पोखरा/ प्रसिद्ध सांगीतिक व्यक्तित्व अम्बर गुरुङको जन्मजयन्तीका अवसरमा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापनाको घोषणा भएको छ । प्रत्येक २/२ बर्षको अन्तर प्रदान गरिने उक्त पुरस्कारमा २ लाख रुपैयाँ नगदसहित, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ । नेपाली सांगीतिक क्षेत्र ४ विद्या गीत लेखन, गायन, संगीत र वाद्यवादनका प्रतिभा र योगदानका आधारमा पुरस्कृत गरिने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्तले जानकारी दिए ।
पोखरेली युवा सांस्कृतिक परिवारले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरुभक्तले आगामी बर्षदेखि पुरस्कार प्रदान गर्न थालिने बताए ।
उनले आउँदो वर्षदेखि नेपाली गीत, संगीत, गायन र वाद्यवादनमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई अमर गुरुङ राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने जानकारी दिए ।
पोखराको प्रतिष्ठित साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको उक्त पुरस्कार संचालन गर्न कम्तिमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने छ । कोष स्थापनाको लागि ३ बर्षअघि भेट्रान गुप हङकङले आयोजना गरेको गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रमबाट ५ लाख रुपैयाँ हस्तान्तरण भएको थियो ।
पुरस्कारको अक्षकोषमा राख्न पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाका घेराभित्र सरुभक्त’ कार्यक्रमबाट वचत भएको २ लाख ५० हजार कोषमा थपिएको थियो । पुरस्कार स्थापना समितिले पुरस्कारको अक्षयकोष वृद्धि गर्न विभिन्न व्यक्ति र संस्थालाई सहयोग आह्वान गरेको सरुभक्तले बताए । गीतकार, गायक तथा संगीतकार गुरुङ नेपाली राष्ट्रिय गानका संगीतकार हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको विक्रम संवत १९९४ फागुन १५ गते भारतको दार्जिलिङमा जन्मिएका थिए । ७८ बर्षको उमेरमा उनको मृत्यु २०७३ जेठ २५ मा भएको थियो ।
पुरस्कार स्थापना समितिका सहसंयोजक तीर्थ श्रेष्ठले अम्बर गुरुङप्रतिको श्रद्धाले पुरस्कार स्थापना गरिएको बताए । ‘पुरस्कारको रकम ठूलो कुरा होइन, श्रद्धा ठुलो कुरा हो,’ श्रेष्ठले भने, ‘हामीले पुरस्कार स्थापना गरेर उहाँ र नेपाली संगीत जगत प्रति श्रद्धा अर्पण गरेका हौं ।’संयोजक सरुभक्तले पुरस्कारका लागि आवश्यक कार्यविधि तयार भइसकेको जानकारी दिए । पुरस्कारको अक्षयकोषमा करिब ६० प्रतिशत रकम जम्मा भइसकेको जानकारी दिँदै उनले आगामी वर्षहरुमा अक्षयकोष र पुरस्कार राशी बढाउँदै लैजाने बताए ।





