विदाई भने खिन्नतासँग र दुःखसँग जोडिएको हुन्छ । कतिपय दुःख क्षणिक हुन्छन्, छोटो समयमा वीर्सीन्छन् । तर कतिपय भने यस्ता दुःख हुन्छन् जसको चोट न कहिल्यै पुरिन्छ न सञ्चो हुन्छ । त्यस्तै अति गहिरो र कहिल्दै सञ्चो नहुने चोट विकास पौडेलको निधनले पारेको छ । हृदयमा लागेको यो घाउ न सञ्चो हुन्छ न यो घटना विर्सिन्छ ।
बागलुङ जिल्ला जैमिनी नगरपालिकाको वडा नं. ७ धुल्लुमा जन्मिएका विकास पौडेल प्राईमरी शिक्षा धुल्लुको नै सरस्वती आधारभूत विद्यालयमा र माध्यमिक शिक्षा संस्कृत माध्यमिक विद्यालय बेलवगरमा हाँसिल गरे । सानै उमेरबाट शान्तिप्रिय र मिलनसार स्वभाव भएका पौडेल उच्च शिक्षाका लागि फलेवास, बागलुङ र काठमाण्डौसम्म पुगेर प्राप्त गरे । अध्ययन समयमा पनि बिभिन्न संघ संस्थासँग आबद्ध भएर आफ्नो व्यक्तित्व निर्माणमा लागिरहे । गोरो र हँसिलो अनुहार भएका बिकास सौन्दर्यका हिसावले पनि बिलक्षण थिए । भेट भएपछि छुट्टिन मन नलाग्ने उनी कसको आँखामा बिझाए होलान् र जास्तो लाग्दछ । हुन पनि बिकास नफर्किनेगरी बिदा भएपछि धुल्लु, जैमिनी मात्रै हैन सिंगो बागलुङ, पर्वत, म्याग्दी र सिंगो धवलागिरी र पुरै मुलुकभरका चिनजानका इष्टमित्रहरुका आँखा ओवानो रहेनन् नत मुटु छिया–छिया नरहने अबस्था रहयो ।

इन्द्रराज पौडेल
यस्ता हृदय विदारक घटना विश्वमा बिरलै हुन्छन् । महामारीले विश्वमा ठुलो नोक्सानी ग¥यो । विश्वमा पनि महामारीले पारेका धेरै घटना होलान तर विकासलाई जान्ने र नजिक भएका हामिहरुका लागि यति ठुलो र यति मर्माह तगर्ने घटना छैन् जस्तो अनुभव हुन्छ । विकासका आमा, बुवा, श्रीमती र भाईले गरेको पीडाको अनुभव न सोच्न सकिन्छ, न सोध्न । अवोध छोराछोरीले भने यो अकल्पनीय वियोगको धेरै पछाडि थाहा पाउनेछन् । समवयस्क साथीभाईहरुको मन अहिले पनि रस्सिएको छैन् । विदीर्ण नै छ । इष्टमित्र, माओली, दाजुभाइ यो बर्षदिनका धेरै समय आँसुका पोखरीमा परेला भिजाएर वेखबर समय बिताइरहेका छन् ।
उनले काम गर्ने गरेका संघ संस्थाहरु उद्योग वाणिज्य संघ, रेडक्रस शाखा बागलुङ, गुप्तेश्वर क्याम्पस कुश्मा र अन्य संघसंस्थाहरुले पनि विकास पौडेलका गुणहरुको चर्चा÷परिचर्चाबाट उनकै सम्झनामा यो बर्षदिनका दिनहरु इतित गरेको अनुभव सुनाउँछन् । उनी सचिव भएर काम गरेको नेपाली कांग्रेस क्षेत्रीय समितिका सभापति नारायण पौडेल, सचिव बिष्णु आचार्य यस्तै नारायण श्रेष्ठ आदि साथीहरुले सुनाउनुभयो –‘सचिव पदमा रहेर विकासले निभाउनुभएको भूमिका कहिल्यै विर्सन सकिँदैन नत यस्तो साथी मिल्ने छ, नत के.काले त्यस्तो पदाधिकारी प्राप्त गर्दछ ।’ उहाँहरु सुनाउनुहुन्छ –विकासको संझनामा विकासले माध्यमिक तहसम्म पढेको विद्यालय संकृत माध्यमिक विद्यालयमा एउटा अक्षयकोष स्थापना गरेर सधैंका लागि सम्झन चाहन्छौं ।’ क्षेत्रीय समितिले गरेको यो प्रसंसनिय कार्य हुनेछ, विकासलाई सधैं सम्झनाका लागि ।
होनहार युवाको सम्झनामा जैमिनी नगरपालिका र वडा नं. ७ को तत्परतामा ‘विकास पौडेल स्मृति पदमार्ग’ बेलवगरको गाईथुने पूण्यभूमिबाट आरम्भ भएर पर्यटकीय स्थान हाँडिकोट विहारथलासम्म पुग्नेछ । यो बर्ष नै यो मार्गको थालनी हुनेछ । हामीहरुले पनि यस्तै कार्यहरुबाट स्मृती कम्पनमा रहेको पिडालाई विर्साउने छौं । त्यो दुःखद क्षण मैले पनि महामारीको कारण छोरीज्वाईंको घरमा एकान्तबासमा वसेर बागलुङमा नै विताईरहेको थिएँ । मेरो स्वास्थ्य अबस्थालाई हेरेर इष्टमित्रहरुले यो दुःखद घटनालाई तत्काल सुनाउनु भएनछ । मलाई सुनाउनु भएपछि झण्डै विव्हल अवस्थामा म पनि जैमिनी ७ चौर पुगेँ । जहाँ विकास पनि बस्ने गरेको नयाँ घर थियो । यहाँ नै आउनुहुने सवै इष्टमित्रहरुसँग विकासका आमाबुवासँग र दाजुभाईसँग ती दुःखका दिनहरु विताउ थालेँ । ओ….हो….बर्षदिन हुन थालिसकेछ । विकास पौडेल अव रहेनन् । सबैको सम्झनामा मात्र रहने भए ।
प्रमुख : जैमिनी नगरपालिका, बागलुङ





