पोखरा/ पोखरा थ्रिएटरको आयोजनामा पोखरामा दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ ।
‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने नारासहित आगामी १६ गतेसम्म पोखरा थ्रिएटर गैह्रापाटनमा सञ्चानल हुने नाटक महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले गरे ।
सो अवसरमा बोल्दै उनले पोखरा थिएटरले रङ्गमञ्चको क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले भविष्यमा कलाकारको रुपमा स्थापित हुने भन्दै सम्पूर्ण विद्यार्थी कलाकारहरुलाई शुभकामना व्यक्त गरे ।
कुलपति श्रेष्ठले स¬¬–साना कलाकार नै भविष्यको अब्बल कलाकार हुने बताउदै अध्ययनसँगै रंगमञ्चमा निरन्तर लाग्न सुझाव दिए ।
त्यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (विखर्ची) ले नाटकले मनोरञ्जनसँगै नैतिक शिक्षा प्रदान गर्ने धारणा राखे ।
नाटक छनोट समितिका संयोजक तथा रंगकर्मी प्रकाश घिमिरेले गण्डकी प्रदेश नाटकको उर्वरभूमि भएको बताउदै गण्डकी प्रदेशभरबाट कुल १२ नाटक छनौट गरिएको जानकारी दिए । ‘
पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङका अनुसार पहिलो दिन विद्याज्योती मावि लमजुङको ‘जिउँदा लासहरु’, वरचुली मावि नवलपुरको ‘सक्षम छात्रा’ र बेनी सामुदायिक मावि म्याग्दीको ‘बाल विवाह’ मञ्चन भएको छ भने आज कुमारी प्रावि नवलपुरको
‘हराएको खुसी’ कालीगण्डकी आवसीय माविका बाग्लुङको ‘विदेशिनु पर्दाको पीडा’ र न्यू होराइजन आवासीय मावि पर्वतको ‘मेरो समाजका नारी’ शीर्षकमा नाटक मञ्चन हुनेछन् ।
यसैगरी १५ गते त्रिभुवन मावि नवलपुरको ‘जिम्मेवार को ?’, पञ्चमुनिदेव मावि तनहुँको ‘नाम विनाको चिर्कटो’ र भानुभक्त आवसीय मावि कास्कीको ‘शान्तिको अशान्ति’ मञ्चन गरिनेछ । भने अन्तिम दिन १६ गते शक्ति मावि गोरखाको ‘एक समर्पित छोरा’, युनिभर्सल मावि बेशीसहरको ‘धनबहादुर’ र धर्मस्थली आधारभुत विद्यालय कास्कीको ‘आरोह अवरोह’ मञ्चन हुनेछ । –प्रशिक्षार्थी





