एक गोधुली साँझ
म वसन्त ऋतु माझ
गाउँका बालपनका स्मृति सँगै मेरो मन रमाईरहेछ,
तिम्रो मोहन रूप सँगै को ऋतु राग ले मनमा अड्डा जमाईरहेछ।
डाँडा पारी देखिएका हिमालहरू
बगिरहेका हिमनदीको सुन्दरताले,
प्रफुल्लित मेरो मन
ऋतु राग का गोठाले गफमा चञ्चल वनिरहेछ झनझन।
खुला परिवेश सँगै का हरिया चाहुर मा फुलिरहेका फूलहरु
माझ रसाईरहे तिम्रा सम्झना अनि मेरा ग्रन्थिहरुका मूल ।
ति मेरि बालपनकि प्रेमिकाको संस्मरण लेखी बस्दा
एक्कासी बतासले उडाएर ल्याएको सुनगाभा प्रेमपत्रमा खस्दा,
रोकिएका मेरा हात,
कापिरहेछन् प्रतिकारात्मक र वास्तविकताको दोसाँध माझ।
वसन्त ऋतुको बहरमा
रङ्गीचङ्गी फूलहरू अनि प्रेमीका बास्ना सुघ्ने रहरमा,
जोडिएका ढुकुर जस्ता गोठाला का ति बैसालु जोडी,
प्रेमीको मदन रुपसँग प्रेम साट्ने निउमा वसन्तसँग जोडिए ।
अनि थाले फुलाउन राता फूलहरु उनको सिरमा,
जीवन गाथा रच्ने ,सँगै जिउने दुःख पिरमा
पैयुँको चुङ्गी खेल्न सिकेको त्यो दिन,
बसन्त आउँदा उल्झर बनेर आउँछ छिन् छिन्
भुरुङ नचाउदा नचाउदै नाचेको यो मन
अहिले बसन्तको उल्झर साँझमा याद आईरहेछ झन झन ।
ए वसन्त सधै आऊ अनि बस ,
सँगै तिम्रो र हाम्रो जवानी बिचमा बन्धन कस,
बनि पग्लिएका हिमाल सँगै पलाएका पालुवा झैँ
यसरी नै बितोस वसन्त ऋतु झैँ उदहारण हाम्रो जीवनको प्रेम कहानि भई।।
(गैरे डा. कोईराला रिसर्च इन्सटिटयूट फर वायोटेक्नोलोजी एण्ड वायोडाईभसिटी, काठमाडौंका अनुसन्धान सहायक हुन् ।)





