पोखरा/ मान्छेहरु भन्छन्,‘बारीका कान्ला,वनका रुखहरु,छहरा र झरना अनि गाउँका उकाली–ओरालीहरुले सुसेल्छन् । बुझ्नेहरु त्यहाँ गीतको भाखा भेट्छन् । अनि गुन्गुनाउँछन् र पहरा पखेरालाई झंकृत पार्छन् । डिबी कालिजको जीवनमा पनि त्यस्तै भयो । स्याङ्जाको गाउँ र पखेराहरुमा उनले गीत भेटे । संगीत भरे अनि गुन्गुनाए । कालान्तरमा संगीतलाई नै पेशा बनाए । समर्पित भए ।
सानैदेखि गीत संगीतमा हुरुक्क हुने डिबीलाई गाउँले बद्रि पंगेनी, हुम बिसी,प्रेम श्रेष्ठ,माया पंगेनी ,दुर्गा थापा, नारायण लेकालीजस्ता छिमेकीले हौस्याए । उनी थाहै नपाइ गीतकार, संगीतकार र गायक बने । आमाको गीत लेखनबाटको यात्रा गाउँघरका पूजाआजा,मेलापातसम्मै कायम रह्यो । गाउने र बजाउने कार्यक्रममा सरिक हुँदै गए । उनको स्वरमा जादू थियो । आनन्द निकेतन बोर्डिङको वार्षिकोत्सव कार्यक्रममा उनले गीत सुनाए । गीतले काम ग¥यो । बोर्डिङले पढ्ने अवसर दियो ।त्यसो त, उनले सादगी सांसदको रुपमा चर्चित शंकर पाण्डे र सांसद टुकराज सिग्देलको हातबाट पहिलो पुरस्कार लिएको पनि बिर्सेका छैनन् ।
‘अग्रजहरुको प्रोत्साहनले मलाई गीत–संगीतको महासागरमा होम्यो,म यसैमा पौडदै गएँ’,उनी भन्छन्,‘अहिले यो मेरो पेशा बनेको छ ।’ गीतमा रस बसेपछि स्याङ्जाली ठिटो काठमाडौं छि¥यो । काठमाडौंको मौषममात्रै हैन,मान्छे पनि चिसै भएको अनुभूति भयो । हण्डर खाए तर हरेश खाएनन् । जानेको पेशा गाउने बजाउने थियो, दोहोरी रेस्टुराँमा काम गरे । समूहमा नाचे । ज्यान पाल्न मुस्किल तर उनले काम छाडेनन् । सिर्जनामा जोड लगाइरहे । उनी अहिले पनि दोहोरी रेष्टुराँमा काम गर्छन् । केही इन्टिच्यूटहरुमा संगीत पढाउँछन् । संगीतकै माध्यमबाट उनले मलेसियालगायतका देशसहित नेपालका विभिन्न भाग घुमिसकेका छन् ।‘संगीतमै केही गरौं भन्ने छ’,उनी भन्छन्,‘राम्रा सिर्जना लिएर दर्शक स्रोतामाझ आउने चाहनाको डुंगा चढेको छु,लक्ष्यमा पुग्ने जमर्को गर्दैछु ।’





