आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

तीन घुम्ती : नारी सिर्जनाको कथा

तीन घुम्ती : नारी सिर्जनाको कथा


  • सुनावी पोखरेल
  • पुष १७ २०७८, शनिबार

यस किताबको भाषा शैली सरल थियो जसका कारण उपन्यास पढ्न र बुझ्न निकै सजिलो भयो । यसमा भएका प्रायः सबै शब्दहरू बुझ्न सकिने थिए । यस कथाको दृष्टिबिन्दु भनेको तेस्रो व्यक्तिको दृष्टिकोण हो ।

विषयप्रवेशः

‘तीन घुम्ती’ नामक उपन्यास, बी.पी कोइरालाद्वारा लिखित एक सुन्दर उपन्यास हो । बी.पी कोइराला एक उत्कृष्ट नेता थिए र त्यसका साथसाथै उनी साहित्यको क्षेत्रमा पनि केही कम थिएनन् । अरू नेताहरूमध्ये अलिक फरक भएका यी नेताले साहित्यमा पनि आफ्नो कलम चलाएका थिए । यो उपन्यास उनका कैयौँ रचनाहरूमध्ये एक प्रसिद्ध उपन्यास हो तीन घुम्ती । उनीमा देशप्रति मात्र नभएर देशकै भाषा र साहित्यिक क्षेत्रको पनि उत्तिकै कर्तव्यबोध थियो । इन्द्रमायाका बारेमा लेखिएको यस उपन्यासमा उनी मुख्य पात्र हुन्छिन् र कथा उनकै वरिपरि चलिरहन्छ । उपन्यासमा इन्द्रमाया नामक एक पात्र आफ्नो जीवनमा महत्वपूर्ण निर्णय लिएर ३ ओटा घुम्ती पार गर्छिन् जसका कारणले गर्दा उनको जीवन पूर्ण रूपले परिवर्तन हुन्छ । यस उपन्यासमा इन्द्रमायालाई एक साहसी महिलाका रूपमा चित्रण गरिएको छ । पञ्चायत शासनको समयमा लेखिएको यस उपन्यासमा विभिन्न शासन सम्बन्धी कुरा पनि आउँछन् ।

कथावस्तुः

कथाको पहिलो घुम्तीमा समाजको नारीप्रतिको हेराइ र विचारलाई चित्रित गरिएको छ, जहाँ महिलाहरूको काम घरमै बस्नुपर्ने र पुरुषहरूले चाहिँ काम गर्नुपर्ने देखाइएको छ । इन्द्रमाया र पीताम्बर एकअर्कालाई प्रेम गर्न थाल्छन् र त्यसपछि इन्द्रमायाको घरमा प्रेम विवाहको प्रस्ताव आउँछ तर इन्द्रमायाका बुबाले त्यस प्रस्तावलाई टुक्राउँछन् । कथामा इन्द्रमाया नेवार समुदायकी छोरी हुन्छिन् भने पिताम्बर पहाडी बाहुनका छोरा हुन्छन् । यो कुरा नै उनीहरूको प्रेम विवाह अस्वीकार हुनुको मुख्य कारण बन्न पुग्छ । इन्द्रमायाका बुबाले इन्द्रमायाका लागि एउटा लक्ष्मणरेखा बनाउँछन् । लक्ष्मणरेखा पार गरेर इन्द्रमायाले आफ्नो प्रेमको बाटो रोज्छिन् र आफ्नो घरपरिवार सबैलाई छाडेर पीताम्बरसँग विवाह गर्छिन् । उनको निर्णयले उनको जीवन पूर्ण रूपमा बदलिदिन्छ । समाज पनि उनको विरुद्ध हुन्छ । समाजमा महिलाहरूलाई हरेक भागमा दबाब दिइरहेको देखाइन्छ । जहाँ महिलाहरू आफ्नो सोच र विचार प्रकट गर्न सक्दैनन् र जहिले पनि चुपचाप लागेर बस्ने गर्दछन् । पुरुष पात्रहरू भने यस समाजमा पैसा कमाउने मानिसका रूपमा देखिन्छन् भने महिला पात्रहरू चाहिँ हरेक पल घरायसी काम गर्ने पात्रको रूपमा देखिन्छन् । इन्द्रमायाले बच्चा जन्माउन सक्दिनन् र त्यसकारण उनलाई सबैले धेरै सराप्छन् । केही समयपछि राजनीतिक कारणवश पीताम्बर जेल जान्छन् र त्यसको लगत्तै रमेश (पीताम्बरको साथी)सँग इन्द्रमाया नजिकिन थाल्छिन् । यहीं घटनाबाट नै उपन्यासको दोस्रो घुम्तीको आरम्भ हुन्छ । दुवै जना नजिकिएपछि एकअर्कासँग प्रेममा पर्छन् र त्यस लगत्तै इन्द्रमाया गर्भवती पनि हुन पुग्छिन् ।

उपन्यासको तेस्रो घुम्ती भने पीताम्बर जेलबाट निस्केपछि सुरु हुन्छ, जहाँ इन्द्रमायाकी एउटी छोरी हुन्छिन् । छोरीको नाम रमा हुन्छ । पीताम्बरले रमालाई आफ्नो सन्तान मानेर स्विकार्दैन र इन्द्रमायाको यस्तो घडीमा साथ दिनुको सट्टा उनले र समाज दुवैले इन्द्रमायालाई धिक्कार्छन् । समाजमा कसैले पनि इन्द्रमायाको साथ दिँदैनन् र यस्तो समयमा उनी एक्लै हुन्छिन् । इन्द्रमायाले एक पत्नी हुनुभन्दा पनि एक जिम्मेवार आमा भएर आफ्नी छोरी हुर्काएर बढाउनु सही सोच्छिन् र त्यसपछि उनले पीताम्बरसँग हरेक कानुनी सम्बन्धलाई अन्त्य गर्छिन् । कथा अब इन्द्रमाया ४५ वर्ष भएपछि सुरु हुन्छ जहाँ इन्द्रमाया आफ्नी छोरीसँग बस्छिन् । उनले एकदिन थाहा पाउँछिन् कि उनकी छोरी रमालौ एउटा केटालाई प्रेम गर्छिन् । त्यो थाहा भएपछि उनले दुवै जनाको प्रेमलाई स्वीकार गरेर आफ्नो जीवनमा घटेका घटनाहरूलाई याद गर्छिन् । उनको जीवनलाई ती तीन घुम्तीले एकदमै उथलपुथल पा¥यो तर ती तीन घुम्ती उनको जीवनमा भएका एक महत्त्वपूर्ण भाग हुन्, जसले गर्दा उनको जीवन अर्कै मोडतिर परिवर्तन भयो । इन्द्रमायाले त केवल उनलाई आफ्नो जीवनमा जे गर्नु ठिक सोचिन् त्यसकै आधारमा निर्णय गरिन् तर समाजले भने उनको मनले लिएका ती निर्णयलाई गलत प्रमाणित गरेर उनले गरेका कार्यहरू गलत भएको देखाए । कसैले पनि आफू उनको ठाउँमा भएको भए के गर्थेँ होला भनेर सोचेन ।

परिवेश

उपन्यासमा इन्द्रमायाको घर, सिनेमा, कालीथान, पीताम्बरको घर, जेल, ४५ वर्ष हुँदाको घरलगायतका अन्य ठाउँहरू यस उपन्यासमा स्थलगत परिवेशका रूपमा आएका छन् । कालगत परिवेशका रूपमा भने बिहान, दिउँसो र बेलुकाको समय आएको छ । यस कथाभरि इन्द्रमायाले आफ्नो जीवनमा बनाएका तीनओटा जीवन परिवर्तन हुने निर्णयहरूलाई विश्लेषण गरिएको छ । इन्द्रमायाले सुरुमा आफ्नो परिवारलाई त्यागेर आफ्नो प्रेमी पीताम्बरसँग विवाह गरेर उसैसँग जान्छिन् । त्यसपछि पीताम्बर जेल गएपछि उनको रमेशसँग बच्चा हुन्छ । बच्चा भएपछि उनले समाजमा कसैको साथ पाउँदिनन् र एक्लै आफ्नी छोरी हुर्काउँछिन् । ४५ वर्षपछि उनले सबै कुरा याद गर्छिन् । यी सबै घटना उपन्यासको अवस्थागत परिवेश हुन् । लगभग आजभन्दा ४०÷४५ वर्ष अगाडिको सामाजिक परिवेशलाई यो उपन्यासको कालखण्ड मान्न सकिन्छ ।

चरित्रचित्रण

यस उपन्यासमा इन्द्रमाया, इन्द्रमायाका बुबा, समाजका मानिसहरू, पीताम्बर, रमेश, रमा आदि पात्रहरूको रूपमा आएका छन् ।

इन्द्रमाया

कथामा इन्द्रमाया प्रमुख पात्रका रूपमा आएकी छिन् । उनी एक साहसी महिला हुन्, जसले आफ्नो जीवन परिवर्तन गर्दा धेरै कुरा भोग्छिन् । उनले केही नसोची अरूका लागि बलिदान दिन्छिन् तर उनले त्यो कुरा भने फिर्तामा पाउँदिनन् । इन्द्रमायाले सबै काम राम्रै गरेकी छिन् भन्न पनि मिल्दैन । आफ्नो विवाह एउटा मानिससँग भइसकेपछि उनले अर्को मानिससँग प्रेम र शारीरिक सम्बन्ध भने राख्नु हुँदैनथ्यो । समाजले उनलाई जति कराए पनि, जति धम्क्याए पनि, जति कमजोर भने पनि उनी त्यस्ती थिइनन् । समाजका हरेक मान्छेको साथ छुटिसकेपछि पनि उनले हार मानिनन् । एक्ली अभिभावक भएर आफ्नी छोरीलाई उनले हुर्काउँछिन् । छोरीको प्रेमलाई पनि स्विकार्छिन् । इन्द्रमाया पहिलेदेखि नै असल पात्र थिइन् त्यसैले उनी एक स्थिर र अनुकूल पात्रका रूपमा यस उपन्यासमा प्रस्तुत भएकी छिन् ।

पीताम्बर

कथामा पीताम्बर पनि प्रमुख पात्रका रूपमा आएका छन् । पीताम्बर सुरुमा एक असल पात्र थिए । उनले इन्द्रमयालाई असाध्यै माया गर्थे । यी कुराले उनलाई असल बनायो तर उनी जेल जानु भनेको खराब काम गरेर हो । जेलबाट निक्लिएपछि इन्द्रमायालाई त्यस्तो अवस्थामा साथ नदिएर छाडेर जानु भनेको उनको पात्रले गरेको एउटा खराब काम हो जसले गर्दा उनलाई हामी एक गतिशील पात्रका रूपमा लिन सकिन्छ ।

रमेश

यस उपन्यासमा रमेश एक सहायक पात्रका रूपमा प्रस्तुत भएको छ । रमेश पीताम्बरको साथी थियो । इन्द्रमायालाई त्यस्तो अप्ठेरो घडीमा साथ, माया र प्रेम दिनु एक प्रकारले हेर्दा राम्रो हुन सक्छ तर इन्द्रमाया एक विवाहिता महिला थिइन् । आफ्नै साथीको श्रीमतीसँग साथी जेल गएका वेला शारीरिक सम्बन्ध राख्नु पक्कै पनि राम्रो हुन सक्दैन । इन्द्रमायाको कोखबाट उसको सन्तान जन्मिएपछि उसलाई समाजले के भन्छ भन्ने कुरा सोचेर इन्द्रमायालाई त्यस्तो समयमा छोडेर जानु भनेको एउटा गलत कदम थियो । त्यसैले रमेशलाई एक गतिशील प्रतिकूल पात्र भन्न सकिन्छ ।

निष्कर्ष

यस किताबको भाषा शैली सरल थियो जसका कारण उपन्यास पढ्न र बुझ्न निकै सजिलो भयो । यसमा भएका प्रायः सबै शब्दहरू बुझ्न सकिने थिए । यस कथाको दृष्टिबिन्दु भनेको तेस्रो व्यक्तिको दृष्टिकोण हो । निष्कर्षमा भन्नुपर्दा समाजका नारीप्रतिको भिन्नता नारीहरू आफैँले नै सिर्जना गरेको पनि यस कथाबाट देख्न सक्छौँ । जब इन्द्रमाया गर्भवती अवस्थामा एक्लै हुन्छिन् उनको सहारा बन्न कोही पनि आउँदैनन् । उनलाई रमेशले पनि साथ दिँदैन र पीताम्बरले त झन् आफ्नो सन्तान होइन भनेर इन्द्रमायालाई धिक्कार्छ । यस कथाबाट हामीले धेरै कुरा सिक्न पनि सक्छौँ । यस कथालाई सरल रूपमा अहिले समाजमा चलिआएका विषयवस्तुलाई समेटेर लेखिएको छ । अन्ततः उपन्यास निकै नै रमाइलो र रोमाञ्चक रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->