पर्वत/माघ २० गते भएको हिमपातका कारण अवरुद्ध रहेको जोमसोम–कोरला सडकमा जमेको हिउँ पन्छ्याउन थालिएको छ।
हिउँ पग्लिन लामो समय लाग्ने भएपछि बुधवारदेखि एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालिएको हो। गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष पहल तथा गाउँपालिका उपाध्यक्ष ढोका गुरुङसहित पाँचवटै वडाका वडाध्यक्षहरूको समन्वयमा हिउँ पन्छाउने काम थालिएको हो ।
गाउँपालिकाको वडा नं. १ चराङका वडाध्यक्ष टै धुन्टु ठकुरीका अनुसार २० गते रातिबाट भएको हिमपातका कारण सडकमा निकै बाक्लो गरी हिउँ जमेको छ। चराङ गाउँबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समर गाउँसम्मको झन्डै ५० किलोमिटर सडकको हिउँ पन्छाउन मान्छेबाट सम्भव नभएपछि एक्स्काभेटर प्रयोग गरिएको हो। ‘यस अगाडि पुस २४ गते पनि हिमपातका कारण सडक अवरुद्ध भएपछि गाउँपालिकाले नै बजेट छुट्टयाएर सडकको हिउँ फालिएको थियो। माघ२० गते परेको हिमपात निकै बाक्लो गरी सडकमा जम्मा भयो’, उनले भने,‘हिउँ फालेर नसकेसम्म बाटो चल्ने अवस्था छैन। हिमपातका कारण नेपाल र चीनको सिमाना पुग्ने यही सडक नै अवरुद्ध भएपछि गाउँपालिकाले काम गरेको हो।’
मुस्ताङमा सामान्य खालको हिमपात पटक–पटक भएको भए पनि सडक नै अवरुद्ध गर्ने गरी यति बाक्लो हिमपात दुई पटक भएको हो। पुस १४ गते भएको हिमपातले एक हप्ता सडक अवरुद्ध भएको थियो। दोस्रो पटक माघ २० गते भएको हिमपातले पनि एक हप्ताभन्दा लामो समय सडक अवरुद्ध गरिसकेको छ। दोस्रो पटकको हिउँ फाल्न बुधवारबाट सुरु गरिए पनि बिहीबार साँझ वा शुक्रबारसम्ममा मात्रै हिउँ पन्छ्याउने काम पूरा हुन सक्ने वडाध्यक्ष ठकुरीको भनाई छ।
गाउँपालिकाले हिमपात रोकिएलगत्तै सडकमा जम्मा भएको हिउँ फाल्ने योजना बनाएको भए पनि एक्स्काभेटर चलाउने अपरेटरको अभावमा समस्या भएको थियो।
‘यहाँ चालक नभएकोले पोखराबाट बोलाएर काम थालिएको हो। यहाँसम्म चालक आइपुग्न समेत बाटोमा भएको हिउँका कारणले कतै पैदल कतै घोडामा चढेर आउन समय लाग्यो,’ गाउँपालिका अध्यक्षले भने, ‘बाटोको हिउँ सफा गर्ने कार्य केही ढिला हुन पुगेको छ। ’





