पोखरा/ अमेरिका निवासी पोखराका मूलबासी रामचन्द्र खत्रीको ग्राफिक उपन्यास ‘जस्टिस’का लागि १४ गते शुक्रबार (जनवरी २८)देखि किकस्टार्टरमा ‘क्राउडफन्डिङ’ क्याम्पेन’ सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यो अभियान नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक उपन्यास छपाएर वितरण गर्नका लागि रकम उठाउने उद्देश्यका साथ सुरु हुन लागेको हो ।
सन् १९९६ देखि एक दशकसम्म नेपालमा चलेको माओवादी द्वन्द्वकालको घटनामा आधारित कथामा खत्रीले जस्टिस उपन्यास लेखेका हुन् । ग्राफिक उपन्यास एक किशोरी र उनको परिवारले न्यायप्राप्तिका लागि गरेको संघर्षमा आधारित रहेको खत्रीले जनाएका छन् ।
किकस्टार्टर क्याम्पेनको मूल उद्देश्य अन्तर्राष्ट्रिय पुस्तक प्रकाशनमा एक फरक मोडेलको रूपमा परिचित ‘क्राउडफन्डिङ’ विधि मार्फत् पुस्तक छापेर वितरण गर्नु हो । ‘किकस्टार्टर’ सिर्जनशील कार्यहरूका लागि ख्यातिप्राप्त प्लेटफर्म हो भने ‘ग्राफिक नोभेल’ अमेरिकी प्रकाशन बजारमा चलेको विधा हो । नेपाली माओवादी द्वन्द्वमा आधारित ‘जस्टिस’ द्वन्द्वका कारण उठीबास लाग्न पुगेको एक किशोरी र उनको परिवारको कथा हो ।
के छ जस्टिसमा र यो क्याम्पेन किन ?
एक दुर्गम गाउँमा बस्ने तारा अनि उनको परिवार माओवादी छापामार र पुलिस प्रशाशनको दोहोरो चेपुवामा परेको कथा जस्टिस उपन्यासमा छ । उपन्यासको कथा अनुसार माओवादीलाई खान–बस्न दिएको आरोपमा उनीहरू पुलिस प्रशासनको तारो बन्छन् ।
व्यक्तिगत रिसइवी र परिवारको एकल छोरालाई जनयुद्धमा नपठाएको भन्दै उनीहरू तत्कालीन माओवादी विद्रोहीको समेत निशानामा पर्छन् । अन्ततः परिवारको उक्त सदस्य एकाएक बेपत्ता हुन पुग्छ र कथाको अन्त्यसम्म उसको अवस्था अज्ञात रहन्छ ।
परिवारको सदस्य वेपत्ता भएकै अवस्थामा ताराको परिवार घर छाड्न बाध्य हुन्छ । केही वर्षपछि तारा एक्लै घर फर्कंदा उनमा आएका संस्मरणहरूको सेरोफेरोमा उपन्यास लेखिएको छ । लेखक खत्रीका अनुसार बेपत्ता परिवारको सदस्यका लागि गरिएको संघर्ष र खोजी नै कथाको मूल विषय छ । ‘द्वन्द्वकालमा भएका हजारौं घटनाहरूको एक प्रतिनिधि उदाहरण हो जस्टिस,’ उनी भन्छन् । जम्मा १२० पृष्ठको यो ग्राफिक नोभेलमा ३ भाग छन् । यो क्याम्पेन पहिलो भागमा केन्द्रित हुनेछ ।
ग्राफिक नोभेलका लेखक तथा क्याम्पेनका प्रोजेक्ट म्यानेजरसमेत रहेका रामचन्द्रका अनुसार ‘डाइभर्स स्टोरीटेलिङ’का लागि प्रख्यात प्लेटफार्म किकस्टार्टरमार्फत् ठूला प्रकाशकका आँखामा नपरेका लाखौँ लेखकहरूले आफ्ना सफल क्राउडफन्डिङ क्याम्पेन पूरा गरिसकेका छन् । ‘पुस्तकलाई प्रकाशनको तहदेखि नै बजारीकरण गर्ने एउटा प्रगोगात्मक विधि पनि हो यो । यसलाई प्रि–अर्डर क्याम्पेन भने पनि हुन्छ,’ खत्रीले भने, ‘अमेरिकी गृह–युद्धका कथा आज पनि लेखिन्छन्, धेरै कोणबाट । र, ती ‘बेस्टसेलर’ पनि हुन्छन् । नेपाली द्वन्द्वकथाको यो प्रतिनिधि कथामा काम गर्नुको मुख्य उद्देश्य संसारभर रहेका आम पाठकसामु नेपाली साहित्यमा पनि पढ्नलायकका कथा र विषयवस्तु छन् भनी देखाउनु हो ।’
ग्राफिक नोभेलका लागि संदिपन सन्त्रा चित्रकार, व्लेक होना डेभलपमेन्टल एडिटर, रेचेल स्लेमन कपि एडिटर र सहब खान लेटरर छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह–प्राध्यापक तारा सिग्देलका अनुसार जस्टिस नेपाली द्वन्द्वकालको इतिहासलाई चियाउने एउटा झ्याल हो । ‘एउटा कुरूप द्वन्द्वको सुन्दर चित्रण हो जस्टिस,’ उनी भन्छन् । त्यस्तै अमेरिकी ग्राफिक नोभेल लेखक, सम्पादक र डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिटका अनुसार जस्टिस ‘फरक तथा भिन्न पृष्ठभूमिमा घटेका अति नै सर्वविदित् मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो ।’
पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एमएस र त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अंग्रेजी साहित्यमा एमए गरेका रामचन्द्र खत्रीका नेपाली र अंग्रेजी भाषामा अनुदित पुस्तकहरू प्रकाशित छन् । यसअघि उनी एकेडेमिक र कमर्सियल प्रकाशनमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘प्रोजेक्ट म्यानेजर’ का रूपमा काम गरिसकेका छन् । फ्रान्ज काफ्काकृत् ‘द मेटामोर्फसिस’को नेपाली अनुवाद रामचन्द्रको पछिल्लो प्रकाशित पुस्तक हो ।





