आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सुस्ताएको पोखरेली गीतसंगीत उठाउन एकताको खाँचो

सुस्ताएको पोखरेली गीतसंगीत उठाउन एकताको खाँचो

भाइचारा नहुँदा पोखरेली संगीतमा अपेक्षित गतिशीलता देखिएन,गतिशीलता प्रदान गर्न संगीतकर्मीबीच नै सहकार्य आवश्यक छ ।


  • सन्तोष बस्याल
  • बैशाख ३ २०७९, शनिबार

यतिबेला रहरले संगीतमा लाग्नेको जमात बाक्लो छ । रहरले होमिएका र समय बित्दै जाँदा संगीतलाई पेशामा ढाल्ने कलाकारको समेत कमी छैन । पोखरा नेपालको दोस्रो ठूलो सांगीतिक सहर । संगीतमा रम्नेहरू यहाँ धेरै छन् । पोखराको संगीतलाई विश्वभरका नेपालीहरूले मन पराउँदै आएका छन् । स्वर्गीय बुद्धि परियारको सिर्जनामा रहेको गीत ‘रेशम फिरीरी रेशम फिरीरी, उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेशम फिरीरी’ यसको ज्वलन्त उदाहरण हो ।

स्वर्गीय धर्मराज थापा, स्वर्गीय सरोजगोपाल बज्राचार्य, बाबा राणा, हरिदेवी कोइराला, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपानेलाई पोखराले नै चर्चाको शिखरमा पु¥यायो भन्दा अत्युक्ति नहोला । स्वर्गीय झलकमान गन्धर्वका गीतलाई त विदेशी गायकले समेत कभर गरेर गाउन थालेका छन् ।

पोखराको संगीतमा एक किसिमको मौलिकता पाइन्छ । यहाँको माटोमा सुरको सुगन्ध छ । नेपालका अधिकांश चर्चामा आएका कलाकारको सुरूवाती विन्दु पोखरा नै हो । पोखरासँग कलाकारको एक किसिमको अटुट सम्बन्ध छ । स्वरसम्राट नारायण गोपालदेखि अरुण थापालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।

अहिलेका चर्चामा आएका संगीतकारहरूमध्ये केहीको सुरुवाती समय पोखरामा नै बित्यो । बसन्त सापकोटा, बीबी अनुरागी, विनोद बाजुराली, राजकुमार बगरजस्ता अधिकांश कलाकार यसका उदाहरण हुन् । सुमधुर स्वरका धनी कर्णदासलाई समेत पोखराले चिनायो । अहिलेका सुप्रसिद्ध कलाकार प्रमोद खरेललाई पोखराका गीतकार शितल गिरीले लेखेको गीत ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले चर्चामा पु¥यायो । त्यसपछि उनले फर्केर हेर्नुपरेन । शिव परियारले ‘फेवातालमा साइँली’ गाए । त्यसपछि उनको सांगीतिक गति ह्वात्तै बढ्यो ।

पोखराको ब्याण्ड समेत चर्चामा छ । पोखराबाटै स्थापित नेपथ्य अहिलेको नेपालको नम्बर वान ब्याण्डको रूपमा परिचित छ । देश विदेशका स्टेज कार्यक्रममा उसलाई भ्याइनभ्याई छ । अमृत गुरुङलगायतको टीमलाई समेत पोखरा र यहाँको डाँडाकाँडा कुना कन्दराले नै चर्चामा पु¥यायो । पश्चिम पोखराको सुमधुर भाकालाई गीतमा परिणत गरी पस्कन सफल रह्यो नेपथ्य ।

कन्दरा ब्याण्ड पोखराको संगीत क्षेत्रको उचाईको एउटा अर्को गतिलो उदाहरण हो । विवेक श्रेष्ठ र सुनिल थापाको यो टीमले लोक फ्युजनमा राम्रा सिर्जनाहरू पस्केर दर्शक स्रोताको मन जित्यो । यस्तै, द एज ब्याण्डको पनि पोखरेली संगीतलाई माथि उठाउनमा ठूलो योगदान छ । युवापुस्ता उमेर समूहका मनोभावनालाई बुझेर सिर्जना पस्कने यो ब्याण्डलाई पनि पोखराले उचाई दिलायो । मोफसलमा बसेर नेपालको सर्वाधिक चर्चाको ब्याण्डको लिस्टमा आफूलाई दर्ता गर्न सफल रह्यो–द एज । गायक जीवन गुरुङको गाउने शैलीबाटै सबै प्रभावित भए । यसमा उनको टीमको समेत ठूलो साथ छ ।

‘उडेर जुन छुन्छु भन्थँे’, ‘के बर मागी फर्क्र्यौ भन’ जस्ता गीतका गायक रामभक्त जोजिजू समेत पोखराकै हुन् ।
गायक विनोद बानियाँलाई पोखराले नै परिचय दिलायो । उनी पोखरामै बसेर चर्चा कमाउन अब्बल रहे । त्यसैले संगीत साधनामा लिप्त रहेका बानियाँ पोखरा छोडेर अन्त जान चाहेनन् ।

केही समय जुर्मुराएको पोखरेली गीत संगीत अहिले सुस्ताएको आभाष हुन्छ । नाम कमाएका ब्याण्डका कलाकारहरू पनि तितरबितर भएका छन् । नेपथ्यले भने आफूलाई अहिलेसम्म स्थिर राखेको छ । कन्दराका विवेक श्रेष्ठ अष्ट्रिलया बस्छन् । उनी समयसमयमा नेपाल आउने तथा कार्यक्रममा सहभागी भइरहन्छन् । एज ब्याण्ड पनि आफ्ना पुराना सिर्जनामार्फत् नै दर्शकलाई रिझाउन तल्लिन छ । नयाँ गीत रेकर्ड भएका त छन् तर पहिले जस्तो चर्चामा आउन सकेका छैनन् । ‘न चाहेको होइन तिमीलाई’, ‘सम्झिने मुटु’ जुन आजभन्दा २० वर्ष अगाडि आएको थियो त्यसैमा सिमित हुनुपर्ने अवस्था छ । तथापी देश विदेशमा कार्यक्रम भने नपाएको होइन, एजले ।

भाष्करध्वज श्रेष्ठलगायतको टीमको डिमर्चाले समयसमयमा आफ्ना सिर्जना बजारमा पस्केको पनि लामो समय भयो । तर चर्चामा आउन सकेन । डिमर्चा पनि पहिले नै रेकर्ड भएको गीतको ब्याज खाइरहेको छ । लेकाली ब्याण्ड कता हरायो पत्तो छैन । देउराली ब्याण्डको समेत चर्चा त्यति सुनिदैन । ‘बस सुन्दरी ठण्डी महिना जाडो छ’ सर्वाधिक चर्चाको गीत रह्यो । जुन गीत पोखराकै ब्रोसिस ब्याण्डले प्रस्तुत गरेको थियो । अहिले उक्त ब्याण्ड समेत कता छ कसैलाई थाहा छैन ।

तिलकबम मल्लको ‘परिवेश ब्याण्ड’ समेत सुस्तायो । ‘मुटु छुने लुम्लेको हावाले’, ‘भोटे ताल्चा मारेर छातीमा’ लगायतका चर्चित गीत पस्केको ब्याण्डका गायक मल्ल हाल ताल्चा लगाएर अमेरिका भासिएका छन् ।

पोखराको संगीतलाई जोगाइराख्न कलाकारको महत्वपूर्ण भूमिका हुन्छ । हाल पोखरामा संघर्षशील कलाकारले नै यहाँको संगीतलाई भरथेग गर्ने हो । तर त्यसका लागि सबै व्यवस्थापकीय पक्षको पनि उत्तिकै दायित्व हुन्छ ।

गीतकार, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पहिले क्यासेट बिक्री हुन्थे र आम्दानीको स्रोत समेत कलाकारलाई हुन्थ्यो अहिले त्यस्तो अवस्था नरहेको तर्क प्रस्तुत गर्छन् । नेपाली लेखक संघका अध्यक्षसमेत रहेका उनी पछिल्लो समय गीतसंगीतमा लगानी गर्ने अवस्था नरहेको र महङ्गी बढ्दै गएकोे बताउँछन् । पोखरामा राम्रो रेकर्डिङ गर्ने स्टुडियोको अभावका कारण पनि पोखरेली संगीत ओरालो लागेको भनाई श्रेष्ठको छ ।
पोखराका संगीतकर्मीका बीचमा एकता नदेखिँदा समस्या खेप्नुपरेको श्रेष्ठ बताउँछन् । ‘भाइचारा नहुँदा संगीतमा अपेक्षित गतिशीलता देखिएन’,उनले भने,‘ गतिशीलता प्रदान गर्न संगीतकर्मी बीच नै सहकार्य हुन आवश्यक छ ।’ स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सव लगायतका सांगीतिक कार्यक्रममा समेत यहाँका कलाकारहरुलाई प्रभावकारी स्थान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि आपसी छलफल गर्नुपर्ने तर्क उनको छ ।

कन्दरा ब्याण्डका ड्रमर एवम् संगीतकार सुनील थापा भने पोखरामा पछिल्लो समय संगीत प्रतिको इमानदारितामा कमी हुँदा यस्तो भएको बताउँछन् । उनका अनुसार पोखरामा संगीत व्यवसायीकरण भएको अवस्था छैन । संगीतमा लाग्नेहरु अन्य पेशामा समेत लाग्नुपर्ने अवस्था छ । जसले गर्दा पहिले जस्तो नयाँ सिर्जना आइरहेको छैन ।

पोखरा सांगीतिक कलाकार संघका अध्यक्षसमेत रहेका थापाको अनुसार संगीतप्रतिको दिग्दारी र नैरास्यपनले उत्साह हराएको छ । समयानुसार मार्केटिङमा समेत अभाव हुँदा पोखराबाट पछिल्लो समय निस्किएका गीतले राम्रो स्थान पाइरहेको अवस्था छैन । मेकिङको हिसाबले उत्कृष्ट भएता पनि प्रोमोशनमा कमी हुँदा खुम्चिनुपर्ने अवस्था छ । डिजीटल मिडियालाई अझै आत्मसात् गर्न सकिरहेको छैन पोखरा ।

थापा भन्छन्, ‘२० वर्ष अगाडि जे थियो आज पनि त्यही छ । अझ भनौं अझै खुम्चिनुपर्ने अवस्था छ पोखरेली संगीत । पोखराको सांगीतिक क्षेत्र भोली कस्तो बनाउने गम्भिर छलफल हुनुपर्ने आवश्यकता छ ।’

पोखराको सिर्जनालाई मन पराउनेहरुको जमात अझै पनि बाक्लो रहेको र समयानुसार चल्न सके फेरि ब्युँतिने सम्भावना अधिक रहेको थापा बताउँछन । केवल आवश्यकता उनले इमानदारी र व्यवसायिकताको देखेका छन् ।

गायक तथा संगीतकार विनोद बानियाँ पनि सुनील थापाको विचारमा सहमत छन् । ५० को दशकको पोखरेली संगीतको जस्तो चाम अहिले नभएको तर्क उनको छ । त्यतिबेलाको शब्द र संगीतमा जस्तो दम अहिले नभेटिने बानियाँ बताउँछन् । पोखरेली सांगीतिक क्षेत्रमा व्यावसायिकताको अभाव हुँदा सिर्जना फितलो भएको छ । कलाकारहरु पेट पाल्न अन्य क्षेत्रमा आबद्ध हुनुपर्ने अवस्था भइरहँदा सम्म पोखरेली संगीत माथि उठ्न नसक्ने भनाई उनी राख्छन् । पोखराको मौलिक संस्कृतिलाई जोगाउन संगीत माध्यम मद्दत पुग्ने भएकाले यहाँका सरकारी निकायहरुले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

निरन्तरताका लागि एउटा कलाकारलाई सहज जीवनयापन गर्न सक्ने बाटोको आवश्यकता पर्छ । जुन पोखरामा अलिक गाह्रो छ । तर, पनि ग¥यो भने नसकिने केही छैन । पोखराको संगीतलाई जोगाउन यहाँ संघर्षशील कलाकारको समन्वयको खाँचो छ । अग्रजले अनुजलाई अनुभव सुनाउँदै÷सिकाउने काममा ढिलाई गर्नुहुँदैन ।अनुजले समेत सबै मै जान्नेसुन्ने हो भन्नु आफैका लागि घातक साबित हुन्छ । त्यसैले सबै मिलेर पोखरेली संगीतको उत्थानका लागि लागौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->