भारतबाट एउटा भजनियाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल–तराईको सबै गाउँजस्तै गाउँ नै थियो । अर्थात्, यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू शहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब–सन्जाब रिर्टन भएका ।
यस कीर्तनमण्डलका नेता थिए सियारामशरण दासजी । कीर्तनमण्डलका सदस्यहरू उनीलगायत छ जना थिए । पाँच जना युवा र एउटी युवती । युवाहरू त युवाहरू नै थिए तर युवती चाहिँ युवती हुनाका साथसाथै सियारामशरणजीकी प्रमुख चेली र कीर्तन कार्यक्रमकी चमेली पनि थिइ । भजनियाँ सियारामशरणलाई थाहा छ, युवती धतुराको फूल भए पनि गाउँलेहरूका लागि चमेली नै ठहरिनेछे ।
उनले आउनासाथ गाविस अध्यक्षलाई समाते । अध्यक्षले वार्ड सदस्यहरूलाई समाते । वार्ड सदस्यहरूले आ–आफ्ना वार्डका जनतालाई समाते । अन्ततः सम्पूर्ण गाउँबाट मानोमुठी उठाइयो । भजनमण्डलीको खाने, पिउने, बस्ने र स्वागतको व्यवस्था मिलाइयो
धर्मप्राण गाउँलेहरूमा धार्मिक उन्माद उर्लियो ।
बाली भित्रिइसक्या थियो । गाउँले महर्जनहरूले रिन कर्जा उठाइसकेका थिए ।
सबैभन्दा ठूलो कुरा प्रजातन्त्र पनि आइसक्या थियो ।
भारत र नेपालको धर्म र संस्कृतिको समन्वयार्थ भजनमण्डली पनि आइसक्या थियो । यो गाउँलेहरूका लागि बडो सुखद अवसर थियो– भित्र्याइएको बालीका लागि भगवानप्रति कृतज्ञ हुने ।
श्री सियारामशरणजीले गाविस अध्यक्षज्यूलाई भने,‘देखिए प्रधानजी, नेपाल और भारतमे कोई फर्क नही है । हम और आप एक ही है । छोटे भाइको बडे भाइका अनुसरण करना चाहिए । प्रेम से भगवान् सियारामकी शरण में आइए । दिल खोलके चन्दा दान कीजिए । कल्याण होगा । अगले साल इस गाँव मे और फसल उबजेगा। बोलिए सियावर रामचन्द्र की जय ! ’
अध्यक्षलगायत सबै वार्ड सदस्यहरूले जयकार गरे ।
प्राइमरी स्कुलको प्रांगणमा कीर्तन कार्यक्रम हुने भयो ।समय आठ बजेपश्चात् । त्यति बेलासम्म गाउँलेहरू साँझको भोजनबाट निवृत्त भइसक्थे ।
खाटहरू जोडेर मञ्च बनाइयो । मञ्चसामु स्रोताहरूका लागि पराल ओछ्याइयो । दाहिनेतिर पुरुष र देब्रेतिर महिलाहरू बस्ने भए। गाउँका महिलाहरू अझ भनूँ गाउँका बुहारीहरू, यस कार्यक्रममा भाग लिन बढी उत्साहित थिए । किनभने, यस्तो धार्मिक कार्यक्रममा मात्र उनीहरू आउन र आएर घुम्टो निधारसम्म उचालेर भगवत्लीन हुन पाउँथे ।
भजनियाँहरूसित हारमोनियम थियो, ढोलक थियो, मजिरा र करतालहरू पनि थिए । अझ एउटा महत्वपूर्ण कुरा लाउडस्पिकर पनि थियो । लाउडस्पिकर किन थियो भने, भगवान् त बहिरा छँदै छन्, साथै गाउँलाई पनि धार्मिक जोशले थर्काउनु थियो। ।नथर्र्काकन कोही पनि त अनुगत, अनुप्राणित र आतंकित हुँदैनन् । आतंक यस्तो कुरा हो, जसले शक्तिशाली भगवान् र तिनका खसोखास प्रतिनिधिहरूको वर्चस्व कायम राख्दछ । यो कुरा श्री सियारामशरण दासजीलाई तुलसीदासको रामायणभन्दा पनि बढी थाहा छ ।
साँझ सात बजेदेखि नै गाउँले स्त्री–पुरुषहरू भेला हुन थाले । मञ्चमा आफ्ना मण्डलीबीच सियारामशरणजी विराजमान छन् । लाउडस्पिकरमा हिन्दी फिल्मी गानाहरू बजिरहेछन् । मीठा–मीठा हिन्दी गानाले प्रेरित भएर दाहिनेतिरका पुरुष (विशेषतः कडुवा तेलयुक्त जुल्फी पालेका) देब्रेतिरकी घुम्टो उचालेकी गाउँकी बुहारीहरूतिर रामलेझैँ हेरिरहेछन् । बूढापाकाहरू यो हेराइलाई भगवानको दया ठानेर चुपचाप खैनी मोलिरहेछन् । भगवान् भने आकाशतिर कतै आधुनिक हिन्दी फिल्मी गाना सुनेर बसेका होलान् ।
भजनियाँ प्रमुख सियारामजी स्रोता भक्तगणहरू यथेष्ट संख्यामा अझै नआइपुगेकाले चिन्तित छन् । यही चिन्ताले उनलाई प्रवचन दिने झोक चल्छ । लाउडस्पिकर बन्द गर्ने इशारा गरेर उनी प्रवचन दिन थाल्छन् । उनकी प्रमुख चेली उनीतिर एकाग्रतापूर्वक हेर्दै चमेली भएकी छे । गाउँले बुहारीहरू चमेलीलाई देखेर उत्साहित हुँदै आ–आफ्ना घुम्टा अझै माथि सार्छन् ।
दाहिनेतिर बसेको लखनले खैनी घुसारेर देख्छ, उसकी साइँली बुहारी त साला कैलू चमारको जुल्फे छोरोतिर पो सीताले रामलाई हेरेझैँ हेरिराखेकी छे । तर, बिचरा अहिले गरोस् पनि के ? उसले रिसले खैनीको तीतो रस घुटुक्क निल्यो र प्रवचन सुन्ने अभिनयतिर दत्तचित्त भयो ।
भजनियाँ सियाराम भारतको प्रजातन्त्र र नेपालको शिशु प्रजातन्त्रको धार्मिक भावले व्याख्या गर्दै थिए । तर, उनले छिट्टै बुझे, उनको प्रवचनको प्रभाव बूढाखाडालाई त केही भयो होला तर सबैमा भएको छैन । यो प्रवचनले भगवान् श्रीरामको गरिमा घटोस् कि बढोस्, धर्म फलोस् कि फुलोस् कि भर्सेला परोस् तर उनको दानापानीमा त प्रभाव पर्छ–पर्छ । अतः उनले धतुराको फूलजस्ती चमेलीलाई गाउँबाट बढीभन्दा बढी भक्तगण बटुल्न हिन्दी फिल्मी गानाहरूको लय र धुनमा कीर्तन गर्ने आज्ञा गरे ।
तुरुन्त हारमोनियम, ढोलक, मजिरा र करताल बज्न थाले । चमेलीले ‘मै दुनियाँ से अब न डरुँ, तुम्ही से मै प्यार करुँ’ भन्ने गानाको लयमा एउटा भजन सुनाइ । चार–पाँच ओटा यस्तै हिन्दी फिल्मी धुनमा भजन सुनाएपछि दाहिने र देब्रे दुवै पक्ष भावविभोर भएर सियारामको अवस्थामा पुगे ।
आउन त गाउँलेहरू आउँदै छन्, तर फाट्टफुट्ट ।
भजनियाँ प्रधानले आठ बजिसकेको हुँदा पुनः फिल्मी धुनको भजन बन्द गराए । लाउडस्पिकरमा रिकर्डिङ गर्ने आदेश दिए ।
यसैबेला शिवलाल कुर्मीले देख्यो, अँ खैनी मुखमा हालेपछि देख्यो, देब्रेतिर बसेकी उसकी जेठी बुहारी आफ्नो ठाउँमा छैन ।
रखन झाले देख्यो, उसकी कान्छी बुहारी पनि देब्रेपट्टि आफ्नो ठाउँमा छैन । अँ, प्राइमरी स्कुलको आडैमा बाँसघारी छ र बाँसघारीको आडैमा आँपको ठूलो बगैँचा छ ।
एक्कासि मञ्चबाट श्री सीयारामशरण दासजी चिच्याए, ‘सियाराम रामचन्द्रकी जय !’
‘जय ! ! !’
अनि धतुरोजस्ती चमेलीले लाउडस्पिकर बजाई–
‘चोली के पीछे क्या है, चोली के पीछे ? चुनरी के नीचे क्या है, चुनरी के नीचे ?’
अब कीर्तन सुरु भयो ।





