१
तिमी राम्री छौ भनेर भन्न पनि सक्दिन, तिम्रो आँखामा आँखा जुधाएर । निदाएका आखाँहरु पनि तिमीलाई बिर्सन सक्दैनन् र त तिमी बेला बेलामा सपना बनेर आउछ्यौ । भो अब त सम्झिन्नँ भन्दा पनि मैले सम्झिने मान्छे तिमी नै हौ । बगैंचा भरी फुलेका फूलहरु हेर्दै तिमीलाई सम्झँदै मुस्कुराउनुको मज्जा पनि बेग्लै हुन्छ । कल्पनाको संसारमा आफूलाई मन परेका मान्छेहरुलाई मात्रै सजाउन पाइन्छ । जो आफूलाई मन पर्दैनन्, उनीलाई समेट्नै पर्दैन । त्यसैले त मलाई कल्पनामा रमाउने बानी परेको छ ।
यस्तै यस्तै कुराहरु समेटेर मैले डायरी भरी सकेको थिएँ ।
सबैजना आफ्नो बारेमा लेख्छन् तर मैले उनकै बारेमा लेखेरै डायरी भरिएको थियो । त्यसो त डायरीको नाम नै उनको नामबाट राखेको थिएँ–‘सन्ध्या’ !
यदि बैज्ञानिकहरुले प्रत्येक मान्छेले धेरै उच्चारण गर्ने शब्द थाहा पाउने मेसिन बनाए भने मेरो ओठले उच्चारण गर्ने नाम सन्ध्या नै हुन्थ्यो होला ।
‘तिमी त यो साझ भन्दा पनि नसालु छौ । मदिरा पिउनै पर्दैन । ‘रत्नपार्कमाथिको पुलमा साँझपखको रौनक सधैंजसो हेर्न लायक देखिन्छ । म उनको आखाँ हेरेर बोलेको थिएँ ।
उनको मन्द मुस्कानले ओठमा गुलाब फक्रीहाल्यो । प्रायः जसो आखाँमा गाजल र ओठमा लिपिस्टिक छुटाउँदिननन् । ठूलाठूला आँखा,सर्लक्क परेको शरीर,गोरो गोलो अनुहार,फुकै छोडेको कपाल बेलाबेलामा अगाडी पछाडि मिलाई रहन्थिन् । जुन कपडा लगाउँदा पनि लाग्थ्यो, उसकै लागि छुट्टै कम्पनीले पठाएको हुनुपर्छ ।
साँझ छिप्पिँदै थियो । पुलमा मान्छेहरुको चहलपहल घट्दै थियो ।बाटोमा सार्वजनिक माइक्रोबस भन्दा निजी गाडीहरुको चाप बढेको थियो ।
‘अब त अधेरो हुन थाल्यो’, सन्ध्याले बिस्तारै ओठ चलबलाइ ।
‘तिमी छौ नि त जुनजस्तै ।’
‘कसरी हुनु म त ‘सन्ध्या’ साँझ हुँ । जति छिप्पिँदै जान्छ त्यति नै भयानक हुन्छु ।’
‘तिमी त दिन र रातको चञ्चलता हौ । यहाँ सबै रमाउछन् । चरा देखि मान्छे सम्म को थकान मेटिन्छ । हरेक दिन मान्छेहरू साँझलाई कुरिरहन्छ । मैले जस्तै ।’
‘मेरो बुद्धुुलाई गफगर्न खुब आउछ है ।’
‘मलाई पनि त साँझ मनपर्छ त्यो भन्दा पनि धेरै सन्ध्या मन पर्छ ।’
‘म त्यति राम्री छुँ र ?’ लजाएका आखाँहरु मेरो अनुहारभरि घुमाउदै प्रश्न गर्थी ।
‘त्यो भगवानले बनाएको हैन तिम्लाई । भगवानले यति राम्रो बनाउनै जान्दैन । तिमी त आफैं बनेकी हौ ।’ म उनको प्रश्न भन्दा पनि फरक जवाफ दिन्थेँ ।
‘म त साँझ हुँ । कति नै बेर रहन सक्छु र खै राम्री भए पनि नराम्ररी भए पनि ।’ मन विचार गरेरै छाड्ने जसरी कुरा गर्थी । कहिलेकाहिँ त ।
‘तिमी हरायौ भने तन थाक्ने बेलासम्म हैन। मन नथाक्ने गरी खोज्नेछु । धेरै सोच्दिन, मनमा आयो त्यही गर्छु । ‘प्रेम गर्नेहरुसँग बहानाहरु धेरै हुन्छन् अनि बहानाभन्दा पनि धेरै चाहना हुन्छ । कल्पनाको धरातल बनेको नै प्रेमीहरुको लागि हो । कतिपय कुरा आँखाहरु बोल्छन् । केही कुराहरु ओठले खोल्छन् । कहिलेकाँहि ओठले ओठ भित्रै गएर खोतलिदिन्छ ।
‘खोज्दा पनि भेटिइन भने ।’
‘जबसम्म तिमी छौ नि तबसम्म म जीवित रहन्छु मेरो प्रेम जिवित रहन्छ । प्रेम वाइफाइ जस्तो हैन, रेन्जभित्र टिप्ने नत्र नटिप्ने यो त हर्ट टु हर्ट कनेक्सन हो जहाँ पनि टिप्छ अनि सर्च गरि हाल्छ ।’
आखाँबाट प्रेमिल आँशुहरु खसाली अनि कसेर मलाई अंगालो हाली । उसको र मेरो ओठको पनि त नाता थियो । ओठले ओठलाई चुम्बकले जस्तै आर्कषण ग¥यो अनि छोएर छाडिहाल्यो ।
बागबजारको पद्म कन्या क्याम्पसनेर बाट सन्ध्या छुट्टीइ। मैले उभिएरै परसम्म हेरिरहेँ । चोकनेरै पुगेर सन्ध्याले पछाडि फर्केर हेर्दै मुस्कुराउदै साँझ जस्तै बिलाएर गइ ।
२
मनले धेरै परपर फड्को मारिरहेको थियो । मलाई त त्यहाँ जानुछ जहाँ कोही पनि पुगेका छैनन् । अनि दिल खोलेर मुस्कुराउनु छ । साँझ बिहान सँगै बसेर । सन्ध्याको मन र मेरो जीवन एक आपसमा परिपूरक बनाउन मन छ । जे छैन नि त्यही कुराको अभावले सताई रहन्छ जिन्दगीमा ।
रात कसरी बित्छ त्यो उज्यालो दिनले महसुस गर्दैन तर बिहानले पर्खिएर बसेको हुन्छ ।
‘म भोलि कलेज आउँदिन ।’ म्यासेन्जरमा हिजो बेलुकीदेखि नै सन्ध्याको म्यासेजले कुरेर बसेको रहेछ । यक्टिभ ८ आवर अगो सन्ध्या अनलाइन थिइन । उस्को म्यासेज पढेपछि मेरो मुड पनि अफलाइन भयो । कलेज जान मन लागेन । मन नलागी–नलागी भए पनि कलेज हिँडे । सधैंजसो मलाई कुरेर बस्ने ठाउँमा आँखा दौडिए तर सन्ध्या थिइन् । कलेजमा चिनेका धेरै साथीहरु थिए र पनि म एक्लै महसुस गरेको थिए । त्रिचन्द्रको गेट नेरै पुग्दा राजीव भेट भयो । घर पूर्वतिर हो भन्थ्यो । कलेज मै आएर चिनेको । सुरुसुरुमा सगै बसिन्थ्यो तर सन्ध्यासँगको चिनजान पछि नै ऊसँगको सम्बन्ध पातलिएको थियो । आजसँगै बस्ने निश्चित नै थियो ।
कतिपय कुराहरु भेटिदैन भन्ने थाहा हुँदाहुँदै पनि खोजिरहन मन लाग्छ, त्यसैले होला आँखाहरु भौतारिएका थिए । बिहानभरि क्लास बसेँ तर केही पढिएन ।
‘मेरो मन फलामजस्तो छ । तिमी पगाल्न सक्दैनौ ।’
‘मेरो मन चुम्बक जस्तै तिम्रो मन मा टाँसिएर बसेको छ ।’
‘तिमी पनि म जस्तै भयौ भने हामीहरुबीच विकर्षण बढ्नेछ ।’ ऊ फिस्स हाँस्दै बोली । साच्चै फलाम फलामसँग मिल्दैन । आफ्ना आफ्नाहरुसँग मिल्दैनन् ।
बरु खिया लाएर सकिन्छन् फलामजस्तै ।
‘मैले नै पहिले तिमीलाई चुम्बक बनाइसक्ने छु ।’कुराकानि चुम्बकमा गएर अडियो । भृकुटीमण्डपको ठेलाको चटपट ऊ खुब रुचाउथी । मलाई पनि बानि पारेकी थिइ । चटपटे मुखमा राख्दै बच्चालेझैँ सबाल गरिरहेकी थिइ । आँखालाई बेला बेलामा तलमाथि घुमाइ रही । मलाई उसका आँखा औधि मन पर्छन् ।
‘म त क्षेत्रीकी छोरी हुँ ख्याल गर नि फेरि ।’ आफ्नो साहस जात बाटै जनाइ हाली । म पनि के कम बोलि हालँे ।
‘म त फेरि बाहुनको छोरा हुँ नि ।’हिमालजस्तै सेता दाँत देखाउँदै मुसुक्क मुस्कुराइ । ऊ मुस्कुराइरहँदा मैले संसार भुलिदिन्छु,मात्र उसलाई सम्झेर । मान्छे के भएर जल्छन् मलाई थाहा छैन तर मेरो लागि उसका आँशुभन्दा प्रज्वलनशील पदार्थ अरु केही छैन । उसको आँखाको आँसुले मेरो मन जलिहाल्छ ।
‘तिमी थोरै पनि मुस्कुरायौ भने म सजिलै तिम्रै ओठकोबारे कविता लेख्दिन्छु । ’ उसको ओठमा पर्पल कलरको लिपिष्टिक खुब सुहाउँथ्यो । उसले ओठलाई बन्द गरिहाली ।
‘ल अब चाहिँ नहाँसेको कविता लेख है । ’ हाँस्दिन भन्दाभन्दै पनि हासिँहाली । म पनि हाँसे । एक छिनपछि चुपचाप भयौँ । केही पनि बोलेनौँ । नबोलिनबोली हिँड्यो भने जो पनि अन्जानजस्तो भइदिने । नबोल्दा पनि म उसकै बारेमा कल्पना गरिरहन्छु । उसका ठूलाठूला आखाँहरु मेरा आँखा छोप्ने गरी डुल्छन् । उसको ओठले पनि मेरो गालामा छाप लगाइ रहन्छ । कपालका रौंहरु मेरो मनलाइ बहकाई रहन्छन् ।
हामी तिनीहरुको बारे धेरै सोच्ने गर्छौँ जो दिलको करिब हुन्छन् । त्यसैले त म उसकैबारे सोचिरहन्छु ।उसको अनुहारमा हेरेँ उसले पनि हेरि फेरि मुस्कुराइ ।
‘तिमी आज कलेज किन आइनौ । ’पहिले नै सोध्नुपर्ने प्रश्न बल्ल चुहिइयो ।
‘ममी घरमा हुनुहुन्थेन त्यसैले ।’
‘तिमी नभए त कलेज पनि अँधेरो देखिने रैछ । साँझ पो मीठो हुन्छ । रात त डरलाग्दो ।’
‘ओहो ! भने पछि आज पनि पढ्नु भएन ।’
‘मलाई पढाउने मान्छे तिमी नै थिइनौ कसरी पढ्नु ।’
उसले सांकेतिक शैलीमा नै जवाफ फर्काइ । लाज मानेझैँ गरि । फूल जति सर्माउछ नि उति नै सुन्दर देखिँदो रहेछ । लालीगुराँसमा जस्तै लाली चढेको थियो गालामा ।
मलाई जति प्रेम गर्छे नि त्यो भन्दा पनि धेरै हक जमाउन खोज्छे ऊ ।
३
सन्ध्याको फोनले मोबाइल थर्कियो ।
‘तपाईंहरु जो मसँग एडजस्ट हुन सक्नुहुन्न नि । प्लिज मसँग टाढा हुनुस् तर मलाई तनाव नदिनुस् ।’
भर्खरै फेसबुकमा स्टाटस अपडेट गरेको थिएँ । त्यही स्टाटसको रिजल्ट थियो सन्ध्याको फोन ।
पहिलै रिङमा फोन उठाँए ।
‘किन ! आज अफसेट छौ हो ?’उसको स्वर धेरै मधुरो सुनियो ।
‘हैन हैन केही भा छैन ।’ खासै खुलेर जवाफ दिइनँ तर पनि आँ गरे अलंकार बुझी हाल्थी । म पनि धेरै अन्तर्मुखी स्वभावको मान्छे थिएँ । कसैले सामान्य कुरा ग¥यो भने पनि मनमा छोइहाल्थ्यो । काँडाजस्तै बेला बेलामा चस्किरहने । जे कुरा पनि हल्का रुपमा लिने क्षमता ममा थिएन ।
‘कोठाभित्र गुम्सिएर बस्छौ,जतिखेर पनि । बाहिर निस्कन फ्रेस भै हाल्छौ ।’ खुसी सामान्य सानासाना कुराहरुबाट नै मिल्छ । तिनै सानासाना खुसीका दानाहरु टिपेर गलामा सजाउन सिपालु थिइ। सन्ध्या ।
घडी हेरेको बल्लबल्ल चार बज्दै थियो । बेला न कुबेला कता निस्कनु ? चिनेकोले बाहिर केटीसँग सँगै देखे भने शंका गरिहाल्छन् । छोरो राजधानी छिरेपछि बिग्रने हो कि भन्ने बाआमाको आशंका पनि सावित हुने डर बढेको थियो ।
‘म एक्लै कता निस्कनु तिमी पनि आऊ ।’ प्रेमिका हुनु एउटा फाइदा एक्लै घुमिरहनु पर्दैन । प्रेम जति गाढा हुँदै जान्छ । जिन्दगीमा फिकापन बढ्दै जाने पक्का भएर नै हो एक्लै रहन नसक्ने गरी कमजोर भइदो रहेछ ।
‘हस् बाबा हस् !’ मेरो एजेन्डा पारित भयो । बागबजार तरकारी बजार को अगाडिपट्टि भेट्छु भन्दै फोन राखेँ ।
उसको घर कालिकास्थान थियो । मेरो रुमबाट २० मिनेटमा पुगिन्थ्यो ।
पुतलीसडक सडक रोड नेरै आँखा ओछ्याएर उभिएको थिएँ । केटीहरुले कुराउन र वहाना बनाउन निकै सिपालु हुन्छन् । पर्खिएर बसेको समय एकदमै लामो महसुस भइ दिन्छ ।
ब्लु जिन्स र ब्लाक टिसर्ट माथि सेतो आउटरमा मेरो छेउमा उभिएकी थिइ, सन्ध्या । शिरदेखि पाउसम्म हरेक अंगहरुले आफ्नो आफ्नो आकार लिएका थिए । खै आज त ध्यान कता गयो गयो । मेरो प्रेमको अतिक्रमण ओठसम्म मात्रै पुगेको थियो तर आज मन नै उरन्ठयाउलो बनेको थियो ।
माया गर्नेहरु भेट्दा न हाइ भन्नुपर्छ न हान्डसेक नै गर्नुपर्छ । आखाँले आखाँमा हे¥यो, मुसुक्क हाँस्यो पुगिहाल्यो । म पनि त उस्तै थिएँ । सन्ध्या आएर आडमा उभिइ । मलाई गर्मीको महसुस ह्वात्तै भयो । उ नै हट हो कि म धेरै चिसो हुँ ! बुझ्नै सकिन ।
‘काठमाडौं मल जाऊँ है । मलाई सपिङ गर्नु छ ।’ सन्ध्याले हाँस्दै मेरो मुखमा हेरी । केटीहरु किन जहाँ पनि आफ्नै फाइदा खोज्ने ? मलाई फ्रेस बनाउनुभन्दा पनि आफैलाई ड्रेस पो चाहिएको रहेछ । मनमनै सोचेँ ।
हुन्छ भन्ने इसारामा मुन्टो मात्र हल्लाएँ ।
‘सपिङ स्पेसल ? ’ मैले अन्जान सवाल गरेको थिएँ ।
‘पोखरा जाँदै छु नि म भोलि ।’
‘मलाई किन नभनेको त ।’
‘बाबा ममिसँग परिवार नै जाँदैछौँ, त्यसैले ।’
‘के म तिम्रो परिवार भित्र पर्दिन ?’ मलाई निहुँ खोज्न सजिलो भयो ।
‘तिमी त म भित्रै छौ । परिवार भनेर त्यति टाढा लैजानै मन लाग्दैन ।’
चित्त बुझेझैँ गरी म मुस्कुराएँ । उसको चाल मयूरकोभन्दा फरक थिएन । मलाई पछि देखेपछि रोकिइहाल्थी ।
सुन्धारा माइक्रोबस स्टेसन नै थियो । कति यात्रुहरु गन्तव्यको पर्खाइमा थिए । चाहेँ नजिक नै किन नहोस् ।मेरो पनि गन्तव्य भनेकै सन्ध्या थिइ, उसँगै म थिएँ । खलासी पनि आफ्नो रुटका सबै ठाउँका नाम एक्कै सासमा भनिहाल्छ । कस्तो नबिर्सेको होला ?
काठमाडौं मलमा सपिङ सकाएर बाहिरियौँ । सन्ध्याको बानी अरु केटीको भन्दा फरक थियो । सामान धेरै चाल्दैन थिइ । शरीरमा मिल्ने भए भै हाल्यो । ब्लु कलर औधी मन पराउँथी । जे लगाए पनि मिलिहाल्ने, ज्यानै उस्तै ।
मन्दिरमा जानेहरु सबै माग्नेहरु नै त हुन् । फरक यति नै हो कि धन भएकाहरु मन्दिर भित्र पसेर माग्छन् । धन नभएकाहरु मन्दिर परिसरमा नै माग्छन् । मलाई यस्तै लाग्थ्यो । हामी शहिद गेट कटेर भद्रकाली मन्दिर परिसरमा पुग्याँै । सन्ध्या एक हप्ताको लागि पोखरा जाँदै थिइ । उसको आँखामा उत्सुकता र खुसी एकै साथ दौडिएको थियो । म भने उसको खुसीमा पनि निराश थिए । ऊ भोलिबाट सँगै हुँदिन भनेर हो कि मैले ऊ सँगै हुँदा पनि एक्लै छु किजस्तै लाग्थ्यो ।
‘किन नबोलि बसेको हँअ ?’ सन्ध्याको मधुरो स्वर मेरो कान भित्र गुन्जियो ।
‘तिमी पनि त बोलेकि छैनौ ।’ हाँसेजस्तै गरेँ ।
लाग्यो। मेरो मनले जे सोचेको छ उास्ले पनि त त्यही सोच्दै होलि । उनको र मेरो मन एउटै छ । धड्कन एउटै छ । विस्वास पनि त उस्तै छ ।
मेरो हात समाएर काँधमा टाउको टेकाएकी थिइ, सन्ध्याले । मैले उस्को मुटुको धड्कन महसुस गरिरहेको थिएँ । सन्ध्या मेरो एकदमै नजिक थिइ । मेरो शरीरको कोशकोषले उसको स्पर्श गरेको थियो ।
४
‘म त थानकोट पुगिसकेँ ।’ सन्ध्याले म्यासेज पठाएकी रहिछ । म देशको राजधानीमा थिएँ तर पनि किनकिन मलाई मेरो राजधानी पोखरा सरेजस्तो लाग्यो । जुन ठाउँलाई देशको मुटु मानिन्छ नि त्यो राजधानी हो । सन्ध्या पनि त मेरो राजधानी थिइ ।
‘मलेखुमा खाजा खाँदैछु । मुग्लिनमा आधा घण्टा रोक्यो । बाटो भरि खुब गर्मी भो ।’ ऊ बेलाबेलामा ठाउँठाउँको अपडेट दिइरहन्थी । लाग्थ्यो,म नै पोखरा जाँदैछु उसँगै ।
प्रेम प¥यो भनेर भनिरहनु पर्दैन । प्रपोज गर्न पनि भ्यालेन्टाइन डे चाहिन्न । प्रेम त बेमौसमी खेती हो,जतिखेर पनि नयाँनयाँ स्वाद पाइन्छ तर बेलाबेलामा एग्जाम भने दिइरहनुपर्छ । क्यामेष्ट्रीका जस्ता सजिला रियाक्सन हुँदैनन् । इट इज सो कम्प्लिकेटेड ।
दिन ढल्किदै थियो । सन्ध्याले पोखरा पुगे भनेको पनि धेरैबेर भएको थियो । कोही छ भनेर एक्लो महसुस हुनु र एक्लै भएर एक्लो महसुस हुनुमा धेरै अन्तर रहेछ । मसँग दिन थियो, रात थियो उस्तै साँझ पनि थियो तर सन्ध्या थिइन् । प्रेम गर्नेहरुले जब नजिक हुन्छन् नि सब थोक दिन्छन् तर टाढा गए भने रुन लायक पनि छोड्दैनन् ।
प्रेममा परेको मान्छेले परिवार भुल्छ भन्छन् । तर, यो कुरा म मान्दिन । प्रेममा परेको मान्छेले त झन् परिवारमात्रै सम्झिन्छ । सन्ध्याको अनुपस्थितिमा बाबाममीको याद खुब आएको थियो ।
‘तिमी कस्ति भएर गयौ त पोखरा ? ’ म्यासेन्जरमा अनलाइन देखेपछि म्यासेज सेन्ड गरेँ ।
ओठ चुच्चो गरेको सेल्फी पठाइहाली ।
‘तिम्रो ओठ चुच्चो पारेको कस्को लागि नि ?’ अर्थै नभएको प्रश्न गरेजस्तो लाग्यो । सेन्ड भइसकेको म्यासेज डिलिट गर्न नमिल्ने । उसको ताजापन त्यही तस्वीरमा थियो । जब आफ्ना मान्छेहरु दूरीले टाढा हुन्छन् । प्रेम त गाढा होला त उसका यादहरु तस्वीर बनेर घुम्छन् ।
‘तिम्रो लागि त हो जे गरेपनि हुन्छ ।’ हुन त हो, उसले मलाई सबै किसिमका छुटहरु दिएकी थिइ ।
सन्ध्याको ओठको लिपिस्टिक मेरो ओठमा धेरै पटक लेपिएको थियो र त लाज नै मान्दै न थि । उस्को फोटो जुम गरेर ओठमा टाँलिहाले ।
‘हेर कान्छी फोटोले काम चलाउन हाम्ले जानेका छम् ।’ म गर्नै पनि के सक्थेँ र ।
‘म नभए पनि काम चलाउन सक्छौँ त ?’ कति सजिलै भनिहाली । पहिले मेरो मुटु ढुङगामाथि राखेको थिएँ तर उसले त मेरो मुटुमाथि नै ढुंगा राखिदिइ ।
‘बाँच्ने कुरा त छोडिदेऊ मलाई मर्न पनि तिमी चाहिन्छ ।’ मलाई प्रत्यक पत्थरको जवाफ फूलले दिने बानि परेको थियो ।
❤स्टिकर टाँसेर पठाइ । जब फेसबुकमा जटिल प्रश्न उठ्छ नि अनि स्टिकर टाँसिन्छ ।
जब कसैलाई प्रेम गर्न थालिन्छ नि त्यसपछि आफ्नै पनि औधी माया लाग्न थाल्छ ।
भावनात्मक कुरामा सन्ध्या पग्लिहाल्थी, मैनजस्तै ।
भिडियो कलको घन्टी बज्यो । आँखा जुधिहाले । जब मायालुको अगाडि परिन्छ नि तब फेरि लब पर्न थालेकोजस्तै हुन्छ । बच्चा जस्तै बनिहालिन्छ केही नजानेजस्तो, नबुझेजस्तो कस्तो कस्तो ।
‘कस्तो दुब्लाए जस्तो देखिएको । बिहानदेखि केहि नखाइ बस्याछौ जस्तो छ ?’ जब कसैले सोध्छ नि तब दुईवटा उत्तर आउँछन् कि आमा कि प्रेमिका । मेरा उत्तर दुईवटै हुन्छन् ।
‘खाएको छु नि नपत्याए हेर ।’ ल्यापटपलाई किचन तिर घुमाइ दिएँ । कोठाका सामानहरु लथालिंग अवस्थामा थिए । फोहोर र लथालिंग देखे सन्ध्या रिसाइहाल्थी ।
तर, आज केहि बोलिन । एकोहोरो हेरीमात्रै ।
‘तिमी पनि मसँगै भएको भए कति रमाइलो हुन्थ्यो है ।’रुन्चे अनुहार बनाएर बसेकी थिइ, ल्यापटपको अगाडि । म चुपचाप थिएँ ।
‘मलाई त पोखरामा बस्न मनै लागेन । तिमी बिना मुस्किल छ पोखरामा ।’ सन्ध्याले मैलेभन्दा पनि एक्लो महसुस गरेकी रहिछ । उसको अनुहारले यस्तै भन्थ्यो ।
‘तिम्रो एक हप्ताको ट्रिप सफल बनाउनु बाबाममीसँगै त छौ । ‘मैले औपचारिक जवाफ फर्काएँ । उसले मुन्टो मात्रै हल्लाइ ।
‘हामीहरु सँधैसँगै त हुन्छौ नि है ?’ सन्ध्याको अप्रत्यासित प्रश्नले म झस्किएँ । उसले आजसम्म पनि हाम्रो प्रेममा आशंका मिसाएकी थिइन । यो उसले गरेको सबाल हुँदै हैन । सायद उस्लाई अरु कसैले सोधेको हुनुपर्छ । मेरो सन्ध्या त्यति कमजोर थिइन । दूरी बढेको बेलामा प्रेम कमजोर महसुस गर्नु हुँदैन ।
‘जब दुई प्रेमीहरुको बीच हावा बहन त डराउँछ भने हामी कसरी अलग हुनु ।’ उस्को र मेरो सम्बन्ध नै मौनतामा अडेको थियो । शुन्यता थियो जहाँ प्रेम बाहेक अरु केही थिएन । प्रेममा भएको शक्तिको अगाडि न्युटनको चालसम्बन्धी सिद्दान्त पनि फ्लप खान्छ ।
‘बाबा आउनुभो बाइबाइ म गएँ है अहिले ।’प्रेममा डर पनि हुन्छ रहर पनि हुन्छ । परिवारको आखाँ छलेर प्रेम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।
५
‘हेलो ! तपाईं पुनर्योग शर्मा हैन ?’ मोबाइलले नचिनेको मान्छेको आवाज सुनाइदियो या मैले चिन्न सकिन ।
‘हजुर! हजुर !! म पुनर्योग नै हो ।’ मैले फोनमै स्पष्टीकरण दिए। कोही परिचित नै हुनु पर्छ अड्कल काँटे । केटीको आवाज थियो। । एकछिन रोक्किएर आवाज आयो।
‘मलाई चिन्नु भएन ?’ ‘धेरै नै निकटको सम्बन्ध भए झैं कुरा गरी ।
‘चिन्न त चिने ठ्याक्कै याद भएन ।’
‘म सन्ध्याको साथी । ’ नाम भनिन तर मैले चिनिहालेँ ।
‘आज कताबाट सम्झियौ ?’ औपचारिक प्रश्न बाट नै सुरु गरेँ । ऊ खित्का छाडेर हासीँ तर हाँसो मलाई मन परेन । केही उरन्ठेउलो लाग्यो । सन्ध्या हाँस्दा मनमग्न हुन्थें तर उसको हाँसो मलाई मीठो लागेन ।
‘किन मैले फोन गर्नु हुदैन र ?’ झर्केको जस्तो आवाज सुनियो। सन्ध्यालेबाहेक अरुले फोन गर्नै हुँदैन भन्न मन लागेको थियो तर भनिन ।
‘त्यस्तो भन्न मिल्दैन ?’
‘तपाईंको बुक मसँग रहिरह्यो । त्यसैले फोन गरेकी ।‘
‘रत्नपार्कको पुलमुनिको स्टेसनरीमा ‘पल्पसा क्याफे’ छाड्दिएकी छुँ लिएर जानु होला ।’ उपन्यास पढ्न मलाई खुब मनपर्छ पढिरहन्छु । पल्पसा क्याफे सन्ध्याले नै मलाई गिफ्ट दिएकी थिइ । ऊ कहिले काही सुनाउथी तिम्रो र मेरो प्रेम पनि कतै दृष्य र पल्पसाको जस्तै बन्यो भने ? मनमा डर पैदा गर्थी । प्रेम कहानी बिछोडमा टुंगिन्छ । पल्पसा जति सुन्दर थिइ सन्ध्या पनि उस्तै थिइ ।
पोखरा गएपछि सन्ध्यासँगको बोलचाल पातलो भएको थियो । ऊ पनि व्यस्त नै थिइ । फोन ग¥यो काटिहाल्थी अनि म्यासेज पठाउँथी । कहिले बाबासँग छ,ु कहिले ममीसँग छु । प्रेमको बाधक जहाँ पनि परिवारनै भइदिन्छ ।
एक दिन, दुई दिन गर्दै छ दिन बितिसकेछ । सन्ध्या बिना एक दिन पनि रहन सक्दिन जस्तो लाग्थ्यो तर मैले छ दिन एक्लै बिताएछुँ । एडप्टेसन नै रहेछ सब कुरा । धेरै भयंकर लागेका कुराहरु पनि सामान्य भएर जान्छन् तर पनि मनले नमान्ने रहेछ छिट्टै स्वीकार गर्न । जब सन्ध्या पोखरा गएकी थिइ, पुनर्योग को बिजोग भएको थियो ।
प्रेमिका धेरै राम्री भए खुब पिर पर्दो रहेछ । कतै कसैको आँखा पो लाग्ने हो कि । उस्को पनि अन्तै ध्यान गयो भने । सन्ध्या सुन्दर मात्रै थिइन । बोलिमा पनि निकै मिठास् थियो । ऊ कसैसँग बोल्दा हाँस्दा पनि मनमा जलन भैहाल्ने ! यो कस्तो प्रेम?
‘आज छ दिन भएछ तिमीसँग भेट नभएको । भोलि बिहान फर्किन्छु ।’ आज धेरै दिनमा सन्ध्याको फोनले मोबाइल बज्यो ।
‘तिम्लाई के ल्याइदिएर आउँ त पोखराबाट ?’
‘तिमी आए मलाई केहि पर्दैन ! मलाई मेरो सन्ध्या ल्याइदिएर आउँनु है ।’ मेरो डिमान्ड अलिक फरक र धेरै महत्वपूर्ण थियो जिन्दगी भरिको लागि । म सन्ध्यालाइ कहिल्यै पनि गुमाउन चाहन्न । ऊ मुस्कुराइ मात्रै । धेरै याद आएको छ भन्ने कुराको पुष्टि उसले बोलीबाटै गरेकी थिइ ।
‘अँह सुन ! मलाई यो छ दिन भरीको माया पोको पारेर ल्याइ दिनू ।’ मेरा मागहरु बढ्दै थिए । उसले पोखराका हर गल्लीदेखि ठाउँ ठाउँका तस्वीरहरु म्यासेन्जर भरि छरपस्ट पारेकी थिइ । मलाई उसका तस्वीरहरुले एक्लो हुनबाट बचाएका थिए ।
‘छ दिनको मात्र हैन म त जिन्दगी भरीको माया पोको पारेर दिन्छु ।’ म तिम्रै हुँ भनेर प्रमाणित गर्ने आधारहरु सँधै पेस गरिरहन्थी । उसको र मेरो प्रेम कहिल्यै संशोधन भएन सधैं उस्तै छ ।
‘हुँदैन हुँदैन पु¥याइपु¥याई दिनुपर्छ । फेरि रित्तियो भने ?’ उसको माया महभन्दा पनि मिठो थियो । मिठो चिज धेरै खान मन लाग्छ तर पाइँदैन पुराएर खानुपर्ने !
‘रित्तिदैन । तिम्रोलागि मेरो माया समुन्द्र जस्तै गहिरो छ ।’ प्रेमीहरु नचाहँदा नचाहँदै पनि भावनामा बहने गर्छन् । म हाँसेमात्रै । ऊ सँग त मैले प्रेम मात्र गरेँ, राजनीति गरिन । यदि राजनीति गरेको भए आफ्नो बारेमा खुब सोच्दो हुँ । उसकैबारेमा बाहेक सोच्ने फुर्सद भएन र त माया पनि माग्नु पर्ने अवस्था छ ।
सँगै हुँदा भन्थेँ, ‘म तिम्रो कहाँ बसेको छु ।’
ऊ छाती देखाउँदै भन्थी, ‘यहाँभित्र मनमा ।’
‘खै खै देखाऊ त मेरो फोटोकपी कस्तो रहेछ ।’ उसको छातीमै हात पुग्थ्यो । लाज मानेझैँ गर्थि सर्माउथी ।
‘बुद्धु यहाँ कहा देखाउनु मिल्छ त नि ।’ मेरो हात हटाइ हाल्थी ।
‘मेरो फोटोकपी कतै पासपोर्ट साइजमा त छैन नि ?’
दुबै जनाको हाँसोले आकाश छोयो ।
‘नाइनाइ भन्ने केटीको बानी हो कर गरे पो खुरुक्क जानी हो । ’ म सन्ध्यालाई गिज्याई हाल्थेँ ।
सँगै बस्यो । मीठामीठा सपना देख्यो । गफ ग¥यो । परिकल्पनाको संसारमै दगु¥यो । के यो माया हो ?
हाम्रो प्रेमको गाडी तीब्रगति दौडिरहेको छ । के सकुशल गन्तव्यमा पुग्ला त, कुनै पनि दुर्घटनामा बिना ? बहकिने मनले नानाथरी कल्पना गरिरहन्छ ।
६
बिहानै उठे भनाँै या के भनौं । अचेल बानी बिग्रिएको छ । ओछ्यानमै बिझिएर फेसबुक चलायो । फेसबुकलाई मैले चलाउन छाडिसकेँ । फेसबुकले मलाई चलाउन थालि सकेको छ। पढाइतिरको ध्यान पूरै कटौती भइसकेको छ। जब धेरै मौलाउछ नि अनि जे चिजले पनि उठीबास लगाउँछ रे ।
म पनि आज सन्ध्याको लागि व्यग्र प्रतीक्षामा थिएmँ जसरी दिनले पनि साँझको गथ्र्यो । सन्ध्याले हिँडे भनेर पनि फोन गरीन । म आफैं गर्छु भनेर पनि किबोर्डमा धेरै चोटी अंकहरु थिचेँ तर कल गर्नै मनले मानेन । मोबाइलले पनि आज सन्ध्याकै प्रेम खोज्यो मनले पनि नगदमै कारोबार गर्न खोज्यो । उसको पोखराबाट छुटेपछिका हरेक पलका कनेक्सनको तार पनि काटिएजस्तै भयो । मनले सन्ध्याकै पहिलो फोन खोजिरह्यो। सायद उसले पनि यस्तै सोची होली, पुनर्योगले नै फेरि जोडोस् भन्ने ठानी कि ? मलाई सँधै तिनै मान्छेहरुसँग रिसाउन मन लाग्छ, जसले मलाई फकाउने निश्चित छ । लाग्यो म रिसाउँदा फकाउने मान्छे सन्ध्या नै हो । त्यसैले त म सन्ध्यासँग रिसाएको छु भनौं या रिसाएको नाटक गर्दै छु । प्रेममा धेरै चाहनाहरु हुन्छन् जसलाई देखाउने तरिका फरक फरक हुन्छन् ।
सूर्यले साँझलाई भेटाउन यति कुप्रो प¥यो कि, ऊ पर क्षितिजको डाँडोमै ठोक्कियो । मेरो मनले सन्ध्यालाई एक कल फोन गर्न पनि डरायो । प्रेममा इगो राख्नु हुँदैन रे !
आज नै हो पहिलो दिन मैले उसलाई फोन नगरेको र उसले पनि नगरेको । फोन मात्रै नगरेको हुँ, फेसबुकमा त म्यासेजको लावालस्कर नै पठाएको थिएँ तर राति अबेरसम्म नै सिन भएन । ११औं बजे त्यही नम्बरमा फोन गरेँ जुन नम्बरबाट सन्ध्या मुस्कुराइ रहन्थी । मोबाइलको घण्टी नै बज्न पाएन । ‘तपाईंले डायल गर्नु भएको नम्बर स्वीच अफ गरिएको छ ।’ टेलिकमकी दिदी बोल्दै थिइन् ।
पछुतो लाग्यो सन्ध्यालाई फोन नगरेकोमा । बिहानै गर्नुपर्ने थियो । आँखाहरु आँफै भिज्लान्जस्ता भए । मन नै तहसनहस भयो । कोठाको लाइट पनि निभाँए । मेरो मन र कोठा उस्तैउस्तै भयो । सन्ध्या आज मसँग खुब रिसाएको हुनुपर्छ । सन्ध्या काठमाडांै त आइपुगी नि ? ऊ ठीक त छ नि ? मनले पनि हुने नहुने सबैतिर सोचिसकेको थियो । बारम्बार फोन ट्राइ गरेँ । रातभरि निद्रालागेन । बिहान हेर्दा मोवाइल चार्ज सकिएको थियो । रुममा बिजुली रहेनछ मोबाइल स्वीच अफ भयो । आज सन्ध्या जरुर कलेज आउछे भन्ने लाग्यो तर अहँ उ, कलेजमा पनि थिइन । न रुनु न हाँस्नु भनेको के हो महसुस गर्दै थिएँ ।
सन्ध्याको बर्थ डे आउन एक दिन मात्र बाँकी थियो तर उसको मोबाइल पनि मसँग बोलेको थिएन ।
एक वर्ष पहिले उसको बर्थ डे कै दिन मैले सोधेँको थिएँ ।
‘सन्ध्या तिमीलाई एकदमै मन पर्ने चिज के हो ? ‘उसले धेरैबेर सोचे जस्तो गर्दै जवाफ दिइ ।
‘अंम्म्मम्म्म्म्म्,,,, तिमी !’
‘मैले को मान्छे मन पर्छ भन्या हो र के मन पर्छ पो भन्या नि ! तिम्रो लागि बर्थ डे गिफ्ट के दिँउ भनेर नि !’
‘तिमी जे दिन्छौ नि त्यही मन पर्छ मलाई ।’ मेरो मन राख्दै सन्ध्या मुस्कुराएकी थिइ । मलाई जे मन पथ्र्यो ऊ त्यही मन पराउँथी ।
ब्लु जिन्स र टिसर्टमा सन्ध्या खुब राम्री देखिन्थी । उसको लागि गिफ्ट जस्तै गरी प्याकिङ गरेँ । हातमा गिफ्ट बोकेर उसकै घर जाने मन थियो तर मलाई उसको घर कालिकास्थान हो भन्ने मात्रै थाहा थियो । आज सन्ध्या कहाँ छे अत्तोपत्तो थिएन ।
‘प्रेमिकाले प्रेमीलाई एकै दिनमा भुल्न सक्छन् र ? यदि भुलेकै भए पनि त मलाई एकचोटि सोध्नु त पथ्र्यो । आफैसँग आफैले प्रश्न गरेँ ।
‘के मलाई प्रेम गर्दा सन्ध्याले सोधेकी थिइ र ? अहँ, सोधेकी थिइन । अब छोड्दा चाँहि किन सोध्नु प¥यो नि ।’ आफैले आँफैलाई हकारेँ ।
बर्थ डेको कुरा छोडौं । चार दिन बितिसक्दा पनि उसको सम्पर्क थिएन । सोचेँ, जस्तोसुकै परिस्थितिमा पनि त फोन गर्न सकिन्थ्यो । साँच्चै उस्ले मलाई बिर्सेकै हुनुपर्छ । उसले मलाई सम्झिन भने म पनि किन उसलाई सम्झि रहनु ? मस्तिष्कले मनलाई भुल्न दबाब दिइरहेकै थियो । यस्ता केटी कति भेटिन्छन् कति । मनले मान्दैन सन्ध्या नै त भेटिन्न नि । ऊ जहाँ गए पनि कुरिरहनुपर्ने, बिर्से पनि सम्झिरहनुपर्ने। यो कस्तो प्रेम !
पाँचौं दिनमात्रै सन्ध्याले फोन अन गरी ।
७
मैले फोन गरेँ तर फोन उठेन । लाग्या,े बेक्कारमा फोन गरेछु । मनले पनि बल्ल खाइस् भनेर गिज्यायो । अब सन्ध्यालाई फोन नगर्ने प्रतिबद्धता जाएर गरेँ। । बिर्सिएकालाई सम्झिनभन्दा पनि बिर्सन पीडादायक हुदो रहेछ । उसका नखिचिएका तस्वीरहरु आँखाभरि छरिएर बसेका छन् । कति गह्रौं भएर आउँछन् र आँशु छचल्किन्छ ।
फोनको रिङ टोन सँगसँगै मेरो धड्कन पनि जोडजोडले बज्न थाल्यो । सन्ध्याको नम्बर मेरो मोवाइलको स्क्रिनमा देखा प¥यो । सधैंजसो उसको फोनमा मेरो उत्सुकता थिएन। वाइघातमा फोन नउठाऊा जस्तो लाग्यो । प्रेम मात्रै यस्तो वस्तु हो जस्लाई कसैले पनि हराउन सक्दैन । जो पनि प्रेमको अगाडि घुँडा टेक्न बाध्य हुन्छ । तोडिएको मनलाई भित्र भित्रै जोडजाड पाँरे। ।जोड्दाखेरि रगत आएन, आसुमात्र आयो । साँच्चै सन्ध्या उस्तै बनेर मनमा बसी । मायाको छेउमा बसेपछि सबै वातावरण नै प्रेमिल बन्छ । सन्ध्याको फोनले पनि मेरो मनमा क्याटालिस्टको काम ग¥यो । अन्तिम घन्टीमा फोन उठाएँ ।
‘तिमी बेलुकी मसँग भेटन है, रत्नपार्क पुलमा ।’ सन्ध्याले कुनै पनि भुमिका निभाइन । सन्चो बिसन्चो पनि सोधिन ।
निन्याउरो पारामै ‘हस्’ ‘भनेँ ।
भर्खरै जोडिएको मन सिसाजस्तै फुट्यो । उसको स्वरबाट यस्तो लाग्यो ऊ मलाई अन्तिमपटक भेट्न बोलाउदै छे । वरपर वातावरण प्रेमिल लागेन, भर्खरै मात्र मौसम फेरियो । धुम्म बादल लागेकोजस्तो उराठलाग्दो ! सन्ध्यासँग भेट हुन मन लागेन । भेटेर भर्खरै छुटेजस्तो लाग्यो ।
साँझका बत्तिहरु बाटो वरिपरि बलेका थिए तर मलाई पूरै अँध्यारो लाग्यो । मनले केही पनि महसुस गरेन । पूरै निष्क्रिय थिएँ म । सबै दिन र रातलाई साँझले जोड्ने छ त तर सन्ध्याले मलाई जोड्ने छैन । पुनर्योगको पुनः योग नहुन पनि सक्छ ।
रत्नपार्क पुलमाथि मान्छेहरूको चहलपहल देख्दा लाग्थ्यो, मेला लागेको छ । पुलको एउटा छेउमा ह्वाइट टिसर्ट र ब्लक जिन्समा जो थिइ त्यो सन्ध्या नै थिइ , मैले अनुमान लगाउन बेर गरिन । मैले उसलाई अनुमान लगाउनु खासै नौलो कुरा थिएन । एकोहोरो सडक तिर हेरिरहेकी थिइ । छेउमा पुगेर उसको अनुहारमा हेँरे । उसको टाउकोमा चोट लागेजस्तो देखिन्थ्यो । ऊ बिरामी देखिन्थी । मन झस्किएँझैँ भयो ।
आँखामा आँखा जुधे छि सन्ध्याले आँखा भिजाइ हाली । एक शब्द पनि बोलिन । नजिकै आएर बेस्सरी अंगालो मारेर रुन थाली । हरेकले प्रेम कसरी व्यक्त गर्छन थाहा छैन तर आज उसको प्रेम आँशु भएर व्यक्त भयो ।
उ कहिले फर्कि पोखराबाट यो कुरा मैले सोधिन। सोँधे त केबल स्वास्थ्यको बारेमा।
‘किन ! के भयो तिम्लाई तिमी ठीक त छौ नि ?’
‘म ठीक छु ! आफ्नो किन यस्तो हालत बनाएको ?’ सन्ध्याका आँशु रोकिएका थिएनन् । ऊ मलाई कति प्रेम गर्छे जोखिरहनु पर्दैन बेल बेलामा आँफै देखाउछे ।
मैले सन्ध्यालाई प्रेम गरँे र त्यो भन्दा बढी शंका गरेँ ।
‘तिमीलाई केही त पक्कै भएको छ !’ मेरा आँखाहरु पनि रसाएका थिए ।
‘पोखरा बसाइको अन्तिम दिन राति अधेँरोमा होटलको रेलिङबाट लडेर बेहोस् भएछु । त्यसपछि मैले केही थाहा पाइन । आँखा खोल्दा काठमाडौं मोडेल अस्पतालमा थिएँ ।’ उास्ले आफ्नो टाउको मतिर फर्काइ । सन्ध्याको टाउकोमा गम्भीर चोट लागेको रहेछ ।
‘यति ठूलो घटना मलाई किन भनिनौ । किन मेरो रेस्पोन्स दिइनौ श्र’ मेरो आँखाहरुले पनि उसैलाई प्रश्न गरिरहेका थिए । सम्पर्क घट्दै जाँदा प्रेममा पनि शंका बढेर जान्छ ।
‘मेरो कारण नै तिमी एकदमै पीडामा छट्पटिने छौ । मलाई दुख्दा तिम्लाई पीडा हुन्छ यो पनि मलाई थाहा थियो । म मेरो मनलाई पीडा दिन सक्छु तर तिम्लाई दिन सक्दिन । कसरी सम्झाउन सक्थेँ म तिम्रो मुटुमा घाउ लागेको छ भनेर ?’ उसले कति आँशु खसाली, मलाई थाहा छैन तर मेरा आँखाबाट पूरै आँशु रित्याइदिइ ।
म बोल्नै सकिन । आवाज रोकियो केवल मुटुकोमात्रै धड्कियो । साँझ ढल्किदै थियो तर सन्ध्या जवान हुँदै थिइ ।
केहिबेर चुपचाप रह्यौँ । आँखामा आँसु हटेर कौतुहलता बढ्यो । सन्ध्याको ओठमा पनि मुस्कानको फूल फुल्यो ।
बल्ल मेरी सन्ध्यासँग भेटेको आभाष दिलाइ ।
‘अनि मेरो बर्थ डे गिफ्ट खै त ?’ मन्द मुस्कान छर्दै मेरो हात समाति ।
‘गिफ्ट त म दिउँला मलाई पोखराबाट खै के ल्यायौ ?’ ऊ अलमलमा परि ।
म उसको बर्थ डे गिफ्ट उदारोमा दिन चाहन्नथेँ । त्यसैले त उसको नजिकै गएँ उसका कोमल ओठमा मेरा ओठले सही छाप गरिदिएँ । ओठले नम्र बनेर स्वीकारे । उसका आँखाहरु केही लजाएका थिए ।
हरेक साँझ भयानक रातमा परिणत भए तर मेरी सन्ध्या उस्तै छे सुन्दर; नम्र, कोमल अति नै प्रिय । माथिबाट नै बनाएर पठाएका हुनुपर्छ यो सुन्दर जोडी सन्ध्या र पुनर्योगको ।





