म तिमीलाई यो कुरा पहिलेदेखि भन्न चाहन्थें तर व्यस्तताको कारण भन्न भ्याइरहेको थिइन, । त्यसैले आज आफू धेरै व्यस्त नभएको क्षण लिएको छु ।
पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो । सधैँ भावहीन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ बजेको थियो ।
‘शुभ प्रभात, पिचर’ म्याक्सवेलले भन्यो र पिचरको जवाफ पनि नपर्खिकन टेबुल नै नाघौँला जस्तोगरि हाम फाल्दै आफ्नो टेबुलतिर हान्नियो। त्यसपछि त्यहाँ रहेका बग्रेल्ती पत्रहरू र अन्य कागजातहरू हेर्न थाल्यो जो उसैको प्रतिक्षामा थिए ।
म्याक्सवेलसँग भर्खर आएकी जवान महिला एक बर्षदेखि म्याक्सवेलकी सचिव भएर काम गर्दै थिइन् । उनी निकै सुन्दर र अरु महिलाभन्दा भिन्न थिइन् । उनको कपाल सधैँ सादा र सरल देखिन्थ्यो । उनले गहना लगाएकी थिइनन् । उनको कपडा खरानी रङको सादा, तर एकदम सुहाउँदो थियो । उनले कालो ह्याटमा सुगाको एउटा सुनौलो प्वाँख सिउरिएकी थिइन्। न्यून श्रृङ्गार र सादा पहिरनमा उनी अरुभन्दा विशेष देखिन्थिन् । यो सादापनमा उनको भद्र र सुरम्य व्यक्तित्व प्रष्टै झल्किन्थ्यो ।
पिचरले निकै ख्याल ग¥यो, आज बिहान उनी अल्लि खुसी देखिएकी थिइन् । उनका आँखाहरु स्वप्निल तर चम्किला थिए । अधरमा हल्का न्यानोपनको रङ र खुशीको भाव देखाएर उनी त्यहीँ उभिइरहेकी थिइन् ।
पिचरले उनलाई हे¥यो । दिमागमा उनको बारेमा एउटा जिज्ञासा राखेको थियो तर उसले सोध्न सकेन । उनि त्यो बिहान कति भिन्न देखिएकी थिइन् । आफ्नो कार्यकक्षमा सिधै नगएर उनि पर्खिरहिन् । के गर्ने भनेर थाहा नभएर अलि अन्योलमा परेजस्तो गर्दै बसिरहिन् । र, फेरि उठेर एकपल्ट म्याक्सवेलले आफूतिर ध्यान दिएर केही भनिहाल्ला कि भनेर उसको टेबुल नजिकैसम्म गइन् ।
म्याक्सवेल आफ्नो टेबुलमा बसेर काम गरिरहेको थियो । ऊ अत्यन्तै व्यस्त थियो । यतिबेला त्यो टेबुलमा बसिरहेको मेशिन एउटा पुरुष थिएन । त्यो न्यू योर्क सहरको एउटा व्यस्त ब्रोकर थियो । ओ हेनरी
‘के भो ? केहि भन्नु छ ?’ म्याक्सवेलले छोटो प्रश्न ग¥यो । बोल्दै गर्दा उसको ध्यान टेबुलमा हिँउ झैँ छरिइरहेका कागजहरूमै थियो । त्यसपछि उसले भावहीन आँखाले उनलाई हे¥यो, एक मेशिनले अर्को मेशिनलाई हेरे जसरी ।
‘केही होइन’ अलिकति मुस्कुराएर फर्किँदै उनले उत्तर दिइन् । थोरै हतास र उकुसमुकुस भएर चुपचाप पिचरतिर गइन् ।
‘पिचरजी’,उनले सोधिन्,‘म्याक्सवेलजीले हिजो अर्को सचिव राख्नेबारे तपाईंसँग केही कुरा गर्नुभयो ?’
‘गर्नुभयो त’,पिचरले उत्तर दियो । ‘उहाँले मलाई अर्को सचिव राख्न भन्नुभएको छ, केही आज कुरा गर्न आउने कुरा थियो तर अघि नै नौ बजिसक्यो । हेर्नुहोस् न, अहिलेसम्म कोही पनि आउनुभएको छैन ।’
‘मेरो ठाँउमा कोही नआउन्जेल म सधैँ झैं आफ्नो काम गर्दै गर्छु ।’ त्यति भनिसकेर उनि आफ्नो टेबुलतिर गइन् । सधैँ जस्तो आफ्नो ह्याट निकालेर अलि पर राखिन् र आफ्नो काम गर्न लागिन् ।
यदि तपाईले व्यस्त दिनमा न्यू योर्कको व्यस्त ब्रोकरलाई देख्नुभएको छैन भने तपाईलाई कार्यालयका मानिसहरू कति व्यस्त हुन्छन् र कार्यालयमा उनीहरूको मानसिकता कस्तो हुन्छ भन्ने बारेमा कम थाहा छ ।
र,आज हार्भी म्याक्सवेल एकदमै व्यस्त थियो ।
उसको टेबुलको छेउमा एउटा मेसिन थियो ।त्यो मेशिनबाट एउटा लामो, साँघुरो, कहिले नसिद्धिने कागजमा तात्तातो व्यापारिक समाचारहरू आउँथ्यो । बजारमा केही हलचल हुनेबित्तिकै सबै खबर थाहा पाउने ब्यवस्था उसले गरेको थियो । उसलाई पत्रहरू, समसामयिक खबर, महत्त्वपूर्ण कागजात सबै पढ्न भ्याइनभ्याई थियो ।
थुप्रै मानिसहरू कार्यालयमा आएर ऊसँग कुरा गर्न थाले । केही खुसी थिए, केही थिएनन्, केही हतारमा थिए भने केही रिसले चुर थिए । एउटा गजब खाले भद्रगोलको स्थिति श्रृजना भएको देखिन्थ्यो ।केही केटाहरू म्याक्सवेललाई पत्र दिन र एकैचोटि पत्रको जवाफ लिन भित्र र बाहिर दौडदै थिए । त्यहाँ डरलाग्दो भिड जम्मा भएको थियो। म्याक्सवेल आफ्नो काममा लिन थियो ।
पिचर अलि बढी सजिव भएको संकेत देखिन्थ्यो । अफिसका अरु कारिन्दाहरू भने कामको चापले आँधीमा परेजस्तै आतंकित भएर उफ्रँदै थिए । त्यहाँ व्यापारिक दुनियाँमा डरलाग्दो तुफान, आँधीबेहरी आएको थियो । हरेक आँधी तुफान कार्यालयमा महसुस हुन्थ्यो । व्यापारमा ठूलो उथलपुथल मच्चिएको भान हुन्थ्यो ।
म्याक्सवेलले आफ्नो कुर्सी भित्ताको आडमा लगेर राख्यो । त्यसपछि ऊ नाचेजस्तो गर्न लाग्यो । ऊ मेसिनबाट टेबुल, टेबुलबाट ढोका गर्दै हाम फाल्दै गयो र फेरि त्यसैगरी फर्कियो । कामको चाप र चिन्ताले ऊ बिघ्नै अस्थिर देखिन्थ्यो ।
यसै बीचमा, उसले आफ्नो नजिकै केही आएको बिस्तारै चाल पायो । त्यो चिज अघिदेखि नै त्यँही थियो तर उसले केही थाहा पाएको थिएन । त्यहाँ सुनौलो कपाल थियो; टाउकोमाथि बाक्लो सुनौलो कपाल । कपालको माथि चराका प्वाँखहरूले ढाकिएको ठुलो ह्याट थियो । एउटा लामो चाँदीको चेन घाँटीबाट भुइँसम्म छुने गरी झुण्डिएको थियो । अनि यी सबै चिजहरूबीच एउटी जवान महिला थिइन् ।
पिचर म्याक्सवेललाई केही जानकारी दिन ती महिलाको छेउमा उभिएको थियो ।
‘त्यो सचिवको जागिर छ नि, त्यसैका लागि आउनुभएकी’, पिचरले भन्यो । म्याक्सवेल आधा मात्र पछाडि फर्कियो, हातभरी पत्रहरू र मेसिनबाट निस्किएको समाचारको कागज लिएर ।
‘कस्स्तो जागिर ?’ उसले सोध्यो ।
‘सचिवको जागिर’,पिचरले थप्यो,‘हिजो मलाई आज बिहानै मान्छे पठाउन लगाउनु भन्नुभएको थियो नि। उहाँ त्यहिँबाट आउनुभएकी ।’
‘तिमी पागल भएछौ पिचर’,म्याक्सवेले भन्यो,‘म तिमीलाई किन त्यसो भन्छु होला, भन त ? सुश्री लेज्ली धेरै उत्तम सचिव हुनुहुन्छ । उहाँले चाहुन्जेल यहाँ काम गर्न सक्नुहुन्छ । मैले उहाँलाई हटाउने सोच बनाएकै छैन ।’ र जागिरका लागि आएकी ती महिलालाई भन्यो,‘ यहाँ कुनै जागिर छैन, म्याडम ।’ अनि पिचरलाई आदेश दिँदै थप्यो–‘उनीहरूलाई अरु मान्छे नपठाउनु भन । अनि मलाई भेट्न भनेर अब कसैलाई पनि नल्याउनू ।’
ती महिला खुब झोँक्किएर त्यहाँबाट हिँडिन् । तिनी रिसले चुर भएर निस्कँदा त्यो लामो चाँदीको चेन त्यहाँका कुर्सी र टेबुलहरूमा ठोक्किँदै गयो । पिचर म्याक्सवेलको व्यवहार देखेर अलि खिन्न र अचम्मित भयो । उसले म्याक्सवेल दिनदिनै अझ भुलक्कड बन्दै गएको कुरा आफ्नो सहकर्मीलाई खुसुक्क सुनायो ।
कार्यालयमा व्यापारको हतारो झन बढ्दो र भिडयुक्त भयो । म्याक्सवेल राम्रो, बलियो मेसिनजस्तो सकेसम्म छिटो काम गर्दै थियो । उसले कहिल्यै रोकिएर सोच्दैनथ्यो तर सही निर्णय लिन र काम गर्न सधैँ तयार ऊ घडी जत्तिकै लगनशील र निरन्तर भएर काम गथ्र्यो । यो व्यापारको दुनियाँमा ऊ एकदम उपयुक्त मेसिन थियो । किनभने यो उसको संसार थियो । मानव दुनियाँ या प्रकृतिको जगत उसको संसार थिएन ।
रातको खाना खाने समय नजिकिँदै गर्दा हल्ला कम हुँदै गयो । फाट्टफुट्ट मात्र चहलपहल देखिन्थ्यो, अधिकांश आफ्नो बासस्थानतिर लागिसकेका थिए ।
म्याक्सवेल हातभरि कागज लिएर, अनुहारभरि कपाल झारेर, असिनपसिन भएर आफ्नो टेबुल छेउ उभिएको थियो । गर्मी मौसम सुरु हुन थालेकोले झ्याल खुल्ला राखिएको थियो ।
झ्यालबाट फूलको मीठो मन्द बास्ना आयो । बास्ना नाकसम्म आएपछि एकछिनका लागि ऊ त्यहिँ अडियो, हलचल नगरिकन । ऊ त्यो बासनाले एकदमै मोहित बन्यो किनभने त्यो सुगन्ध सुश्री लेज्लीको थियो । यो केवल उनको सुगन्ध थियो । त्यो सुगन्धले लेज्ली आफैँ उसको अगाडि उभिएको अनुभूति गरायो । उसले एक्कासी लेज्लीलाई याद ग¥यो, तब व्यापारको संसार क्रमशः सानो हुँदै गयो । अकस्मात व्यग्र बनेर उसले लेज्लीलाई खोज्न थाल्यो । लेज्लीलाई बीस पाइला पर अर्को कोठामा देखेपछि अलि ढुक्क भयो ।
‘म अब भनेरै छाड्छु’ आधा ठूलो स्वरमा म्याक्सवेलले आफैसँग भन्यो,‘म उनलाई अहिले नै सोध्छु । मैले पहिले नै यो कुरा किन नभनेको होला !’
आफैंँसँग गनगन गर्दै, हतारिँदै अर्को कोठामा गयो र लेज्लीको छेवैमा गएर अडियो । लेज्लीले उसलाई मुस्कुराएर हेरिन् । उनको अनुहारमा न्यानो रङ चढ्यो, अनि उनका आँखा नरम र दयालु देखिए ।
म्याक्सवेलको हात अझै कागजैकागजले भरिएको थियो । ‘सुश्री लेज्ली’, उसले हतारहतार सुरु ग¥यो, ‘मसँग एक पल मात्र छ । म तिमीलाई केही भन्न चाहन्छु । के तिमी मेरि श्रीमती बन्छ्यौ ? व्यवसायको चक्करमा व्यवहारिक तरिकाले तिमीसँग प्रेम गर्न मैले समय पाएको थिइन । तर म तिमिलाई साँच्चिकै माया गर्छु । छिटो भन न, प्लिज । मलाई फेरि काममा फर्किनु छ ।’
उनी कराइन्् ‘अरे! के कुरा गर्दै हुनुहुन्छ तपाईं ?’ कुर्सीबाट उठ्दै गोल आँखाले उसलाई हेरिन् । उनी औधी छक्क परेकी थिइन् ।
‘बुझ्दिनौ ?’,म्याक्सवेलले भन्यो,‘म तिमीसँग् विवाह गर्न चाहन्छु, म तिमीलाई मन पराउँछु, लेज्ली । म तिमीलाई यो कुरा पहिलेदेखि भन्न चाहन्थें तर व्यस्तताको कारण भन्न भ्याइरहेको थिइन, । त्यसैले आज आफू धेरै व्यस्त नभएको क्षण लिएको छु । हेर न, अहिले पनि उनीहरूले मलाई कल गरिरहेका छन् । उनीहरूलाई एकछिन पर्खन भनिदेऊ है, पिचर । मसँग बिहे गर्छर्यौ, लेज्ली ? !’
उनले बडो अनौठो व्यवहार देखाइन् । झट्ट पढ्न नसकिने खाले भाव उनको मुहारमा देखियो । सुरुमा उनी आश्चर्यमा हराएजस्ती थिइन् । त्यसपछि उनका अचम्मित आँखाबाट आँसुका ठुल्ठुला थोपा खस्न थाले । तब उनी आँसुसँगै मुस्कुराइन्, र बडो स्नेहले दाहिने हात ब्रोकरको घाँटीमा लगेर बेरिन् ।
‘मलाई अब थाहा भयो’,उनले ब्रोकर म्याक्सवेलको आँखामा हेर्दै कोमलतापूर्वक भनिन् । आँसुले अवरुद्ध अनि प्रेमिल आवाजमा थपिन्,‘यही व्यवसायले रहेछ । यसैले सबै कुरा तपाईको दिमागबाट बाहिर राखिदिएको रहेछ । म सुरुमा कति आत्तिएकी थिएँ तपाईको अजिव व्यवहार देखेर । कति दुःखी भएकी थिएँ म । तपाईले बिर्सनुभएछ । तपाईलाई याद छैन, हार्भी ? हामीले हिजो साँझ आठ बजे नै विवाह गरिसक्यौँ, अलि पर कुनाको लिटल चर्चमा ।’





