पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकामामा ३ महिने सांकेतिक भाषा तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण बहिरा संघको समन्वयमा सुरु भएके तालिममा ३० जना सुुस्तश्रवण भएकाहरु सहभागी छन् । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालिमको उद्घाटन गरे । उनले कोभिडको कारण गत वर्ष विनियोजित रकम खर्च गर्न नसकिएको जानकारी गराउँदै अपाङ्गता लक्षित कार्यक्रमहरु कार्यान्वयनको लागि सम्वन्धित निकायसँग समन्वय गर्दै पालिकाको सबै लक्षित समुदायसम्म कार्यक्रम पुग्ने गरि कार्य गर्न आफू प्रतिवद्ध रहेको जानकारी गराए ।
कार्यक्रमलाई सम्वोधन गर्दै अन्नपूर्ण बहिरा संघका अध्यक्ष विश्वामित्र भित्रकोटीले सांकेतिक भाषा तालिमको आवश्यकता र तालिमको महत्वमाथि प्रकाश पार्दै तालिमले अपाङ्गहरुलाई फाइदा पुग्ने बताए । गण्डकी बहिरा संघका पूर्वअध्यक्ष जमानसिंह गुरुङले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुग्न नसक्ने समस्याबाट मुक्ति दिलाउन तालिम फलदायी हुने आशा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा,प्रशिक्षक ज्ञानबहादुर भित्रकोटी,अन्नपूर्ण गाउँपालिका वडा नं १० का वडाध्यक्ष कुमारप्रसाद गुरुङ,सहायक महिला विकास निरीक्षक निर्मला कुँवर,सांकेतिक भाषाका दोभाषे सुनिता राना मगरलगायतले मन्तव्य राखेका थिए ।





